काठमाडौं, पोखरालगायत सहरमा प्रदर्शन चर्किरहँदा काठमाडौं–तराई/ मधेश द्रुतमार्ग लगायत आयोजनामा धमाधम काम भइरहेको थियो । द्रुतमार्गमा अहिले ८१ मिटरसम्म अग्ला पुलको निर्माणको काम जारी छ । त्यस्तै सुरुङमार्ग निर्माण पनि भइरहेको छ ।
काठमाडौँ — संघ, प्रदेश र स्थानीय तहअन्तर्गत ठेक्का भएका आयोजनामा धमाधम काम भइरहेको छ । मुख्य सहर र जिल्ला सदरमुकाममा प्रदर्शन र तोडफोड भइरहँदा ठूला पूर्वाधार निर्माणको काम फाट्टफुट्टबाहेक कतै नरोकिएको सरोकारवालाले बताएका छन् ।
निर्माणस्थलमा कतै ठूलो क्षति भएको विषयमा अहिलेसम्म जानकारी नआएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘निर्माण भएर हस्तान्तरण भइसकेका भवनमा ठूलो क्षति भएको छ,’ सिंहले भने, ‘तर निर्माण जारी रहेका आयोजनामा त्यस्तो क्षति छैन ।’
निर्माण व्यवसायमै लागेर स्थानीय तहका प्रमुख, उपप्रमुख भएका जनप्रतिनिधिका घरमा क्षति भएको छ । ‘अहिले संघ, प्रदेश र स्थानीय तहमा ठेक्का सम्झौता भएका, निर्माण सुरु भएका सानादेखि ठूलासम्म करिब २० हजार योजना तथा आयोजना सञ्चालनमा छन्,’ सिंहले भने, ‘यी लगभग ६ खर्ब हाराहारीका हुन् ।’
यसमा साना टुक्रे सडक, सिँचाइदेखि ठूला सडक र जलविद्युत् आयोजना पनि पर्छन् । ‘देशभर राजधानी काठमाडौंदेखि कुनै जिल्लाको वडासम्म जति योजना र आयोजना ठेक्का भएर निर्माण भइरहेका छन्,’ उनले भने, ‘यो ती सबैको अनुमानित संख्या हो ।’ निर्माण भएर हस्तान्तरण भइसकेका सरकारी भवनमा आगलागीबाट अनुमानित १ खर्ब रुपैयाँ हाराहारीको क्षति भएको अध्यक्ष सिंहले बताए । ‘चालु आयोजनाहरूमा कुनै समस्या छैन,’ उनले भने, ‘सबै आयोजनामा काम भइरहेको छ ।’
काठमाडौं, पोखरालगायत सहरमा प्रदर्शन चर्किरहँदा काठमाडौं–तराई/ मधेश द्रुतमार्ग लगायत आयोजनामा धमाधम काम भइरहेको थियो । द्रुतमार्गमा अहिले ८१ मिटरसम्म अग्ला पुलको निर्माणको काम जारी छ । त्यस्तै सुरुङमार्ग निर्माण पनि भइरहेको छ ।
द्रुतमार्गको काम प्रभावित नबनेको नेपाली सेनाले जनाएको छ । सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत छ । यो आयोजनाको निर्माण लागत अनुमानित २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्याइएको छ । अहिलेसम्म ८० अर्ब रुपैयाँ खर्च भइसकेको छ । नागढुंगा–मलेखु, नागढुंगा–नौबिसे सडक खण्डमा पहिलो तहको कालोपत्रको काम सकिइसकेको छ । नौबिसे–मलेखु खण्डमा पनि काम भइरहेको छ । यता मलेखु–मुग्लिन खण्डमा रहेको क्रसर प्लान्टमा भने प्रदर्शनकारीले आगजनी गर्दा क्षति भएको छ ।
निर्माण सामग्री उत्पादन गर्ने क्रसर प्लान्टमा आगजनी गरिएकाले निर्माणको समयावधि पछि धकेलिने जोखिम बढेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘यस खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको थियो,’ उनले भने, ‘केही दिनअघि भएको प्रदर्शनका क्रममा क्रसरमा आगजनी गरिएपछि समस्या भएको छ, प्लान्ट स्थापना गर्न ६ महिनाभन्दा बढी समय लाग्छ ।’
मुग्लिन–पोखरा सडक खण्डमा भने केही समय प्रभावित बने पनि अहिले सुरु भइसकेको छ । आँबुखैरेनी–पोखरा खण्डमा प्रदर्शनमा कार्यालयमा आगजनी र तोडफोड गर्दा केही दिन काम प्रभावित बनेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले जनाए । ‘काम केही दिन प्रभावित बने पनि अहिले सुरु भइसकेको छ,’ उनले भने, ‘आयोजना कार्यालय र गाडीमा क्षति पुर्याइए पनि निर्माणस्थलका मेसिनमा क्षति छैन ।’ मध्यपहाडी, हुलाकी, मदन भण्डारी राजमार्ग र उत्तर–दक्षिण जोड्ने करिडोर सडक निर्माणको काम कतै पनि रोकिएको छैन । बजार क्षेत्रको काम मात्रै प्रभावित बने पनि पुनः सुरु भइसकेको आयोजना कार्यालयहरूले जनाएका छन् ।
