बर पीपल रिसोर्टमा अफवाहको आगो : संरचना जल्यो, सपना जलेको छैन

रिसोर्टका संस्थापक जितु गुरुङ ‘बर पीपल रिपोर्टमा प्रचण्डको लगानी छ, त्यसैले जलाउनु पर्छ’ भन्ने अफवाहले आफ्नो रिसोर्ट जलेको दाबी गर्छन्।

आश्विन ६, २०८२

दीपक परियार

Rumored Fire at Bar People Resort: Structure Burned, Dream Not Burned

पोखरा — सधैँ जसो विदेशी पाहुनाको हाँसो, गफगाफ र मधुर संगीत सुनिने पोखराको बर पीपल रिसोर्ट २४ भदौमा फरक देखियो। आगोको लप्का, धुवाँको गन्ध, तोडफोडको आवाज र डरले भागाभाग गरिरहेका पर्यटकको रुवाइ ।

‘जेन–जी’ आन्दोलनमा प्रदर्शनकारीले लेकसाइडको बर पीपलमा आगजनी र तोडफोड गर्नुको पछाडि एउटा अफवाहले काम गरेको थियो– रिपोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको लगानी छ।

अफवाहले भीडलाई हिंसात्मक बनायो । तीन पर्यटक बस, पाहुनाका तीन कार जलाइए । बार, स्पा, लबी, गेस्ट रुममा आगजनी र तोडफोड भयो । नगद र मदिरा लुटियो । पर्यटक भागाभाग गर्दै ज्यान जोगाउन बाध्य भए ।

‘रिसोर्टको वरिपरि चिच्याउँदै भागिरहेका पाहुनाहरू देख्दा मुटु नै चिरियो,’ एक कर्मचारीले भनिन्, ‘हामीलाई आफ्नो जागिरभन्दा बढी यहाँ बसिरहेका पाहुनाको सुरक्षाको चिन्ता थियो । भाग्यवश, सबैको ज्यान जोगियो ।’ कर्मचारीको आग्रह र प्रतिकारले अझैँ धेरै क्षति हुनबाट जोगियो ।

रिसोर्टका संस्थापक जितु गुरुङ ‘बर पीपल रिपोर्टमा प्रचण्डको लगानी छ, त्यसैले जलाउनु पर्छ’ भन्ने अफवाहले आफ्नो रिसोर्ट जलेको बताउँछन् । ‘यो मिथ्या प्रचार सर्वथा निराधार थियो । मेरो र मेरो परिवारबाहेक अरू कसैको एक रुपैयाँ पनि लगानी छैन,’ उनी भन्छन्, ‘यदि कसैसँग प्रमाण छ भने देखाउन तयार छु । म शुद्ध पर्यटन व्यवसायी हुँ, कुनै दलको कार्यकर्ता होइन ।’

त्यस दिन उनको सँगै लेकसाइडक अन्य होटल रिपोर्टमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए। पोखराको आकाश आगोको मुस्लोले ढाकिएको थियो । पर्यटक त्रसित थिए । त्यस क्षणलाई सम्झँदा गुरुङको मन अझै भारी हुन्छ, ‘हामीले तीन दशकको संघर्षबाट उभ्याएको सपना क्षणभरमै खरानी बनाइयो ।’

Rumored Fire at Bar People Resort: Structure Burned, Dream Not Burned

उनको जीवन कथा आफैँमा संघर्षको एउटा अद्भुत यात्रा हो । लमजुङको दोर्दी श्रीमन्ज्याङ गाउँमा जन्मिएका उनले करिब ३० वर्षअघि पोखरा आउने निर्णय गरे । गोजीमा जम्मा एक हजार रुपैयाँ थियो, मनमा असङ्ख्य सपना । उनले पाँच सय रुपैयाँ मासिक तलबमा होटेलमा सरसफाइ गर्ने कामबाट जागिर सुरु गरे । ‘त्यो समयमा मेरो लागि घर भाडा तिर्ने, पेट पाल्ने, अनि छोराछोरीलाई पढाउने कुरा नै ठुलो चुनौती थियो । तर, मैले कहिल्यै हार मानेन,’ उनले सम्झिए ।

क्लिनिङको कामपछि उनले गाइडको पेसा सम्हाले । विदेशीलाई पदयात्रा र घुमफिर गराउने क्रममा उनले पर्यटन व्यवसायको सम्भावना नजिकैबाट देखे । यही अनुभवले उनलाई होटल र रेस्टुरेन्टतर्फ धकेल्यो । तर, यात्रा सजिलो थिएन ।

विदेश जाने क्रममा एजेन्टबाट धोका, ऋणको भारी, माओवादी युद्धको असुरक्षा, दरबार हत्याकाण्डको छायाँ, भूकम्प, नाकाबन्दी र पछिल्लो कोरोना महामारी— यी सबै चुनौतीसँग उनी पटक–पटक ठोक्किए । ‘मलाई कहिलेकाहीँ लाग्थ्यो— अब सकिन्छ कि ? तर भोलिपल्ट फेरि उठ्ने आँट आउँथ्यो । सायद यही आँटले मलाई यहाँसम्म ल्यायो,’ उनी भन्छन् ।

२०६६ तिर उनले सिल्भर बक्स इन सञ्चालन गरे । यसले उनलाई पहिलोपल्ट व्यावसायिक स्थायित्व दियो । उनी अझै ठुलो सपना देख्न सक्ने अवस्थामा पुगे । त्यही सफलताले सात वर्षअघि उनलाई मणि मार्गको भिरालो, खण्डहरजस्तो देखिने जग्गा खरिद गर्न प्रेरित गर्‍यो ।

‘त्यो बेला धेरैले भने— यो ठाउँमा रिसोर्ट ? कसैले ध्यान दिँदैन,’ उनी सम्झन्छन्, ‘तर, मलाई विश्वास थियो— यदि राम्रो डिजाइन र राम्रो सेवा दिन सकियो भने पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’ यसरी, बर पीपल रिसोर्ट जन्मियो ।

Rumored Fire at Bar People Resort: Structure Burned, Dream Not Burned

बर पीपल रिसोर्ट केवल एक रिसोर्ट थिएन । यो करिब १२० जनाको रोजगारीको आधार थियो । वार्षिक दुई करोड रुपैयाँ कर तिर्दै आएको यो रिसोर्ट पोखराको पर्यटनमा चम्किलो नाम बन्दै गएको थियो । सिद्धार्थ बैंकबाट ऋण लिएर खोलेको चार तारेस्तरको रिपोर्टमा आगजनी र तोडफोडबाट ३ देखि ४ करोडको क्षति पुगेको गुरुङले बताए ।

उनको लागि यो केवल व्यवसायको घाटा होइन, आत्मामा लागेको घाउ थियो । तर उनी हार मान्ने पक्षमा छैनन् । ‘बर पीपल रिपोर्टमा भौतिक क्षति पुगेको हो, हाम्रो उत्साह र संकल्पमा होइन,’ उनी भन्छन्, ‘कर्मचारीहरू परिवार झैँ बनेर उभिएका छन् । ग्राहकको विश्वास छ । शुभेच्छुकको साथ छ । हामी अझै बलियो भएर उठ्छौँ।’

आइतबारदेखि रिसोर्ट फेरि सञ्चालनमा आइसकेको छ । ४५ मध्ये तोडफोड र आगजनीका क्रममा क्षति पुगेका कोठालाई मर्मत गर्दै सञ्चालनमा ल्याइएको छ । रिसोर्टका कुनै पनि कर्मचारीले जागिर छोड्नुपरेको छैन । रिपोर्टमा पाहुना आइसकेका छन् ।

वरपीपल रिसोर्टमाथिको आक्रमण केवल एउटा निजी उद्यममाथि प्रहार थिएन । यो मेहनत, पसिना र सपना माथिको प्रहार थियो । तर, जितु गुरुङले यसलाई हार होइन, दृढताको प्रतीक बनाएका छन् । ‘हामी लडेका थियौँ, हिम्मत गरेर फेरि उठेका छौँ । उनीहरूले भौतिक संरचना ढालेका हुन्, हाम्रा सपना र उत्साह होइन,’ उनी भन्छन्, ‘हाम्रो यात्रा जारी छ- खरानी र धुलो टकटकाउँदै, सतिसालझैँ ठडिँदै ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully