काठमाडौं — अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आग्रह गरेको छ ।
नाडाले आइतबार विज्ञप्ति जारी गर्दै हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको बताउँदै सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरेको । घटनाबाट प्रभावित सम्पूर्ण परिवारलाई समवेदना प्रकट गरेको छ । उक्त घटनाबाट मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
नाडाले देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पुर्याएको र दीर्घकालीन रुपमा लगानी साथै रोजगारीमा पनि चुनौती थपिएको बताएको छ । साथै शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट हरेक जटिल र कठिन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने विश्वास रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला रहेको तर हालको घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको बताउँदै कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता व्यक्त गरिएको छ ।
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्दै एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेमा विश्वास लिइएको बताएको छ । साथै, नाडाले नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको र छिट्टै मन्त्रिपरिषद् विस्तार हुनेसमेत विश्वास व्यक्त गरेको छ ।
सरकारले आउँदो ६ महिनाभित्र आमनिर्वाचनसम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आमनेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न, सरकार सफल हुनेछ भन्दै शुभकामनासमेत दिइएको छ ।
