निषेधाज्ञा खुलेसँगै कालीमाटी बजारमा चहलपहल बढ्यो

व्यवसायी भन्छन, ‘धेरै सामान आएकाले तरकारीको भाउ घट्न थालेको छ’

भाद्र २८, २०८२

राजु चौधरी

काठमाडौं —
निषेधाज्ञा र कर्फ्यु हटेपछि कालिमाटी फलफूल तथा तरकारी बजारमा चहलपहल बढेको छ । तरकारी फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडाका अनुसार बिहीबार र शुक्रबारको तुलनामा शनिबार धेरै तरकारी भित्रिएको छ ।

‘ताजा तरकारीसँगै आलु प्याज पनि भित्रिएको छ । चहलपहल पनि बढेको छ,’ खतिवडाले भने, ‘धेरै तरकारी भित्रिएकाले चाँडै बिग्रने धनियाँ, काउलीलगायतको मूल्य घट्ने क्रममा छ ।’



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार शुक्रबार राति १२ बजेदेखि शनिबार बिहान ७ बजेसम्म २ सय १२ टन भित्रिएको थियो । त्यसपछि पनि भित्रिने क्रम जारी नै थियो  ।

‘शनिबार छिमेकी जिल्लाबाट नै धेरै तरकारी आएको छ । बाटोमा रहेको र भन्सार पास भएका तरकारी, फलफूलका गाडी पनि भित्रिएको छ,’ श्रेष्ठले भने, ‘शनिबारदेखि बजार सामान्यजस्तै भएको छ ।’ कालीमाटी तरकारी बजारमा दैनिक साढे ६ सय देखि ७ सय टन तरकारी कालीमाटी बजारमा भित्रिन्छ ।

धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । भारतबाट पनि तरकारी आयात हुन्छ ।

राजु चौधरी चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully