लामो समयदेखि ब्याज अनुदानको रकम नपाउँदा बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजको नयाँ कर्जा प्रवाह गरेका छैनन् भने नागरिकले पनि महँगो ब्याज तिर्नु परिरहेको छ।
काठमाडौँ — लामो समयदेखि रोकिएको सहुलियत कर्जामा ब्याज अनुदानबापतको ९ अर्ब ८० करोड रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरेको छ। अर्थ मन्त्रालयले शनिबार उक्त रकम निकासा गरेको हो। लामो समयदेखि ब्याज अनुदानको रकम नपाउँदा बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजको नयाँ कर्जा प्रवाह गरेका छैनन् भने नागरिकले पनि महँगो ब्याज तिर्नु परिरहेको छ।
‘आर्थिक वर्ष ०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउने अर्थमन्त्रीस्तरको निर्णयअनुसार ९ अर्ब ८० करोड निकासा गरिएको छ,’ अर्थ मन्त्रालयको पत्रमा भनिएको छ।
यससँगै ब्याज अनुदानबापत सरकारले दिनुपर्ने रकम कम रहेकाले बैंक तथा वित्तीय संस्थाले पनि सहुलियत कर्जा प्रवाह सुरु गर्ने सम्भावना बढेको छ।
