एकै दिन १११ अंकले बढ्यो नेप्से

कारोबारमा आएकामध्ये २ सय २४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घट्यो 

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by 111 points in one day

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेर २ हजार ६ सय २३.६२ विन्दुमा उक्लिएको छ । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार वृद्धिको बाटो समातेको हो । आइतबारको वृद्धि अघिल्लो दिनको तुलनामा ४.४४ प्रतिशतले बढी हो । 

गत बिहीबार नेप्सेमा चार मिनेट मात्र कारोबार भएको थियो । सुरुदेखि नै नेप्से उच्च अंकले घट्न थाले पनि तीन पटक ऋणात्मक सर्किट ब्रेकर लागेको थियो ।

अन्तिममा नेप्से ६ प्रतिशतले बढेपछि सो दिनकै कारोबार बन्द गरिएको थियो । आइतबार पनि बजार निकै उतारचढावपूर्ण रह्यो । यद्यपि मध्याह्नबाट भने लगातार उकालो लागेको थियो । सो दिन कारोबारमा आएकामध्ये २ सय २४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ । 

१ लाख ८ हजार ९ सय ८ पटकको कारोबारमा २ करोड ३२ हजार २ सय २४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो ।

आइतबारको कारोबार रकम गत साउन २६ गते यताकै उच्च हो । सो दिन नेप्सेमा १० अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र निर्जीवन बिमाबाहेक सबैको परिसूचक बढे । निर्जीवन बिमा कम्पनी र सामूहिक लगानी कोष समूह मात्रै घटे । व्यापारमूलक र लगानी उपसमूह सबैभन्दा धेरै सातदेखि आठ प्रतिशतसम्म बढेका छन् । 

आइतबार १४ वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । यसअनुसार सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गुडविल फाइन्नास, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपी पावर, अंखुखोला जलविद्युत् कम्पनी, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमस्टार ऊर्जा, अपर तामाकोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

आइतबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घट्यो । यस दिन नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ८३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानीकर्ताको ६ बुँदे सुझाव

यसैबीच पुँजीबजार सुधारका लागि गभर्नर पौडेललाई सेयर लगानीकर्ताको ६ बुँदे सुझाव दिएका छन् । लगानीकर्ताका तीन संगठनहरूले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई ६ बुँदे सुझाव दिएका हुन् । 

सेयर लगानीकर्ता संघ नेपाल, पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले संयुक्त रूपमा ६ बुँदे सुझाव दिएका हुन् । यसअनुसार बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज रूपमा सेयर किनबेच गर्न दिनुपर्ने, बैंकहरूलाई सेयर बजारमा लगानीका लागि प्राथमिक पुँजीकोषका आधारमा लाग्दै आएको सीमा परिमार्जन गर्नुपर्ने र व्यक्तिगत सेयर धितो कर्जामा राखिएको २५ करोडको सीमा हटाउनुपर्ने लगानीको सुझाव छ । 

लघुवित्त वित्तीय संस्थामा रहेको २५ प्रतिशतसम्मको लाभांश सीमा हटाउनुपर्ने, यस्ता संस्थालाई प्रतिस्पर्धात्मक बनाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले दिँदै आएको सेयर धितो कर्जा थप सहज बनाउनुपर्नेलगायत सुझाव छन् ।

कान्तिपुर

Link copied successfully