प्रदर्शनमा २५ होटलमा क्षति पुगेको होटल संघ नेपालको दाबी, प्रधानमन्त्रीको सम्बोधनमार्फत नेपाल सुरक्षित पर्यटन गन्तव्य रहेको स्पष्ट सन्देश दिन आग्रह
काठमाडौं– हालैको प्रदर्शनले नेपालका होटल तथा आतिथ्य क्षेत्रमा क्षति पुर्याएपछि दुई हजार हाराहारीको रोजगारी प्रभावित बनेको छ । करिब २५ होटलले आक्रमणबाट क्षति खेप्नुपरेको र दुई हजार कर्मचारी तथा कामदारको जागिर प्रभावित भएको प्रारम्भिक आकलन गरिएको होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले जनाए ।
नेपालले आगामी सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउँदै छ । यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले विश्वसमक्ष सशक्त सन्देश दिनुपर्ने संघका अध्यक्ष शाहको आग्रह छ । प्रधानमन्त्रीको सम्बोधनमार्फत नेपाल सुरक्षित पर्यटन गन्तव्य रहेको स्पष्ट सन्देश दिनुपर्ने, हालका घटनाले पर्यटकलाई कुनै क्षति नपुगेको तथ्य विश्वसामु प्रस्तुत गर्नुपर्ने र आगामी दिनमा सरकार र निजी क्षेत्र मिलेर पर्यटनलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन प्रतिबद्ध रहेको देखाउनुपर्नेछ ।
पर्यटकको सुरक्षा, सुविधा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट नीति उच्चस्तरबाट सुनाउनुपर्ने शाहले बताए । यसैका लागि आइतबार हानले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखिसकेको छ । ‘यो जरुरी देखिएको छ । यसरी प्रधानमन्त्रीकै मुखबाट विश्वव्यापी निम्तो गयो भने नेपालका लागि ठूलो अवसर बन्न सक्छ,’ शाहले भने ।
‘पर्यटन सिजन सुरु भइसकेको, दसैं, तिहार तथा छठ पर्व नजिकिँदै गरेको र वायुसेवा कम्पनीहरू अधिकतम मात्रामा स्वदेशी तथा विदेशी यात्रुहरूलाई सेवा दिन तयारी अवस्थामा रहेको बेला सदस्य कम्पनीमाथि भएको यस्तो आक्रमणले व्यवसाय नै संकटमा पर्न सक्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
हाल सबै वायुसेवा (हवाईजहाज तथा हेलिकप्टर) कम्पनीको सेवा पूर्ण रूपमा सुरु भएको संघले जनाएको छ । आक्रमणमा संलग्न जोसुकै भए पनि सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायलाई संघले आग्रह गरेको छ ।
असोजदेखि ग्वाङझाउमा सिधा उडान गर्दै निगम
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले असोज ९ देखि काठमाडौंबाट चीनको ग्वाङझाउ सिधा उडान गर्ने भएको छ । काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटको टिकट बिक्री आइतबारदेखि नै खुला गरिएको निगमको भनाइ छ ।
