गौतम बुद्ध विमानस्थलको आन्तरिक टर्मिनलमा नयाँ आगमन कक्ष

५० वर्षअघि निर्माण गरिएको आन्तरिक टर्मिनलको आगमन कक्ष साँघुरो हुँदा यात्रु र उनीहरूका आफन्तले कष्ट सहनु परेको थियो । असुविधा अन्त्य गर्न फराकिलो र सुविधासम्पन्न आगमन कक्ष सञ्चालनमा ल्याइएको हो ।  

भाद्र ३०, २०८२

दीपेन्द्र बडुवाल

भैरहवा — रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलअन्तर्गत आन्तरिक टर्मिनलतर्फ सोमबारबाट नयाँ आगमन कक्ष सञ्चालनमा ल्याइएको छ । ५० वर्षअघि निर्माण गरिएको आन्तरिक टर्मिनलको आगमन कक्ष साँघुरो हुँदा यात्रु र उनीहरूका आफन्तले कष्ट सहनु परेको थियो । असुविधा अन्त्य गर्न फराकिलो र सुविधासम्पन्न आगमन कक्ष सञ्चालनमा ल्याइएको हो ।  

गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले काठमाडौंबाट सोमबार दिउँसो भैरहवा आइपुगेका गुल्मीका ७५ वर्षीय गणपति भण्डारीलाई पुष्पगुच्छा दिएर आगमन कक्षको सुरुवात गरेका थिए । काठमाडौंबाट बुद्ध र यति एयरलाइन्सका जहाजबाट आएका यात्रुलाई नयाँ आगमन कक्षमा स्वागत गरिएको थियो । यसरी कक्षमा भित्रिएका यात्रुलाई विमानस्थलले लडडु वितरण गरेको थियो ।

नयाँ आगमन कक्ष सञ्चालनपछि साँघुरो कक्षमा यात्रु कोचाकोच हुने र उनीहरूलाई लिन आएका आफन्त लामो समय घाममा पर्खिनुपर्ने बाध्यता अन्त्य भएको विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी दिए । ‘यात्रुको सुरक्षाजत्तिकै विमानस्थलमा उनीहरूले प्राप्त गर्नुपर्ने सुविधापनि जरुरी हो,’उनले भने, ‘केही समयदेखि उपलब्ध साधनस्रोतको सदुपयोग गरेर काम गर्दै आएका थियौं, आजबाट यात्रुलाई फराकिलो र सुविधासम्पन्न कक्षमा स्वागत पायौं ।’

विमानस्थलमा रहेको अस्थायी कार्गो भवन मर्मत र सुविधा थपेर नयाँ कक्ष निर्माण गरिएको हो । यसअघि विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीको निवासका रूपमा भवन प्रयोग गरिएको थियो । नयाँ आगमन कक्षमा आफन्तलाई रिसिभ गर्न आउने व्यक्तिलाई बस्नका लागि बेन्चको व्यवस्था गरिएको छ । कार्गोलगायत कामका लागि छुट्टै काउन्टर निर्माण गरिएको छ । यसअघि जहाजबाट आएको सामान लिन जाँदा पास लिनुपर्ने र सुरक्षा जाँच पूरा गर्नुपथ्र्यो । ‘अब त्यस्तो झन्झट हटेको छ,’ तिवारीले भने, ‘अब बाहिरैबाट आफ्नो सामान बुझ्न सकिने बनाएका छौं ।’ नयाँ कक्षमा पुरुष र महिलाका लागि फराकिला शौचालय व्यवस्था गरिएको छ ।

विमानस्थलले २/३ महिनाभित्र यात्रुका सामान ओसार्नका लागि स्वचालित कन्भेयर बेल्ट जडान गरिने जनाएको छ । त्यसका लागि टेन्डर प्रक्रिया सुरु गरिएको छ । यसलगत्तै पुरानो टर्मिनल भवन विस्तारको काम थालिने भएको छ । अहिले रहेको भवनलाई फराकिलो तुल्याएर यात्रुका लागि आवश्यक सम्पूर्ण सुविधा थप गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । आन्तरिक टर्मिनल विस्तारका लागि डिजाइन तयार भइसकेको र छिट्टै ठेक्का प्रक्रियामा जाने उनले बताए । 

दीपेन्द्र

Link copied successfully