एक महिनामा तोलामै साढे २१ हजार रुपैयाँले बढ्यो, मंगलबारको तुलनामा बुधबार भने प्रतितोला १ हजार रुपैयाँ घट्यो ।
What you should know
काठमाडौँ — सुनको मूल्य एक महिनामै प्रतितोला २१ हजार ६ सय रुपैयाँले बढेको छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले ब्याजदर घटाउने हल्ला, जिओपोलिटिकल कारण सबै क्षेत्रबाट सुनमा लगानी बढेपछि मूल्यमा रेकर्डमाथि रेकर्ड बनेको छ ।
लगानीको हिसाबले सुरक्षित मानिने सुनमा लगानी बढ्दा एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा भाउ करिब ४० प्रतिशतले बढेको छ । एक वर्षअघि प्रतिऔंस सुनको मूल्य २६ सय अमेरिकी डलरमा कारोबार भएको थियो । अहिले बढेर प्रतिऔंस ३६८३ डलरदेखि ३७०२ डलरसम्म कारोबार भइराखेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइराखेको मूल्यवृद्धिले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ । गत वैशाखयता सुनको मूल्य तोलामै ३२ हजार ८ सय रुपैयाँले बढेको छ । भदौ महिनाको मात्रै तुलना गर्दा २१ हजार ६ सय रुपैयाँ बढेको हो ।
‘मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य निर्धारण गर्दा प्रतिऔंस ३६८३ डलर भएपनि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३७०२ डलरसम्म पुग्यो । यहाँ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुग्यो, यो मूल्य अहिलेसम्मकै उच्च हो,’ गहना विज्ञ तेजरत्न शाक्यले भने, ‘नेपालमा मूल्य बढ्नुको अर्को कारण अमेरिकी डलरको सटही दरमा भारु र नेपाली रुपैयाँको अवमूल्यन पनि हो । त्यही कारण अभाव छोइनसक्नु भएको छ ।’
महासंघले भदौ महिनामा मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३४७ अमेरिकी डलर बढेको देखिन्छ । नेपाली बजारमा भने २१ हजार ६ सय रुपैयाँ बढेको छ । महासंघले भदौ १ मा मूल्यनिर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ६ डलर थियो । यहाँ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो । भदौ ३१ मा अन्तर्राष्ट्रिय बजारमा मूल्य ३६८३ डलर थियो । महासंघले नेपालका लागि प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको थियो ।
‘भदौ ३१ र असोजको तुलना गर्दा अन्तर्राष्ट्रिय बजारमा १ डलर घटेको देखिन्छ । तर डलरका कारण नेपाली बजारमा प्रतितोला १ हजार रुपैयाँ घटेर २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भयो,’ शाक्यले भने, ‘भदौ ३१ को मूल्यबाहेक असोज १ को मूल्य पनि रेकर्ड नै हो ।’
महासंघका अनुसार भदौ १३ देखि स्थानीय बजारमा प्रतितोला २ लाख रुपैयाँ नाघेको छ । भदौ १३ मा महासंघले प्रतितोला २ लाख ६ सय रुपैयाँ तोकेको थियो । अन्तर्राष्ट्रिय बजारमा भदौ १३ मा प्रतिऔंस ३४१० डलरमा कारोबार भएको थियो । त्यसपछि भने मूल्य २ लाख तल झरेको छैन । रेकर्ड माथि रेकर्ड बनाएको छ ।
अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर महासंघले मूल्य निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, १० प्रतिशत भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गरिन्छ ।
शाक्यका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले ९० देशमा भन्सार शुल्क बढाएका छन् । त्यसको असर पनि हो । अन्तर्राष्ट्रिय बजारमा सेयर बजारले गति लिएको छैन । अन्तर्राष्ट्रिय बजारको तुलनामा डलर पनि कमजोर । लगानीकर्ताहरू सुरक्षित लगानी खोजेका छन् । सगसगै डेढ महिनादेखि अन्तर्राष्ट्रिय बजारमा ब्याजदर घट्ने हल्लाले पनि बजार पूरै अस्थिर भएको शाक्यको भनाई छ । ‘ब्याजदर घट्ने हल्लाले सुनमा लगानी बढ्यो, नभए मूल्य बढ्ने थिएन । ब्याजदरबारे एक सातामा निर्णय हुने चर्चा पनि छ,’ उनले भने, ‘समग्रमा भन्दा सुन बजार पुरै अस्थिर छ ।’
०००
भदौ १३ मा प्रतितोला २ लाख नाघेपछिको मूल्य
भदौ १३ – २ लाख ६ सय
भदौ १५ – २ लाख ३ हजार ६ सय
भदौ १६ – २ लाख ५ हजार ३ सय
भदौ १७ – २ लाख ५ हजार ९ सय
भदौ १८ – २ लाख ७ हजार ९ सय
भदौ १९ – २ लाख ७ हजार ९ सय
भदौ २० – २ लाख १० हजार ४ सय
भदौ २२ – २ लाख १२ हजार
भदौ २३ – २ लाख ११ हजार ६ सय
भदौ २४ – २ लाख १४ हजार ७ सय
भदौ २५ – २ लाख १४ हजार ७ सय
भदौ २६ – २ लाख १४ हजार २ सय
भदौ २७ – २ लाख १५ हजार ८ सय
भदौ २९ – २ लाख १५ हजार १ सय
भदौ ३० – २ लाख १५ हजार २ सय
भदौ ३१ – २ लाख १७ हजार १ सय
असोज १ – २ लाख १६ हजार १ सय
