काठमाडौं — पछिल्लो पटक विकसित घटनाक्रमले जनजीवन प्रभावित बने पनि पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिमा समस्या नरहेको आयल निगमले बताएको छ । आन्दोलनका क्रममा भन्सार कार्यालय डाउन हुँदा ढुवानीमा सामान्य समस्या आए पनि अहिले निरन्तर आपूर्ति भइसकेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए ।
‘पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्तिमा समस्या छैन । नियमित आयात र बिक्रीवितरण भइरहेकै छ,’ उनले भने । मुलुकभर दिनको औसत पेट्रोल दुई हजार किलोलिटर र डिजेल चार हजार किलोलिटर बिक्री हुन्छ । व्यवसायीको मागअनुसार शुक्रबार मात्र मुलुकभर ३ हजार ९ सय ८९ किलोमिटर पेट्रोल, २ हजार ९ सय १६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टीतेल वितरण गरिएको उनले जनाए । उपत्यकाका लागि थानकोट डिपोबाट पेट्रोल ८ सय ७० किलोलिटर र डिजेल ४ सय ३० किलोलिटर वितरण गरिएको उनको भनाइ छ ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले पनि इन्धन वितरणको अवस्था सामान्य रहेको जनाए । ‘व्यवसायीले माग गरेअनुसार निगमले उपलब्ध गराएको छ । आपूर्तिमा समस्या देखिएको छैन,’ अध्यक्ष प्रधानले भने, ‘आन्दोलनका क्रममा केही पम्प बन्द थिए, त्यही कारण केही स्थानका पम्पमा भीड देखियो । अहिले अवस्था सामान्य भइसकेको छ ।’
निगमका अनुसार इन्धन मौज्दातको अवस्था पर्याप्त छ । थानकोट डिपोमा ३ हजार ४ सय किलोलिटर पेट्रोल र ५ हजार ९ सय किलोलिटर डिजेल मौज्दात भट्टले बताए । ‘मुलुकभर १६ हजार किलोलिटर पेट्रोल र ४० हजार किलोलिटर डिजेल मौज्दात छ । अहिलेको मौज्दातले पेट्रोल आठ दिन र डिजेल १० दिनलाई पुग्छ,’ उनले भने, ‘थप आवश्यक परे पेट्रोलियम पाइपलाइनबाट तत्काल ल्याउन सकिन्छ ।’
खाना पकाउने एलपी ग्यास पनि अभाव नहुने जनाइएको छ । शुक्रबार विभिन्न नाकाबाट २ सय १० बुलेट ग्यास भन्सार जाँचपास भई बजारमा भित्रिएकाले तत्काल अभाव नहुने संघका अध्यक्ष शिवप्रसाद घिमिरे बताए । शनिबार पनि वीरगन्ज नाकाबाट ३४ बुलेट छुटेका छन् । शुक्रबार वीरगन्ज नाकाबाट १ सय १५, भैरहवाबाट ३७, नेपालगन्जबाट २०, धनगढीबाट ७, झापाबाट ४ र विराटनगर नाकाबाट २७ बुलेट जाँचपास भई छुटेका छन् ।
एउटा ग्यास बुलेटमा औसत करिब १ हजार २ सय ६० सिलिन्डर ग्यास हुन्छ । ‘२ सय १० ग्यास बुलेटबाट २ लाख ६४ हजार ग्यास सिलिन्डर भर्न सकिन्छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) का रिफाइनरीमा थप ग्यास लोड भइराखेकै छन्,’ घिमिरेले भने, ‘ढुवानीमा आन्तरिक सुरक्षा भए अब अभाव हुँदैन ।’ आईओसीको पारादीप रिफाइनरीमा शुक्रबार ३८, मथुरामा २७, दुर्गापुरमा १६ र हल्दियामा ५ बुलेट ग्यास लोड भएको संघले जनाएको छ । शुक्रबार नै बरौनी रिफाइनरीमा १५ बुलेट लोड भएका छन् । बिहीबार पारादीप रिफाइनरीमा ६४ बुलेट ग्यास लोड भएको घिमिरेले बताए । मथुरामा २५, दुर्गापुरमा ११ र हल्दियामा ३ बुलेट ग्यास लोड भएको उनको भनाइ छ ।
नेपाली सेनाको कर्फ्यु र निषेधाज्ञाले केही दिन ढुवानीमा सामान्य समस्या भए पनि अभाव नभएको उनले जनाए । शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटेकाले अब बजारमा समस्या नहुने घिमिरेले बताए ।
निगमले जारी गरेको पीडीओअनुसार आईओसीले ग्यास दिइएको निगमका कार्यकारी निर्देशक भट्टले जनाए । ‘मासिक ४० देखि ४५ हजार टन ग्यास खपत हुने गरेकामा यस पटक चाडपर्वलाई लक्ष्य गरी ५० हजार टनको पीडीओ जारी गरेका छौं । बजारमा खपत बढे अझै ५ हजार टन थप्न तयारी अवस्थामा छौ,’ उनले भने ।
