दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आइतबार निर्णय गरिने
काठमाडौं — जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी गरेको निषेधाज्ञा र कर्फ्यु हटाएसँगै निजी सडकमा सवारीसाधन र सर्वसाधरणको चहलपहल बढ्न थालेको छ । सोमबारदेखि बन्द रहेका सार्वजनिक सवारी आइतबारबाट सञ्चालनमा आउँदै छन् ।
निषेधाज्ञा र कर्फ्यु हटेपछि सर्वसाधारणको चहलपल बढ्न थालेको काठमाडौं उपत्यका ट्र्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरिले बताए ।
‘सडकमा सर्वसाधारण र निजी सवारीको संख्या बढ्दै गएको छ, फाट्टफुट्ट रूपमा सार्वजनिक सवारी गुडेका छन्,’ गिरिले भने, ‘सार्वजनिक बिदाको दिन भएर सरकारी कार्यालय बन्द छन् । त्यसैले आइतबारबाट मात्र सडकमा सवारी चाप बढ्दै जानेछ ।’
सार्वजनिक सवारी नचल्दा भने सर्वसाधारणलाई यात्रामा अहसहज भएको छ । सार्वजनिक सवारीसाधन आइतबार सञ्चालनमा आउने भएकाले यात्रुलाई सहज हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए ।
‘देशको असहज परिस्थतिले गर्दा सार्वजनिक सवारीसाधन चलाउन सकिएन, प्रदर्शन सुरु हुनु अघिल्लो दिन नै सूचना जारी गरेर प्रदर्शनमा कुनैपनि सार्वजनिक सवारीसाधन नचलाउन भनेका कारण पनि ठूलो क्षति भएन,’ स्वाँरले भने, ‘अहिले मुलुकले नयाँ प्रधानमन्त्री पाइसकेको छ । अवस्था सहज बन्दै गएकाले अब सार्वजनिक सवारी चलाउन समस्या छैन ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको उपस्थितिमा आइतबार नै सरोकारवाला निकायबीच छलफल गरी दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय गरिनेछ । ‘दसैं आउन धेरै समय छैन, मिलेसम्म आइतबार नै हामी अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्नेबारे निर्णय गर्छौं,’ स्वाँरले भने, ‘यसका लागि सचिवले पनि चासो दिएर बोलाउनुभएको छ ।’
nn
nnअग्रिम बुकिङसँगै सबै टिकट काउन्टरअगाडि अनिवार्य रूपमा कुन जिल्लाको गाडी भाडा कति भनेर लिस्ट राखिनेछ । त्यस्तै यात्रु सहायता कक्ष खोलेर कसैले टिकटमा कालोबजारी गरेर यात्रु ठग्ने काम गरे तुरुन्त त्यहाँ गएर प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारीलाई यात्रुले जानकारी गराउने व्यवस्था मिलाइने स्वाँरको भनाइ छ । ‘दसैं नजिक आइसकेकाले सडक पूर्वाधार सहज बनाइनुपर्छ,’ उनले भने, ‘कलेज बन्द भएकाले धेरैजसो यात्रु घटस्थापनाबाटै घर जान थाल्छन् ।’
अघिपछि घटस्थापनाको १५ दिनअघि दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिन्थ्यो । आइतावर सरोकारवाला निकायलाई मन्त्रालयमा बोलाएर छलफल गरी गाडीको गाडीको अग्रिम बुकिङ टिकट खोल्नेबारे निर्णय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पुष्टि गरे । ‘यातायात व्यवस्था विभागको भवन आन्दोलनका क्रममा जलेर ध्वस्त छ,’ उनले भने, ‘विभाग परिसरमै पाल टाँगेर सेवा दिने तयारीमा छौं ।’
अहिलेसम्म रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने सडक र कोशी कोरिडोरको केही खण्डमा बाहेक अन्यत्र समस्या नरहेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘अहिले कुनै पनि राजमार्ग र सडक अवरुद्ध हुन नदिने गरी मेसिन तैनाथ राखेका छौं,’ उनले भने, ‘चाडबाडलाई हेरेर केही दिनभित्रमै खाल्डाखुल्डी पुर्ने र समस्या रहेको खण्डमा सहज बनाउने काम थाल्छौं ।’ दसैंमा सडकका कारण यात्रुले रोकिनुपर्ने अवस्था नहुने उनको भनाइ छ । गत वर्षको बर्खामा बाढीले बगाएर सबैभन्दा बढी समस्या बीपी राजमार्गमा भएको थियो ।
ठाउँ–ठाउँमा पहिरो खसेर नागढुंगा–मुग्लिन र नारायणगढ–बुटवल सडकको दाउन्नेमा पहिरो खस्ने र हिलोका कारण सवारीसाधन चिप्लिएर दसैंमा आवागमन प्रभावित बनेको थियो, जसले गर्दा एक दिनमा पुगिने गन्तव्यका लागि यात्रुलाई दुई–तीन दिन लागेको थियो । ‘यो पटक त्यस्तो समस्या आउन नदिने गरी नै काम गरेका छौं,’ महानिर्देशक जैसीले भने, ‘केही समस्या आए तत्काल समाधान गर्न फिल्डमा कर्मचारी र प्राविधिक खटिएका हुन्छन् ।’ दसैंमा मात्र उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।
