वीरगन्ज भन्सार कार्यालय पूर्ण रुपमा सञ्चालनमा

भाद्र २९, २०८२

शंकर आचार्य

पर्सा  — जेनजी आन्दोलनले अवरुद्ध भएको मुलुकको प्रमुख भन्सार वीरगन्ज भन्सार आइतबारदेखि पूर् रुपमा सञ्चालनमा आएको छ । 

भन्सारका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीले आइतबार भन्सारको कामकाज पूर्ण रुपले सञ्चालन भएको बताए । ‘शुक्रबार र शनिबार आंशिक मात्र काम हुन सकेको थियो,’ उनले भने, ‘आइतबारदेखि कामकाज पूर्ण रुपले सुचारु भएको छ ।’

कार्यालय खुलेको शुक्रबार पहिलो दिन १३ करोड रुपैयाँ राजस्व संकलन भएकोमा शनिबार दोस्रो दिन १ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन भएको उनले बताए । आइतबार पनि करिब ५० करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान रहेको उनले बताए । सामान्य दिनमा यो भन्सारले ७० देखि ७२ करोड रुपैयाँ राजस्व संकलन गर्ने गरेको छ।

शनिबार एकैदिन ७ सयदेखि ८ सयको हाराहारीमा मालवाहक सवारी साधन जाँचपास भई भन्सार यार्डबाट बाहिरिएको उनले बताए । आन्दोलनको क्रममा भन्सार यार्डमा अड्किएका अधिकांश मालवाहक सवारी साधन बाहिरिसकेको उनले बताए । यो भन्सारमा सामान्य दिनमा भारतबाट दैनिक ४ सयदेखि ७ सयको संख्यामा नयाँ मालवाहक सवारी साधन भित्रिने गर्छ ।

चाड नजिकिँदै गएकाले पनि चाडपर्व लक्षित मालवस्तु बोकेका सवारी साधन तुलनात्मक रुपमा बढी भित्रिने छ । यो भन्सारले संकलन गर्ने राजस्वमा नयाँ सवारी साधन र इन्धनको योगदान आधाभन्दा बढी हुने गरेको छ । त्यसपछि मदिरा र औद्योगिक कच्चा पदार्थ फलामले पनि उल्लेख्य राजस्व दिने गर्छ ।

चालु आर्थिक वर्षदेखि वीरगन्ज भन्सारमा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय पनि गाभिएको छ । भदौ महिनामा यो भन्सारले मासिक राजस्व असूली लक्ष्य भेट्टाउने सम्भावना बढेको छ ।

 

शंकर

Link copied successfully