काठमाडौं — यात्रुलाई सहज रुपमा घरजाने वातावरण बनाउन र गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे आइतवार भौतिक पूर्वाधार तथा मन्त्रालयमा सरोकारवाला निकायको उपस्थितीमा छलफल भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार मन्त्रालयका सचिव केशवकुमार शर्माको उपस्थितीमा देशभरी सार्वजनिक सवारी साधन कसरी सहज रुपमा चलाउने वातावरण बनाउने भनेर छलफल भएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलको संयोजकत्व समिति बनाइएकाले उक्त समितिले सरोकारवाला निकायको उपस्थितीमा सोमबार छलफल गरेर दसैंकालागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय गर्ने उनको भनाई छ ।
‘अहिले कलेजहरु बन्द भएकाले धेरै यात्रु उपत्यका बाहिर घरजान खोजी रहेका छन्, कति त गइनै रहेका छन्, उनीहरुलाई जान सहज व्यवस्थापन लागि सबैतिर टिकट काउन्टर खुल्ला गर्न आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने, ‘फेरी यातायात व्यवस्था विभागको कार्यालय आगलागीबाट ध्वस्त भएकाले अहिले छैन, ट्राफिक पोस्टहरु ध्वस्त छन ।’
गाडीको अग्रिम बुकिङ खोल्न विभागका महानिर्देशक सहित सरोकारवाला निकायविच छलफल गरेर निर्णय हुने उनले बताए । ‘त्यसकालागि आइतवार प्रारम्भिक बैठक बस्यौं, देशव्यापी रुपमा गाडी चलाउन आह्वान गर्छौ,’ उनले भने, ‘सोमबार अग्रिम बुकिङ कति खोल्ने भन्ने कुरामा निर्णय गर्छौ ।’ त्यसकालागि सम्बन्धित निकायले सडक पूर्वाधार सहज बनाउनुपर्ने उनको भनाई छ । भदौ २४ देखि ठप्प बनेको सार्वजनिक यातायात आइतवारबाट सहज रुपमा सञ्चालनमा आएको छ । उपत्यका बाहिर जाने सवारी साधन भने शनिवारबाटै सञ्चालनमा आएका थिए ।
अघिपछि घटस्थापनाको १५ दिन अघि दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिन्थ्यो । अहिलेसम्म रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने सडक र कोशी कोरिडोरको केही खण्डमा बाहेक अन्यत्र समस्या नरहेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।
‘अहिले कुनैपनि राजमार्ग, सडक अबरुद्ध हुन नदिनेगरी मेशिनहरु तैनाथ राखेका छौं,’ उनले भने, ‘चाडबाडलाई मध्यनजर गर्दै केही दिन भित्रमै खाल्डाखुल्डी पुर्ने र समस्या रहेको खण्डमा सहज बनाउने काम थाल्छौं ।’ दसैंमा सडककारण यात्रुले रोकिनु अबस्था नहुने उनको भनाई छ । गत वर्षको बर्खामा बाढीले बगाएर सबैभन्दा बढी समस्या बीपी राजमार्गमा भएको थियो ।
त्यस्तै ठाउँ–ठाउँमा पहिरो खसेर नागढुंगा–मुग्लिन र नारायणगढ–बुटवल सडक सडकको दाउन्नेमा पहिरो खस्ने र हिलोकाकारण सवारी साधन चिप्लिएर दसैंमा आवागमन प्रभावित बनेको थियो । जसले गर्दा एक दिनमा पुगिने ठाउँ यात्रुकालागि दुई/तस्न लागेको थियो । ‘यो पटक त्यस्तो आउन नदिनेगरी नै काम गरेका छौं,’ महानिर्देशक जैसीले भने, ‘केही समस्या आए तत्काल समाधान गर्न फिल्डमा कर्मचारी, प्राविधिक खटिएका हुन्छन ।’ दसैंमा मात्र उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।
