क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने, निर्जीवन बिमा व्यवसायी संघको प्रतिबद्धता

बिमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी, क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने संघले स्पष्ट पारेको छ ।

आश्विन ३, २०८२

कान्तिपुर संवाददाता

Commitment of Non-Life Insurance Professionals Association to speedy conclusion of claim payment process

काठमाडौँ — नेपाल निर्जीवन बिमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ । बिमा भएका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन संघले आग्रह समेत गरेको छ ।

वर्तमान अवस्थामा बिमाको महत्त्व झनै बढेको सन्दर्भमा, बिमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बिमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बिमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी, क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने संघले स्पष्ट पारेको छ ।

नेपाल निर्जीवन बिमा व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गर्दै देशभर जारी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । संघले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षा निकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायात लगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै संघले बिमा कम्पनीहरूलाई यस संकटको समयमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र मल्लले बिमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू चाँडो बिमा कम्पनीमा बुझाएर दाबी प्रक्रिया सहज बनाउने कार्यमा सहयोग गर्न अपिल गरेका छन् । साथै, बिमा कम्पनीहरूले पनि दाबी भुक्तानी प्रक्रिया छिटो टुंगोमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताए ।

२०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बिमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बिमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक देखिएको अध्यक्ष मल्लले बताएका छन् ।

कान्तिपुर

Link copied successfully