तोडफोड र आगजनीबाट २५ अर्बको क्षति, पर्यटन क्षेत्र पुनर्जीवित गर्न सरकार–व्यवसायी एकजुट 

कार्यक्रममा सहभागी व्यवसायीहरूले प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंसहित देशभरका करिब दुई दर्जन होटल, रेस्टुरेन्ट र क्यासिनोमा तोडफोड, आगजनी तथा लुटपाट भएको र झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका हुन् ।

भाद्र ३०, २०८२

कान्तिपुर संवाददाता

Damage of 25 billion due to vandalism and arson, government-businessmen united to revive the tourism sector

What you should know

काठमाडौँ — जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनमा भएको तोडफोड र आगजनीका कारण पर्यटन तथा आतिथ्य क्षेत्रमा परेको ठूलो क्षतिपछि यसको पुनरुत्थानबारे छलफल गर्न पर्यटन सरोकारवालाहरू आठौं दिन (सोमबार) राजधानीमा भेला भए। 

कार्यक्रममा सहभागी व्यवसायीहरूले प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंसहित देशभरका करिब दुई दर्जन होटल, रेस्टुरेन्ट र क्यासिनोमा तोडफोड, आगजनी तथा लुटपाट भएको र झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए। 

नेपाल पर्यटन बोर्डको संयोजनमा सम्पन्न छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरूले पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने साझा रणनीतिबारे धारणा राखे।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष हरिप्रसाद मैनालीले नीतिगत अवरोध हटाउन मन्त्रालय प्रतिबद्ध रहेको र निजी क्षेत्रको सहकार्य अपरिहार्य हुने बताए। उनले भने, 'नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभर पुर्‍याउन प्रविधि र सञ्चारमार्फत आवश्यक पहल भइरहेको छ।' 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले सिजन सक्रिय बनाउन नयाँ ‘पर्यटन प्याकेज’ ल्याउनुपर्नेमा जोड दिए। पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले ट्रेकिङ र साहसिक मार्गहरू सुरक्षित रहेको उल्लेख गर्दै पर्यटकलाई सहज आवागमनका लागि तयारी भइसकेको बताए। 

नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले पाहुनाको स्वागत र सेवामा कुनै कमी नहुने स्पष्ट पारे भने नाटा अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित छ भन्ने सन्देशलाई विश्वभर पुर्‍याउनुपर्नेमा जोड दिए। बोर्ड सदस्य ऋषिराम भण्डारीले छोटो अवधिमै पुनरुत्थान गर्ने योजना रहेको बताए भने नरेन्द्रदेव भट्टले विदेशस्थित नियोग र दूतावासमार्फत प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए। 

यसैबीच, पाँचतारे तथा चारतारे होटलका प्रमुखहरूसँग भएको छुट्टै छलफलमा होटल व्यवसायीहरूले राज्यले आवश्यक सहजीकरण गरे पाहुनालाई स्वागत गर्न पूर्ण तयार रहेको प्रतिबद्धता जनाए। 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका संकटपश्चात् पनि पर्यटनले पुनर्जीवन पाएको उदाहरण दिँदै यसपटक अझ आत्मविश्वासका साथ नेपाललाई सुरक्षित, सहज र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए।

कान्तिपुर संवाददाता

Link copied successfully