कालिमाटीमा शनिबार मात्रै ८ सय ४५ टन तरकारी र फलफूल भित्रियो, बजार सामान्य बन्दै

भाद्र २९, २०८२

राजु चौधरी

काठमाडौं — निषेधाज्ञा र कर्फ्यु हटेसँगै कालिमाटी तरकारी बजारको अवस्था सामान्य बनेको छ ।

शनिबार एकैदिन ताजा तरकारी, फलफूल, माछा लगायत गरी ८ सय ४५ टन भित्रिएको छ । जसमध्ये ताजा तरकारी मात्रै ७ सय ३१ टन भित्रिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितीका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

कालिमाटीमा धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर लगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । भारतबाट पनि तरकारी आयात हुन्छ । निषेधाज्ञा र कर्फ्यु हटेपछि आपूर्ति निरन्तर भएको उनले बताए । ‘आइतबार बिहान मात्रै ६ बजेसम्म ताजा तरकारी, फलफूल, माछा गरी २ सय ५८ टन भित्रिएको थियो । ताजा तरकारी २ सय ३० टन भित्रियो । दिनभरिमा अझै भित्रिन्छ,’ उनले भने, ‘बजार अब सामान्य अवस्थामा पुग्यो ।’

कालिमाटी तरकारी बजारमा दैनिक औसत साढे ६ सयदेखि ७ सय टन तरकारी भित्रिन्छ । भदौ २३ मा जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न अवस्थाले आपूर्ति प्रणालीमा अवरोध भएको थियो । आपूर्तिमा समस्या हुँदा भदौ २४ मा २ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको थियो । २५ र २६ मा तरकारी बजारमा छिटफुट रुपमा मात्रै भित्रियो । शुक्रबार ४ सय ६६ टन भित्रियो । शनिबारदेखि भने बजार सामान्य अवस्थामा फर्किएको हो ।

राजु चौधरी चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully