'नेपालको संविधान नेपाली जनताको दीर्घ संघर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि हो, यो दस्तावेजले हाम्रो राष्ट्रिय आकांक्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको जग बसालेको छ ।' -उपराष्ट्रपति यादव
काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अंग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य हुने बताएका छन् ।
संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले मौलिक हकहरूको अक्षरशः कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन् । संघीय प्रणालीप्रति जनविश्वास कायम राख्न ती प्रयासहरू निर्णायक हुने उपराष्ट्रपति यादवको भनाइ छ ।
'नेपालको संविधान नेपाली जनताको दीर्घ सङ्घर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि हो, यो दस्तावेजले हाम्रो राष्ट्रिय आकाङ्क्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको जग बसालेको छ,' उनले भनेका छन् ।
पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर ‘जेन-जी’ आन्दोलनको सम्बोधन तथा अन्तरिम सरकारको गठनको प्रसंगले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनःपुष्टि गरेको सन्देशमा उल्लेख छ । 'संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ, यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको छ,' उनले भनेका छन् ।
