अहिलेसम्म २ हजार ४ सय ४८ वटा दाबी परेका छन् । तीमध्ये सबैभन्दा धेरै १ हजार ७ सय ७८ वटा मोटर बिमाका रहेका छन् ।
काठमाडौँ — यही भदौ २३ र २४ मा गरिएको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको धमाधम बिमा दाबी आउन थालेको छ । असोज पाँच गते (आइतबार)सम्म करिब २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी आइसकेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
यद्यपि यो सुरुको दाबी भएकाले धेरै रकमको आउने र परेकामध्ये सबै नै वास्तविक भुक्तानी नहुने बिमा कम्पनीहरूले जनाएका छन् । सो अवधिमा २ हजार ४ सय ४८ वटा दाबी परेका छन् । तीमध्ये सबैभन्दा धेरै १ हजार ७ सय ७८ वटा मोटर बिमाका रहेका छन् । यस्तै, सम्पत्ति बिमा ५ सय ३८, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा १ सय ३२, पारवहन बिमामा ११ र अन्यमा १९ वटा दाबी परेका छन् ।
बिमितलाई छिटो बिमा दाबी गर्न र बिमा कम्पनीले छिटो भुक्तानी गर्न बिमक संघले आग्रह गरेको छ । ‘असहज परिस्थितिका कारण सिर्जित क्षतिको जानकारी गर्न सम्पूर्ण बिमित तथा ग्राहकलाई सम्बन्धित बिमा कम्पनीमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध छ,’ संघको विज्ञप्तिमा भनिएको छ ।
आगजनी तथा तोडफोडमा धेरै कार्यालयमा पूर्ण क्षति पुगेको छ । केहीमा आंशिक छ । एकै पटक धेरै क्षति भएकाले बिमा कम्पनीले सबै दाबी भुक्तानी गर्न सक्छन–सक्दैनन् भन्ने चासो सबैतिर छ । यही चासोलाई ध्यानमा राखेर हालसम्म परेको बिमा दाबी, भुक्तानी प्रक्रिया, छ्र्योटलगायत विषय छिटो र सहज तरिकाले टुंग्याउन बिमक संघको आग्रह छ ।
