रिसोर्टका संस्थापक जितु गुरुङ ‘बर पीपल रिपोर्टमा प्रचण्डको लगानी छ, त्यसैले जलाउनु पर्छ’ भन्ने अफवाहले आफ्नो रिसोर्ट जलेको दाबी गर्छन्।
पोखरा — सधैँ जसो विदेशी पाहुनाको हाँसो, गफगाफ र मधुर संगीत सुनिने पोखराको बर पीपल रिसोर्ट २४ भदौमा फरक देखियो। आगोको लप्का, धुवाँको गन्ध, तोडफोडको आवाज र डरले भागाभाग गरिरहेका पर्यटकको रुवाइ ।
‘जेन–जी’ आन्दोलनमा प्रदर्शनकारीले लेकसाइडको बर पीपलमा आगजनी र तोडफोड गर्नुको पछाडि एउटा अफवाहले काम गरेको थियो– रिपोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको लगानी छ।
अफवाहले भीडलाई हिंसात्मक बनायो । तीन पर्यटक बस, पाहुनाका तीन कार जलाइए । बार, स्पा, लबी, गेस्ट रुममा आगजनी र तोडफोड भयो । नगद र मदिरा लुटियो । पर्यटक भागाभाग गर्दै ज्यान जोगाउन बाध्य भए ।
‘रिसोर्टको वरिपरि चिच्याउँदै भागिरहेका पाहुनाहरू देख्दा मुटु नै चिरियो,’ एक कर्मचारीले भनिन्, ‘हामीलाई आफ्नो जागिरभन्दा बढी यहाँ बसिरहेका पाहुनाको सुरक्षाको चिन्ता थियो । भाग्यवश, सबैको ज्यान जोगियो ।’ कर्मचारीको आग्रह र प्रतिकारले अझैँ धेरै क्षति हुनबाट जोगियो ।
रिसोर्टका संस्थापक जितु गुरुङ ‘बर पीपल रिपोर्टमा प्रचण्डको लगानी छ, त्यसैले जलाउनु पर्छ’ भन्ने अफवाहले आफ्नो रिसोर्ट जलेको बताउँछन् । ‘यो मिथ्या प्रचार सर्वथा निराधार थियो । मेरो र मेरो परिवारबाहेक अरू कसैको एक रुपैयाँ पनि लगानी छैन,’ उनी भन्छन्, ‘यदि कसैसँग प्रमाण छ भने देखाउन तयार छु । म शुद्ध पर्यटन व्यवसायी हुँ, कुनै दलको कार्यकर्ता होइन ।’
त्यस दिन उनको सँगै लेकसाइडक अन्य होटल रिपोर्टमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए। पोखराको आकाश आगोको मुस्लोले ढाकिएको थियो । पर्यटक त्रसित थिए । त्यस क्षणलाई सम्झँदा गुरुङको मन अझै भारी हुन्छ, ‘हामीले तीन दशकको संघर्षबाट उभ्याएको सपना क्षणभरमै खरानी बनाइयो ।’
उनको जीवन कथा आफैँमा संघर्षको एउटा अद्भुत यात्रा हो । लमजुङको दोर्दी श्रीमन्ज्याङ गाउँमा जन्मिएका उनले करिब ३० वर्षअघि पोखरा आउने निर्णय गरे । गोजीमा जम्मा एक हजार रुपैयाँ थियो, मनमा असङ्ख्य सपना । उनले पाँच सय रुपैयाँ मासिक तलबमा होटेलमा सरसफाइ गर्ने कामबाट जागिर सुरु गरे । ‘त्यो समयमा मेरो लागि घर भाडा तिर्ने, पेट पाल्ने, अनि छोराछोरीलाई पढाउने कुरा नै ठुलो चुनौती थियो । तर, मैले कहिल्यै हार मानेन,’ उनले सम्झिए ।
क्लिनिङको कामपछि उनले गाइडको पेसा सम्हाले । विदेशीलाई पदयात्रा र घुमफिर गराउने क्रममा उनले पर्यटन व्यवसायको सम्भावना नजिकैबाट देखे । यही अनुभवले उनलाई होटल र रेस्टुरेन्टतर्फ धकेल्यो । तर, यात्रा सजिलो थिएन ।
विदेश जाने क्रममा एजेन्टबाट धोका, ऋणको भारी, माओवादी युद्धको असुरक्षा, दरबार हत्याकाण्डको छायाँ, भूकम्प, नाकाबन्दी र पछिल्लो कोरोना महामारी— यी सबै चुनौतीसँग उनी पटक–पटक ठोक्किए । ‘मलाई कहिलेकाहीँ लाग्थ्यो— अब सकिन्छ कि ? तर भोलिपल्ट फेरि उठ्ने आँट आउँथ्यो । सायद यही आँटले मलाई यहाँसम्म ल्यायो,’ उनी भन्छन् ।
२०६६ तिर उनले सिल्भर बक्स इन सञ्चालन गरे । यसले उनलाई पहिलोपल्ट व्यावसायिक स्थायित्व दियो । उनी अझै ठुलो सपना देख्न सक्ने अवस्थामा पुगे । त्यही सफलताले सात वर्षअघि उनलाई मणि मार्गको भिरालो, खण्डहरजस्तो देखिने जग्गा खरिद गर्न प्रेरित गर्यो ।
‘त्यो बेला धेरैले भने— यो ठाउँमा रिसोर्ट ? कसैले ध्यान दिँदैन,’ उनी सम्झन्छन्, ‘तर, मलाई विश्वास थियो— यदि राम्रो डिजाइन र राम्रो सेवा दिन सकियो भने पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’ यसरी, बर पीपल रिसोर्ट जन्मियो ।
बर पीपल रिसोर्ट केवल एक रिसोर्ट थिएन । यो करिब १२० जनाको रोजगारीको आधार थियो । वार्षिक दुई करोड रुपैयाँ कर तिर्दै आएको यो रिसोर्ट पोखराको पर्यटनमा चम्किलो नाम बन्दै गएको थियो । सिद्धार्थ बैंकबाट ऋण लिएर खोलेको चार तारेस्तरको रिपोर्टमा आगजनी र तोडफोडबाट ३ देखि ४ करोडको क्षति पुगेको गुरुङले बताए ।
उनको लागि यो केवल व्यवसायको घाटा होइन, आत्मामा लागेको घाउ थियो । तर उनी हार मान्ने पक्षमा छैनन् । ‘बर पीपल रिपोर्टमा भौतिक क्षति पुगेको हो, हाम्रो उत्साह र संकल्पमा होइन,’ उनी भन्छन्, ‘कर्मचारीहरू परिवार झैँ बनेर उभिएका छन् । ग्राहकको विश्वास छ । शुभेच्छुकको साथ छ । हामी अझै बलियो भएर उठ्छौँ।’
आइतबारदेखि रिसोर्ट फेरि सञ्चालनमा आइसकेको छ । ४५ मध्ये तोडफोड र आगजनीका क्रममा क्षति पुगेका कोठालाई मर्मत गर्दै सञ्चालनमा ल्याइएको छ । रिसोर्टका कुनै पनि कर्मचारीले जागिर छोड्नुपरेको छैन । रिपोर्टमा पाहुना आइसकेका छन् ।
वरपीपल रिसोर्टमाथिको आक्रमण केवल एउटा निजी उद्यममाथि प्रहार थिएन । यो मेहनत, पसिना र सपना माथिको प्रहार थियो । तर, जितु गुरुङले यसलाई हार होइन, दृढताको प्रतीक बनाएका छन् । ‘हामी लडेका थियौँ, हिम्मत गरेर फेरि उठेका छौँ । उनीहरूले भौतिक संरचना ढालेका हुन्, हाम्रा सपना र उत्साह होइन,’ उनी भन्छन्, ‘हाम्रो यात्रा जारी छ- खरानी र धुलो टकटकाउँदै, सतिसालझैँ ठडिँदै ।’
