काठमाडौं — प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा उल्लेखनीय क्षति बेहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’ को अवसर प्रदान गरेको विज्ञले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरूले जेन–जीको प्रदर्शन बेथिति, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
निजी क्षेत्रको मनोबल कमजोर भए पनि अब राज्य–सत्तानिकट नभएका व्यवसायीलाई ‘राइज’ गर्न सहज हुने पूर्वअर्थ सचिव रामेश्वर खनालले बताए । पछिल्ला २÷३ वर्षमा भ्रष्टाचारका कारण आर्थिक वृद्धि कम भए पनि आगामी दिनमा त्यस्तो हुने खनालको भनाइ छ ।
‘अब लगानीको वातावरणमा केही सुधार आउने देख्छु । तर धेरै लगानी गर्ने भन्ने देखिन्न किनकि उद्योगीको घरदेखि होटलसम्म क्षति पु¥याएको छ, त्यसैले निजी क्षेत्रको मनोबल कमजोर छ,’ उनले भने, ‘यद्यपि अब सत्तानिकट नभएका व्यवसायीलाई ‘राइज’ गर्न सहज हुनेछ ।’
अब बन्ने अन्तरिम सरकारको ध्यान निर्वाचन, शान्ति र पूर्वाधार पुनर्निर्माणमा हुनुपर्नेसमेत खनालको भनाइ छ । ‘माओवादी द्वन्द्वकालमा उद्योग नै बन्द भएको थियो, त्यो हेर्दा क्रिटिकल पूर्वाधार, विद्युतीय पूर्वाधारमा क्षति पुगेको छैन,’ उनले भने, ‘उत्पादनमूलक क्षेत्रमा धेरै क्षति पुगेको छैन । कृषि क्षेत्र चलिरहेको छ । सेवा क्षेत्रमा पर्यटनबाहेक धेरै बिग्रेको छैन ।’ आर्थिक वृद्धिमै असर नपारे पनि राजस्वमा कमी आउने खनालले जनाए । अन्तरिम सरकारले भ्रष्टाचारका नयाँ मुद्दामामिलासँगै पुनर्निर्माण र नयाँ लगानीकर्ता सिर्जनामा जोड दिने उनको भनाइ छ ।
‘भ्रष्टाचारका मुद्दालाई मात्रै प्राथमिकतामा राख्यौं भने हाम्रो विकास नहुन सक्छ । त्यसैले सबैलाई जोड दिनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रलाई आस जगाउनुपर्छ । पहिलेको जस्तो भ्रष्टाचार हुँदैन भन्ने प्रचार गर्नुपर्छ । अर्थतन्त्रको गतिशीलताका लागि सही सूचना एकदमै आवश्यक छ ।’
पछिल्लो राजनीतिक घटनाक्रमले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको अर्थशास्त्री समीर खतिवडाको टिप्पणी छ । ‘जेन–जी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’ लाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ,’ उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट नेपाललाई निकाल्न प्राप्त भएको अवसर पनि हो ।’
एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना रहेको क्षेत्र भएको उनको भनाइ छ । ‘अर्थतन्त्रको महŒवपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश बिन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ,’ उनले भने, ‘सरकारले अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।’ अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिए ।
जेन–जीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने अर्थशास्त्री खतिवडाले बताए । ‘हामीले ल्याइरहेको विदेशी लगानी कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव ३ प्रतिशत मात्रै हो, त्यो आफैंमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन,’ उनले भने, ‘बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ ।’
