गत साउनसम्म विदेशी विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ ।
What you should know
काठमाडौँ — गत साउनमा मात्र रेमिट्यान्समार्फत १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २९.९ प्रतिशतले बढेको हो । गत वर्षको साउनमा रेमिट्यान्स आप्रवाह १७.७ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ६० करोड भित्रिएको थियो ।
गत साउनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४ सय ६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३६ हजार ९ सय २८ र २२ हजार ६ सय ४७ रहेको थियो ।
यस्तै, गत साउनमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको राष्ट बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ,’ राष्ट्र बैंकको गत साउनको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, गत साउनसम्म विदेशी विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ । ०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसाग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट बैंकको दाबी छ । यस वर्ष राष्ट बैंकले ७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।
यस्तै, गत साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर १.६८ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.१७ प्रतिशत र २.९४ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक१०.९७, गैर–मदिराजन्य पेय पदार्थको ४.६४ र फलफूलको ३.०१ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक१८.५६, मरमसलाको ४.८१ र माछा तथा मासुको २.४१ प्रतिशतले घटेको छ ।
यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक१०.६०, शिक्षाको ७.६७, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८४, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ । तर, सो अवधिमा बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक०.२२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
