पाल टाँगेर भन्सार र राजस्व सेवा 

बुटवल र भैरहवाका सरकारी कार्यालय र निजी प्रतिष्ठानमा धेरै क्षति पुगेको छ ।

भाद्र २९, २०८२

दीपेन्द्र बडुवाल

भैरहवा — जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त रुपन्देहीको भैरहवास्थित भन्सार र आन्तरिक राजस्व कार्यालयले पसिरमा पाल टाँगेर आइतबारदेखि सेवा सञ्चालनमा ल्याएका छन् । गत मंगलरबार साँझ प्रदर्शनकारीले बेलहिया नाकास्थित भन्सार र वर्मेली टोल चोक नजिक रहेको राजस्व कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

आगजनीका कारण भन्सार कार्यालय परिसरमा रहेका यात्रु सेवा साखा, सुरक्षा गार्ड कक्ष, क्यान्टिन, राष्ट्रिय वाणिज्य बैंक र भन्सारको मूल भवनका दुई तला जलेका छन् । कार्यालयभित्रका फर्निचरसँगै, कम्प्युटर र महत्त्वपूर्ण दस्तावेज नष्ट भएका छन् । भन्सार कार्यालय प्रमुख शिवलाल न्यौपानेले आंशिक रूपमा बिहीबारदेखि अति आवश्यक ग्याँस, तरकारी, फलफूलका गाडीको जाँचपास सुरु गरिएको जानकारी दिए । त्यसयता भन्सार यार्डमा रहेका र भारतबाट मुलुक भित्रिन पर्खाइमा रहेका अतिआवश्यक र उपभोग्य सामान बोकेका गाडीको जाँचपास भइरहेको उनले बताए ।

भवन क्षतिग्रस्त रहेको अवस्थामा पनि अनलाइनबाट हुने निवेदन, भुक्तानी लगायत कामलाई यथावत राखेर बाँकी कामका लागि परिसरमा पाल टाँगेर सेवा सञ्चालनमा ल्याइएको उनले बताए । ‘बाहिरबाट छुट्टै बिजुलीको तार तानेर ल्यायौं,’उनले भने, ‘केही कार्यालयका र केही कर्मचारी साथीहरूका ल्यापटप जम्मा गरेर सेवाग्राहीलाई सुविधा प्रदान गरिरहेका छौं ।’ उनका अनुसार आइतबारदेखि राष्ट्रिय वाणिज्य बैंकले पनि सेवा सुरुवात गर्न लागेको छ । बन्द रहेको यात्रु शाखाबाट भारतबाट आएका सवारी साधनलाई भन्सार सुविधा प्रदान गर्न थालिएको छ ।

स्थानीय (लोकल) सर्भर नष्ट भएकाले भारतबाट आएर नजिकको सहरसम्म आवतजावत गर्ने गाडीलाई दिइने सुविधा सोमबारदेखि सुरु हुने न्यौपानेले जनाए । यात्रु शाखाबाट भन्सार सुविधा सुरु गरिएपछि भारतबाट पर्यटक गाडी भित्रिन थालेका छन् । भन्सारको सेवा प्रभावित भएपछि सीमावर्ती सुनौलीदेखि नौतनहवासम्म मालवाहक गाडीको लाम लागेको छ । जिल्ला प्रहरीको टोलीले मुचुल्का गरेर क्षति मूल्यांकन गरेको छ । स्थानीय सर्भर पूर्ण रूपमा जलेका कारण केही समस्या भए पनि कुनै पनि वस्तुको अभाव नहुनेगरि भन्सार नाका खुला भइसकेको उनले बताए ।

आन्तरिक राजश्व कार्यालयले पनि परिसरमा कुर्सी, टेबुल र बेन्च राखेर आइतबारदेखि सेवा सुरुवात गरेको छ । आगजनीका कारण आन्तरिक राजश्व कार्यालयमा सबैभन्दा धेरै क्षति पुगेको कार्यालय प्रमुख प्रेमराज पोखरेलले बताए । उनका अनुसार भवन पूर्ण रूपमा क्षति बनेको छ । आगजनीका कारण कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, फाइल, कुर्सी, टेबुल, गार्ड कक्ष, एउटा गाडी र परिसरमा रहेका साइकल जलेर नष्ट भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको क्षति मूल्यांकन समितिले मुचुल्का संलकन गरेपछि आइतबारदेखि न्यूनतम स्रोतबाट सेवा सुरुवात गरिएको पोखरेलले बताए । ‘धेरै काम अनलाइनबाट हुन्छन,’उनले भने, ‘अहिलेलाई तीनवटा ल्यापटप र एउटा प्रिन्टर राखेर काम गरिरहेका छौं ।’

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले प्रदर्शनका क्रममा जिल्लास्थित निजी र सरकारी सम्पत्तिमा ठूलो नोक्सान पुगेको बताए । निजी प्रतिष्ठानको क्षतिको विवरण तत्काल प्राप्त गर्न नसके पनि सरकारी र सार्वजनिक क्षेत्रमा भएको क्षतिको मुचुल्का संलकन भइरहेको जनाए । जिल्लामा क्षति नपुगेका कार्यालयबाट निर्वाध सेवा सञ्चालन भइरहेको छ । त्यसबाहेक जलाइएका कार्यालयका परिसरमा पाल टाँगेर र टेबुल थापेर सेवा सञ्चालनमा ल्याइएको उनले बताए । ‘सेवा दिन नसकेको अवस्थामा पनि सेवा लिन आउने सेवाग्राहीको अभिलेख राखेका छौं,’उनले भने, ‘अवस्था सामान्य हुनेबित्तिकै कार्यालयमा डाकेर सेवा दिन निर्देशन दिएको छु ।’

बुटवल र भैरहवाका सरकारी कार्यालय र निजी प्रतिष्ठानमा धेरै क्षति पुगेको छ । सोमबारसम्म सरकारी सम्पत्तिमा पुगेको क्षतिको विवरण तयार हुने उनले बताए । जिल्ला अदलातले पनि आइतबारबाट आंशिक रूपमा सेवा सुरुवात गरेको जनाएको छ । जिल्ला अदालतले आइतबार बिहान सूचना प्रकाशित गरेर संकुचित रूपमा सेवा सञ्चालनमा ल्याउनुपर्ने भएकाले आइतबारदेखि म्याद थप, जरुरी पक्राउ पुर्जीको स्वीकृति र अनुमति, बन्दी प्रत्यक्षीकरणको निवेदन र थुनछेकसम्बन्धी सेवामात्र उपलब्ध गराइने जनाएको छ ।

दीपेन्द्र

Link copied successfully