असोज ६ गतेपछि केरा आयात नगर्न केरा किसानहरूको माग

नेपाली किसानका केरा बिक्री नभएर ब‍ोटमै पाक्न सुरु भएकाले यस्तो कदम चाल्नु परेको नेपाल केरा उत्पादक महासंघ केन्द्रीय तदर्थ समितिले जनाएको छ ।

आश्विन १, २०८२

रमेशकुमार पौडेल

Demand of banana farmers not to import bananas after October 6

What you should know

चितवन — असोज ६ गतेपछि विदेशबाट केरा ल्याएर नबेच्न केरा उत्पादन गर्ने नेपालका किसानहरूले व्यवसायीसँग माग गरेका छन् । नेपाली किसानका केरा बिक्री नभएर ब‍ोटमै पाक्न सुरु भएकाले यस्तो कदम चाल्नु परेको नेपाल केरा उत्पादक महासंघ केन्द्रीय तदर्थ समितिले जनाएको छ ।

महासंघका अध्यक्षसमेत रहेका चितवनका केरा उत्पादक किसान विष्णुहरि पन्तले नेपाली किसानलाई जोगाउन व्यवसायीले आफ्नो अनुरोध स्वीकार गर्नु पर्ने बताए । 'बाहिरबाट केरा नल्याऊ भनेर मूल्य बढाउने प्रपञ्च गरियो पनि भनिएला तर नेपाली किसानले प्रतिकोसा तीनदेखि चार रूपैयाँभन्दा बढी मूल्य नलिने गरेर केरा बेच्न तयार छन् । यो बेलामा केरा बिक्री गर्न नपाए सवै पाकेर बोट मै सकिने भएका कारणले नै हामीले यो माग गरेको हो,' पन्तले भने ।

नेपालमा हाल ४ हजार ८ सयभन्दा बढी केरा किसान भएको उनले बताए । देशभर १२ हजार हेक्टर जमिनमा केरा खेती हुन्छ । वार्षिक करिब ६ लाख मेट्रिक टन केरा उत्पादन हुने गरेको अध्यक्ष पन्तले बताए । नेपालमा दसैं-तिहार र छठजस्ता मुख्य चाडवाडका बेलामा २ लाख ५० हजार मेट्रिक टन केरा खपत हुने उनले जानकारी दिए । "नेपालमा खपत हुने केरा अहिले हामीले नै उत्पादन गर रहेका छौं । त्यसैले आयात गर्न आवश्यक छैन,' पन्तले भने । उनले सरकारले यसबारेमा छिट्टो ध्यान दिनु पर्ने बताए ।

महासंघले मंगलबार देशभरका फलफूल तथा तरकारी थोक व्यवसायीलाई पत्र लेखेर यस्तो अनुरोध गरेको हो । महासंघसँगै चितवन, कैलाली, बर्दिया, कञ्चनपुर र नवलपरासीका केरा उत्पादक किसानका संघ संगठनले पनि संयुक्त रूपमा यस्तो माग गरेका छन् ।

बर्दियाका केरा उत्पादक संघका अध्यक्ष टोपलाल विश्वकर्माले किसानका केरा बिक्री हुन नसकेको सुनाए । 'पानी परेको छ । केरा बोट मै पाक्न सुरु गर्‍यो । किन्नलाई नेपालगञ्जका व्यापारी आउने गर्थे अचेल भरतीय केरा ल्याउँछन् रे, यता आउँदैनन्,' टोपलालले भने । उनले काँचो केरा एक रूपैयाँ कोसामा पनि बिक्री हुन नसकेको गुनासो गरे ।

'हामीलाई दर्जनको १०/१२ रूपैयाँ पनि दिन गाह्रो मान्छन् । भारतमा पाँच रूपैयाँ दर्जनमै केरा पाइन्छ भन्दै यता आउनै छाडे,' उनले भने । व्यवसायीले केरा आयात नरोके नेपाली केरा किसान र समर्थकहरूले प्रतिवाद गर्ने महासंघले जनाएको छ । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully