सफारी पर्यटन सुधारको संकेत देखिँदै थियो, फेरि मडारियो संकटको बादल

चितवन निकुञ्जमा विश्वका दुर्लभ वन्यजन्तु – एकसिंगे गैंडा, पाटे बाघ जस्ता जीवजन्तु बस्छन् । यी जीवजनावर हेर्न देश–विदेशबाट वर्षमा तीन लाखको हाराहारीमा पर्यटकहरू चितवन आउँछन् ।

आश्विन ३, २०८२

रमेशकुमार पौडेल

Safari tourism was showing signs of improvement, again clouded by the Madario crisis

चितवन — वन्यजन्तु अवलोकन अर्थात् जंगल सफारी पर्यटनका लागि देशको पहिलो गन्तव्य हो चितवन राष्ट्रिय निकुञ्ज । बर्खा मन्थर भएर चाडपर्वको मौसम सुरु भएसँगै निकुञ्जआडका सौराहा, पटिहानी, मेघौली, अमलटारी, पिठौलीजस्ता ठाउँहरूमा स्वदेशी–विदेशी पर्यटकको चहलपहल बढ्छ । तर यो पटक पर्वभन्दा ठिक अगाडि जेन–जी आन्दोलन भयो ।

जेन–जी आन्दोलनको पहिलो दिन सरकारले गरेको दमन र दोस्रो दिन प्रदर्शनकारीबाट भएको तोडफोड, आगजनीको प्रभाव अहिले यहाँका पर्यटकीय क्षेत्रमा देखा परेको छ ।

भदौ २३ गते, जुन दिन जेन–जीको आन्दोलन सुरु भयो, त्यस दिन सौराहाका पर्यटन व्यवसायी महेश खनालको होटलमा चीन र भारतका ४० जना पर्यटक थिए । जब उनीहरूको गाडी होटलबाट गयो, त्यसपछि अर्को गाडी होटल छिरेको छैन । 'होटलमा पाहुना फाट्टफुट्ट मात्र छन्,' खनालले भने । सफारीमा आउने विदेशी पर्यटक, सरकारी र गैरसरकारी संघ–संस्थाका गोष्ठी–सेमिनार र व्यवसायिक प्रतिष्ठानका विभिन्न कार्यक्रमहरू उनको होटलमा हुँदै आएका थिए । जेन–जीको आन्दोलनपछि पहिल्यै बुकिङ भएका कार्यक्रमहरूसमेत धमाधम रद्द हुन थालेकाे उनले बताए ।

'व्यवसायिक प्रतिष्ठानहरूका कात्तिकसम्मका बुकिङ रद्द भएका छन् । पर्यटक छैनन् । अग्रिम बुकिङ पनि धमाधम रद्द हुन थालेका छन् । सरकारी–गैरसरकारी संघ–संस्थाका गोष्ठी–सेमिनार हुने सम्भावना देखिँदैन । समग्रमा संकेत राम्रो छैन,' खनालले भने । खनाल क्षेत्रीय होटल संघ सौराहाका महासचिवसमेत हुन् । सबै होटलमा पर्यटकका अग्रिम बुकिङ रद्द हुन थालेको सूचना आफूलाई आएको उनले बताए ।

चितवन निकुञ्जमा विश्वका दुर्लभ वन्यजन्तु – एकसिंगे गैंडा, पाटे बाघ जस्ता जीवजन्तु बस्छन् । यी जीवजनावर हेर्न देश–विदेशबाट वर्षमा तीन लाखको हाराहारीमा पर्यटकहरू चितवन आउँछन् । पर्यटकहरू जनावर हेर्न जिप या हात्तीमा चढेर जंगल डुल्छन् । तालिम प्राप्त नेचर गाइडका साथ पैदलै निकुञ्ज जाने र खोला तथा नदीमा डुङ्गा सफारी गर्छन् । यस्तो सफारी पर्यटन १० वर्षअघिको भूकम्प, नाकाबन्दी र पाँच वर्षअघिको कोरोना संक्रमणका कारण नराम्ररी प्रभावित भएको थियो । सडकको दुरावस्था लगायतले झन् कष्ट थपेको थियो । भूकम्पपछि विदेशी पर्यटकको संख्या घट्दै गएको थियो । तर कोरोना कालपछि स्वदेशी पर्यटकको चाप ह्वात्तै बढेको थियो । गत वर्ष स्वदेशी पर्यटकको संख्या पनि निकै घटेका बेलामा विदेशी पर्यटकको संख्याले केही सुधार ल्याएपछि आशा बढेको थियो ।

चितवन निकुञ्ज प्रवेश गर्ने १० नाकामध्ये सौराहा प्रमुख नाका हो । ८० प्रतिशतभन्दा बढी पर्यटक यहीँबाट निकुञ्ज घुम्ने गर्दछन् । सौराहामा रहेको चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख सान्त मगरका अनुसार गएको भदौ महिनामा सौराहाबाट स्वदेशी ३ हजार ४१२, विदेशी ३ हजार १३ र सार्क देशका ७३४ गरी कुल ७ हजार १५९ पर्यटकले निकुञ्ज घुमेका थिए । वर्षको सुरुवातमै विदेशी पर्यटक स्वदेशीको हाराहारीमा पुग्न लागेको हुँदा पर्यटन व्यवसायीहरू उत्साहित थिए ।

तर भदौ २३ र २४ पछि अवस्था अर्कै भयो । दिनमा तीन सयको हाराहारीमा पर्यटक आउँदै आएका सौराहा काउन्टरमा ५०, ७० हुँदै अहिले मुस्किलले डेढ सय नाघेका छन् । सौराहा आएका पर्यटक निकुञ्जआडको मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीमा जाने गर्छन् । सामान्य समयमा भदौ मध्यपछि सफारीमा चाप बढ्छ । 'सामान्य समयमा यो बेला ३५/३६ वटा हात्ती सफारीमा जान्थे । जेन–जी आन्दोलनपछि देशको जुन अवस्था छ, त्यसका कारण पर्यटक त देखा पर्नै छाडे । शून्य नै भएको त छैन । अहिले तीन–चार वटा हात्ती मात्रै सफारीमा छन्,' सफारीमा जाने हात्तीधनीले सञ्चालन गरेको युनाइटेड हात्ती सञ्चालक सहकारीका अध्यक्ष दीपेन्द्र खतिवडाले भने ।

बर्खाको समयमा निकुञ्जभित्र जिप सफारी हुँदैन । असोज पहिलो हप्तापछि निकुञ्जभित्र पनि जिप सफारी सुरु गर्ने तयारीमा व्यवसायीहरू व्यस्त छन् । निकुञ्जभित्र जिप सफारी गर्ने निकुञ्ज सफारी प्रालिका अध्यक्ष ऋषि तिवारी यो वर्षदेखि सुविधायुक्त जिपबाट नयाँ रुटमा समेत सफारी चल्ने बताउँछन् । आरामदायी सीट भएका ३२ वटा जिपबाट असोज ६ या ७ गतेपछि नै सफारी सुरु गर्न लागेका पर्यटन व्यवसायीलाई देशको अवस्थाले झस्काएको छ ।

'तर पनि हामी आशावादी छौँ । अब लामो विदा सुरु हुँदैछ । यो बेलामा घुम्न–डुल्न आउँछन् जस्तो लाग्छ,' तिवारीले भने । निकुञ्जभित्र बन्द भए पनि बर्खायाममा सौराहा आडको कुमरोज मध्यवर्ती सामुदायिक वनमा जिप सफारी हुने गर्छ । सामान्य अवस्थामा यो बेला दैनिक ५० खेप जिप सफारी हुने गरेको वनका अध्यक्ष राजु सिलवालले बताए । तर भदौ २३ पछि शून्य नै नभए पनि दिनमा अचेल बढीमा १५/२० खेप सफारी हुने गरेको उनले बताए । 'तर आज शुक्रबार तीन वटा जिपमा नेपाली पनि देखिए । त्यसैले अब चहलपहल बढ्छ कि भन्ने आशा देखेको छु,' अध्यक्ष सिलवालले भने ।

निकुञ्जको पश्चिम क्षेत्र पटिहानी, घडगाइ, जगतपुर, मेघौली क्षेत्रमा पनि बुकिङ रद्द हुने गरेका छन् । मेघौली–घडगाइ नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेश लिम्बुले भने, 'यो पटक राम्रो होला भन्ने आशा थियो तर अहिले त धेरैजना साथी र होटलहरूले धमाधम बुकिङ रद्द भयो भन्दै हुनुहुन्छ । यो सिजन यसै जाला जस्तो छ । अर्को सिजनमा फेरि चुनाव भनेका छन् । त्यो बेलामा पनि वातावरण सम्हालिएन भने यो वर्ष नै खराब हुने खतरा छ ।'

चितवनमा पर्यटकीय क्षेत्र र संरचना तथा यससँग सम्बन्धित सरकारी कार्यालयमा यो आन्दोलनमा कुनै क्षति पुर्याउने गतिविधि भएन । 'त्यसैले पर्यटन क्षेत्र र पूर्वाधार सुरक्षित छन् भन्ने प्रचार–प्रसार बढाए स्वदेशी–विदेशी पर्यटक आउँछन् जस्तो लाग्छ,' क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले भने । हात्ती सफारी सहकारीका अध्यक्ष दीपेन्द्र खतिवडा पनि हवाई उडानहरू नियमित भए पर्यटक विदेशबाट पनि आउने सम्भावना देख्छन् ।

'यो घटनापछि यहीँ अड्किएका विदेशी पर्यटकलाई मैले सोधेँ, कुरा गरेँ, धेरैले यो आन्दोलनलाई त्यति नकारात्मक बुझेको जस्तो लागेन । ‘यस्तो त संसारमा अचेल कहाँ हुँदैन र ? यो सामान्य हो, हाम्रै देशमा त हुन्छ,’ भनेको पाएँ । त्यसैले राम्रो मार्केटिङ भए हाम्रो पर्यटन पनि लयमा फर्किहाल्छ भन्ने आशा छ,' खतिवडाले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully