‘इन्धन र ग्यास मागभन्दा बढी आयातको व्यवस्था गरेका छौँ, चाडपर्वसम्म अभाव हुँदैन’

‘चाडपर्वमा चाहिनेभन्दा बढी ग्यास आएको छ । मासिक ४० देखि ४५ हजार टन ग्यास खपत हुनेमा यसपटक चाडपर्वलाई लक्षित ५० हजार टनको पिडिओ जारी गरेका छौँ । बजारमा  खपत बढे, अझै ५ हजार टन थप्न तयारी अवस्थामा छौँ ।’

भाद्र २८, २०८२

राजु चौधरी

काठमाडौँ — जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थिति र नेपाली सेनाको कर्फ्यु, निषेधाज्ञाले सबै क्षेत्रमा प्रभाव पर्‍यो । बजार बिहान बेलुका खुलेपनि दिउँसो ठप्प जस्तै भयो । सवारीसाधन सञ्चालन नहुँदा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास बुलेट ढुवानीमा पनि समस्या देखियो । ग्यास पसलमा सर्वसाधारणले ग्यास पाएनन् ।

पेट्रोल पम्पमा पेट्रोल र डिजेलको अवस्था, चाडपर्वमा नजिकै आइसकेको अवस्थामा इन्धनको आपूर्ति व्यवस्था, मौज्दातबारे कान्तिपुरकर्मी राजु चौधरीले निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टसँग गरेको कुराकानी :

जेन–जीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले खाद्यवस्तुको आपूर्तिमा केही समस्या देखिएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिमा केही असर पर्‍यो कि परेन ?

पेट्रोलियम पदार्थको हकमा बजारमा कुनै समस्या आएको छैन । आयात, बिक्री वितरण नियमित नै छ । भदौ २५ मा भन्सार सिस्टम डाउन हुँदा केही घण्टा आपूर्तिमा समस्या आयो । ग्यास बुलेट र ट्यांकर भारतीय भूमिमा राख्नुपर्‍यो । अहिले नियमित आयात भइराखेको छ ।

आन्दोलनको क्रममा पेट्रोल पम्पमा सर्वसाधारणको भीड देखियो । केही पम्प बन्द अवस्थामा पनि थियो, किन होला ?

जेन–जीको आन्दोलनमा कुनै पम्पमा क्षति भएको छैन । व्यवसायीले नियमित पेट्रोल, डिजेल र ग्यास उठाएको अवस्था हो । कुनै ठाउँमा केही कारणले सर्वसाधारणको लाइन भएको हुनसक्छ । तर आपूर्तिमा अवरोध भएर होइन । आन्तरिक वितरण प्रणालीमा समस्या छैन । 

मुलुकभर दैनिक कति इन्धन बिक्री हुन्छ । निगमसँग कति परिमाणमा मौज्दात छ ?

मुलुकभर दैनिक औसत पेट्रोल २ हजार किलोलिटर र  डिजेल ४ हजार किलोलिटर बिक्री हुन्छ । शनिबार बन्द हुने हुँदा शुक्रबार माग बढी नै हुन्छ  । तर औसत खपत पेट्रोल दैनिक २ हजार किलोलिटर र डिजेल ४ हजार किलोलिटर नै हो ।  मौज्दातको कुरा गर्दा निगमसँग करिब  १६ हजार किलोलिटर पेट्रोल र ४० हजार किलोलिटर डिजेल मौज्दात छ । अहिलेको मौज्दातले पेट्रोलको माग ८ दिनलाई धान्छ   । डिजेलको १० दिनलाई पुग्छ । आवश्यक पर्दा पेट्रोलियम पाइपलाइनबाट तत्काल ल्याउन सकिन्छ ।  पेट्रोलियम पदार्थमा कुनै समस्या छैन ।

सर्वसाधारणले खाना पकाउने ग्यास नपाएको गुनासो गर्दै आएका छन् । ग्यास अभाव हुनै लागेको हो ? 

भन्सारबाट दैनिक ७५ देखि ८० बुलेट आउने गरेको थियो । भन्सारको सिस्टम  र केही साताअघि भारतीय रिफाइनरी मर्मत हुँदा केही कम आयो । शुक्रबार २१० बुलेट भन्सार पास भएको छ । चाडपर्वलाई लक्षित शनिबार पनि वीरगन्ज नाकाबाट ३४ बुलेट छुटेको छ । यस अर्थमा ग्यासमा कुनै समस्या छैन । चाडपर्वमा समस्या आउँदैन ।

चाडपर्व नजिकै आइसकेको अवस्था छ ।  इन्धन र ग्यास अभाव हुन नदिन निगमले के कस्तो रणनीति अपनाउँछ ?

दुई साताअघि भारतको रिफाइनेरी मर्मत गर्ने क्रममा कम लोड भयो । तर अहिले त्यो अवस्था छैन । सामान्य अवस्थामा आइसकेको छ । निगमले जारी गरेको पिडिओ अनुसार आईओसीको रिफाइनेरीबाट ग्यास लोड भइराखेको छ । जेनजीको आन्दोलनले दुई दिन बुलेट बोटलिङ प्लान्टसम्म जान समस्या भयो । त्यही कारणले बजारमा सामान्य समस्या देखियो । बजारमा ढिलागरी ग्यास पुग्दा उपभोक्ताहरू ग्यास मौज्दात गर्न खोजेको हुनसक्छ । त्यो बाहेक ग्यास अभाव हुने कुनै कारण छैन । 

चाडपर्वमा चाहिनेभन्दा बढी ग्यास आएको छ । मासिक ४० देखि ४५ हजार टन ग्यास खपत हुनेमा यसपटक चाडपर्वलाई लक्षित ५० हजार टनको पिडिओ जारी गरेका छौँ । बजारमा  खपत बढे, अझै ५ हजार टन थप्न तयारी अवस्थामा छौँ ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully