प्रदर्शनमा राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटियो

बैंकमा रहेको ५ करोड १५ लाख रुपैयाँ र १७ हजार ९ सय ४५ ग्राम (करिब १८ किलो) सुन चोरी

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

5.5 crores and 18 kilos of gold were looted from the National Commercial Bank in the demonstration

What you should know

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुशान्त प्रधानसँगको पोडकाष्टमा प्रर्दशनका क्रममा वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको र राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् । अहिले त्यो भिडियो क्लिप निकै भाइरल भएको छ ।

उक्त भनाइलाई कान्तिपुरले राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग पुष्टि गरेको छ । जसअनुसार भदौ २४ मा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेका थिए ।

सोही क्रममा संसद् भवन परिसरमै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पनि तोडफोड तथा लुटपाट भएको छ । बैंकमा रहेको ५ करोड १५ लाख रुपैयाँ र १७ हजार ९ सय ४५ ग्राम (करिब १८ किलो) सुन चोरी भएको बैंकले स्वीकार गरेको छ ।

बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार ग्राहकको लकरमा रहेको सबै सुन सुरक्षित छ । तर, ऋण धितोमा रहेकोमध्ये १७ हजार ९ सय ४५ ग्राम सुन लुटपाट भएको हो । त्यो सुन ऋणको धितोमा रहेकाले त्यसको बिमा गरिएको पनि बैंकले बताएको छ । 

यसबाहेक वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको गभर्नर पौडेलले सार्वजनिक रूपमै बताउँदै आएका छन् । उनका अनुसार मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको छ । तीमध्ये २५ शाखा कार्यालय र ४३ वटा एक्सटेन्सन काउन्टर छन् । ती शाखा तथा एक्सटेन्सन काउन्टरमा धेरै क्षतिको विवरण भने छैन । क्षति पुगेको भनिएकामध्ये एउटा झ्यालको सिसा फुटेको देखि आगजनी भएकासम्म छन् । यस्तै, एउटा शाखा र काउन्टर स्थापना गर्दा लाग्ने खर्च समान हुदैन । 

बैंकहरूले ग्राहकको चाप, आफ्नो गुडविललगायतका आधारमा शाखामा खर्च गर्ने गरेका हुन्छन् । शाखा तथा एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीको संख्यामा पनि एकरूपता हुँदैन । यद्यपि प्रर्दशनका क्रममा भएको क्षतिका बारेमा राष्ट्र बैंकले तथ्यांक संकलन गरिरहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully