पर्यटकलाई स्वागत गर्न आतुर व्यवसायी

विश्वका अन्य मुलुकले पनि राजनीतिक अस्थिरतापछि छिट्टै पुनरुत्थान गर्ने क्षमता देखाएका छन्, नेपाल यसमा अपवाद छैन, नेपालको पर्यटन क्षेत्र फेरि पहिलाभन्दा बलियो भएर फर्किनेछ : पर्यटन बोर्ड 

भाद्र २९, २०८२

सुरज कुँवर

काठमाडौं  — देशभर शान्ति, स्थिरता र सामान्य अवस्था पुनः स्थापित भएको जनाउँदै नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र पुनः गतिशील भएको बताएको छ । टुर अपरेटरहरूले पनि केही सातामै सुरु हुने शरद्कालीन पर्यटन सिजनका लागि विदेशीहरूलाई स्वागत गर्न तयार रहेको जनाएका छन् । 

‘नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनसँगै दैनिक जीवन सामान्य बनेको छ । व्यवसाय तथा कार्यालय खुलेका छन्,’ पर्यटन बोर्डले नेपालमा टुर आयोजना गर्ने विदेशीहरूको जानकारीका लागि विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आंशिक रूपमा लगाइएका कर्फ्यु र यात्रासम्बन्धी प्रतिबन्ध हटेपछि नागरिक आशावादी ढंगले आफ्नो जीविकोपार्जनमा फर्किएका छन् ।’

पर्यटकका लागि नेपाल फेरि पूर्ण रूपमा खुला भएको छ । सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, होटल, रेस्टुरेन्ट र प्रमुख पर्यटकीय स्थल नियमित रूपमा सञ्चालन भइरहेका छन् । ‘नेपालका व्यवसायी सुरक्षित, सहज वातावरणमा पाहुनाहरूलाई स्वागत गरिरहेका छन्,’ विज्ञप्तिमा उल्लेख छ । 

नेपालको पर्यटन विगतका प्राकृतिक प्रकोप र राजनीतिक चुनौतीहरूपछि पनि निरन्तर उकासिँदै आएको छ । यसले नेपाली जनताको दृढ आत्मा, अन्तर्राष्ट्रिय पर्यटन समुदायको सहयोग, हिमाल, सांस्कृतिक सम्पदा र पवित्र स्थलहरूको कालजयी आकर्षणलाई झल्काएको बोर्डले बताएको छ । 

‘विश्वका अन्य गन्तव्यले पनि राजनीतिक अस्थिरतापछि छिट्टै पुनरुत्थान गर्ने क्षमता देखाएका छन् । नेपाल पनि यसमा अपवाद छैन,’ बोर्डले भनेको छ, ‘नेपालको पर्यटन क्षेत्र फेरि पहिलाभन्दा बलियो भएर फर्किने छनक देखिएको छ ।’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि अन्तर्राष्ट्रिय पर्यटक, पर्यटन व्यवसायी तथा सरोकारवालालाई नेपाल स्थिरतातर्फ अघि बढिरहेको र पर्यटन क्षेत्रमा सुरक्षाको वातावरण बनेको आश्वासन दिएको छ । पछिल्लो पटक गरिएको प्रदर्शन र राजनीतिक परिवर्तनपछि नेपालको पहिलो महिला प्रधानमन्त्रीको नियुक्तिले देशमा नयाँ ऊर्जा भरेको जनाउँदै नाट्टाले पर्यटकलाई स्वागत गरेको हो ।

‘नेपालमा पर्यटक सुरक्षित छन् । देशभर शान्ति स्थापना भइसकेको छ । दैनिकी वा पर्यटन गतिविधिमा अवरोध हुने कुनै आशंका छैन,’ नाट्टाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विमानस्थल र यातायातका साधन सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थल सामान्य तालिकामा फर्किएका छन् ।

स्थलगत यातायात र पर्यटन सेवा नियमित रूपमा चलिरहेकाले अवरोध नभएको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले जनाए । ‘पर्यटन व्यवसाय खुला छन् । होटल, टुर अपरेटर, ट्रेकिङ कम्पनी तथा सांस्कृतिक स्थलले सबै सुरक्षात्मक मापदण्ड अपनाएर पाहुनालाई स्वागत गर्न तयारी गरिसकेका छन्,’ नाट्टाको विज्ञप्तिमा उल्लेख छ । 

सोमबारदेखि बुधबार दिउँसोसम्मको अवरोधमा अड्किएका यात्रुलाई नाट्टा, नेपाल पर्यटन बोर्ड, विमान कम्पनी, विभिन्न दूतावास, होटल तथा पर्यटन व्यवसायीको सहकार्यमा गन्तव्यमा पठाइएको थियो । नेपाल आउन लागेका पर्यटकलाई नाट्टाले आफ्नो उडान, होटल बुकिङ र भ्रमण व्यवस्था पुनःजाँच गर्न भनेको छ ।

‘आधिकारिक स्थानीय टुर अपरेटर, होटल वा दूतावासको सल्लाहमार्फत अद्यावधिक सूचनामा रहनुहोला,’ सुझावमा भनिएको छ । 

nnnशान्ति पुनःस्थापित भइसकेको र आत्मविश्वास बढ्दै गएको यस घडीमा नेपालले फेरि विश्वलाई आफ्नो ढोका फराकिलो गरी खोलिदिएको नाट्टाको भनाइ छ । ‘हिमाल, संस्कृति र आतिथ्यको अद्वितीय सौन्दर्यसहित नेपाल फेरि पर्यटकलाई स्वागत गर्न तयार छ,’ नाट्टाले भनेको छ, ‘नेपाल खुला छ, सुरक्षित छ । फेरि एकपटक विश्वलाई स्वागत गर्न तयार छ ।’ 

भाटभटेनीका १६ शाखाबाट नियमित सेवा 

यसैबीच भाटभटेनी सुपरमार्केटले पुनः आफ्नो ढोका उपभोक्ताका लागि खोलिएको बताएको छ । सुपरमार्केटले आफू केवल पसल मात्र नभई ग्राहकको परिवार भएको उल्लेख गर्दै धैर्य, समर्थन र विश्वासका लागि ग्राहकलाई धन्यवाद ज्ञापन गरेको छ । 

‘हामी पुनः फर्किएका छौं, तपाईंले सधैं विश्वास गर्नुभएको माया, सेवा र प्रतिबद्धतासहित,’ भाटभटेनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सुपरमार्केटले आगामी दिनमा अझ उज्यालो र शान्त वातावरणतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्दै उपभोक्तालाई नजिकका शाखाबाट आवश्यक सामान खरिद गर्न भनेको छ । 

सुरज कुँवर

Link copied successfully