काठमाडौं — बबरमहलस्थित सडक विभागको भवनमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरिदिएपछि यस भित्र रहेका विभिन्न महाशाखा र आयोजना निर्देशनालयहरूको कार्यालय कहाँ–कहाँबाट सञ्चालन गर्ने भनेर तोकिएको छ । त्यही अनुसार कार्यालयहरूबाट काम पनि सुरु हुन थालेको छ ।
विभागको कार्यालय पहिले ललितपुरको चाकुपाटमै रहेको भवनबाट सञ्चालनमा ल्याइएको छ । विभागका अनुसार यान्त्रिक महाशाखा, यान्त्रिक तालिम केन्द्र र मदन भण्डारी राजमार्ग योजना निर्देशनालय पाटन ढोकास्थित चाकुपाटमा रहेको साबिकको यान्त्रिक तालिम केन्द्रको भवनबाट सञ्चालन गरिने छ ।
त्यस्तै विकास सहायता कार्यान्वयन महाशाखा पाटन ढोकास्थित चाकुपाटमा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रको पुरानो भवनबाट सञ्चालन गरिएको छ ।
संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, पुल सेक्टर काठमाडौँ, काठमाडौँ चक्रपथ सुधार योजना, नागढुंगा सुरुङमार्ग आयोजना, मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयको कार्यालय बबरमहलस्थित सडक विभागकै क्षति नभएको भवनबाट सञ्चालन गरिएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशनालय विशालनगरस्थित रेल विभागको भवनबाट सञ्चालन गरिएको छ ।
उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयको कार्यालय सडक डिभिजन काठमाडौँ परिसरमा पहिले रहेको सूर्य विनायक–धुलिखेल सडक योजनाले प्रयोग गरेको स्थानबाट सञ्चालन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।
कान्ति लोकपथ योजना कार्यालयलाई हाल पानी जहाज कार्यालय रहेको एकान्तकुनास्थित भवनबाट सञ्चालन गरिने भएको छ । यसअघि बबरमहलको भवन भित्र विभागका ५ वटा महाशाखा र अन्य पाँच वटा हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, नागढुंगा सुरुङमार्ग आयोजना, कान्ति राजपथ, उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय थिए ।
आगलागीबाट भवन समेत जीर्ण बनेको छ । २०७२ सालको भूकम्पअघि विभाग उक्त भवनमै थियो । भूकम्पले क्षति गरेपछि विभाग ललितपुरको चाकुपाट सारिएको थियो । ‘रेट्रोफिट’ गरी भवन तयार पारेर दुई वर्षअघि पुनः चाकुपाटबाट बबरमहल नै सारिएको थियो । अहिले फेरि आगलागीबाट भवनमा क्षति भएकाले फेरि चाकुपाट नै सारिएको महानिर्देशक जैसीले बताए ।
