हजारौं हातको सहयोग, सहानुभूति, आँसु र प्रेरणाको बलमा आफूहरू पुनः उभिने अठोट
काठमाडौं– यही भदौ २४ मा प्रदर्शनकारीहरूले गरेको आगजनी, लुटपाटबाट अर्बौ रुपैयाँ बराबरको क्षति बेहोरेका व्यावसायिक घरानाले हजारौं हातको सहयोग, सहानुभूति, आँसु र प्रेरणाको बलमा आफूहरू पुनः फेरि उभिने अठोट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत भाटभटेनी सुपरस्टोर चेनका सञ्चालक मीनबहादुर गुरुङ, उद्योग वणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का निर्वतमान अध्यक्ष ध्रुव थापा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलगायतले धेरै सम्पत्ति नष्ट भए पनि देशप्रतिको सपना र अत्मबल नष्ट नभएको साझा सन्देश दिएका छन् ।
प्रतिष्ठित चेन स्टोर भाटभटेनीका २१ स्टोरमा भएको आगलागी, तोडफोड र चोरीले सञ्चालक मीनबहादुर गुरुङ र उनका कर्मचारीलाई गहिरो पीडामा डुबाएको छ । तर ध्वस्त स्टोर र खरानीमा परिणत भएको सम्पत्तिबीच पनि भाटभटेनी परिवारको मनोबल अझ बलियो बनेर उठ्ने उद्घोष गरेको छ ।
‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन,’ भाटभटेनीले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, ‘आगलागीले केवल भौतिक सम्पत्ति नष्ट भयोे । तर नेपाली समुदायको माया, सहयोग र समर्थनले हाम्रो आत्मबल बढाएको छ ।’ भाटभटेनीमा बिहीबार र शुक्रबार स्थानीय हजारौं सहयोगी हातले स्टोर सफा गर्न मद्दत गरिरहेको भिडियो सामाजिक सञ्जालमा आएका छन् ।
‘तपाईंहरूको शब्द, तपाईंहरूको साथ, तपाईंहरूको माया नै हाम्रो ठूलो बल हो । भाटभटेनी परिवारले पुनर्निर्माणमा ढिलाइ गर्नेछैन । हामी फेरि उभिनेछौं । तपाईंहरूको साथमा, भविष्यलाई अझ उज्यालो बनाउनेछौं,’ फेसबुकमा लेखिएको छ ।
आगलागीपछि देखाइएको सहानुभूति, सहकार्य र समुदायको माया कामदार तथा कर्मचारी परिवारका लागि ठूलो प्रेरणाको स्रोत बनेको कम्पनीले जनाएको छ । शुक्रबारको तथ्यांकअनुसार देशभरका २७ भाटभटेनी शाखामध्ये २१ शाखा आगजनी र तोडफोडबाट प्रभावित बनेको भाटभटेनीका सीईओ पानु पौडेलले बताए । भाटभटेनीमा करिब १० हजार कर्मचारी छन्, जसमध्ये करिब ५ हजार कर्मचारी प्रभावित शाखामा कार्यरत रहेको उनको भनाइ छ । आन्दोलनका कारण उनीहरूको रोजगारी ठूलो संकट आइलागेको छ ।
पोखरामा रहेको अटो सोरुममा आगलागीपछि नाडाका निर्वतमान अध्यक्ष धु्रव थापाले ‘जनताको सहानुभूति नै आफ्नो हौसला भएको बताएका छन् । नाडाका निवर्तमान अध्यक्ष थापा तीन दशकदेखि उद्यमशीलतामा छन् । तर पोखरास्थित सोरुम र घरमा भएको आगलागीले उनलाई स्तब्ध बनाएको छ ।
‘म कुनै राजनीतिक मान्छे थिइनँ । न भ्रष्ट, न त तस्कर,’ थापाले भने, ‘१७ वर्षमै कलेज पढ्दै उद्यम सुरु गरेको थिएँ । आरोह–अवरोह, जोखिम सबै भोग्दै यहाँसम्म आइपुगेको हुँ । नेपालमै सम्भावना धेरै छ भनेर अरूलाई पनि उद्यम गर्न प्रेरित गर्दै आएको छु ।’
सबैभन्दा ठूलो पीडा भने घरमै काम गर्दै आएकी सहयोगी बहिनीलाई जिउँदै आगोमा गुमाउनुपरेको छ । ‘केही क्षणअघि परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक मारिन्छिन् भन्ने कल्पनासमेत गरेको थिइनँ,’ थापाले भने । यस घटनालाई केहीले दाजु बिन्दु थापासँग जोडेर राजनीतिक रङ दिन खोजेकोप्रति ध्रुवले असन्तुष्टि जनाए । ‘दाजु व्यवसायमै सफल भएर राजनीतिमा लाग्नुभयो । उहाँलाई बदनाम गर्न खोजिएको छ,’ उनले भने ।
परिवारको इतिहास नै सामाजिक योगदान र स्वच्छ छविसँग जोडिएको उनको दाबी छ । ‘तपाईंहरूको उत्प्रेरणाले हामीलाई अझ सशक्त भएर अघि बढ्ने हौसला मिलेको छ,’ विपत्तिपूर्ण घडीमा साथ र सहानुभूति प्रकट गर्नेहरूलाई थापाले आभार प्रकट गर्दै भने ।
यता नेपालकै सबैभन्दा धेरै कर तिर्ने चौधरी ग्रुपले भवन जलाउन सकिने तर सपना कसैले पनि जलाउन नसक्ने बताएको छ । प्रदर्शनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले चौधरी घरानामा ठूलो क्षति पु¥याएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । उनले यसलाई कम्पनीको इतिहासकै पीडादायी क्षण भनेका छन् ।
‘परिवर्तन र जवाफदेहिताको मागसहित सुरु भएको आन्दोलनलाई असामाजिक तŒव र बाह्य शक्तिले हिंसात्मक रूप दिएपछि दशकौंको मिहिनेत, त्याग र लगानी केही घण्टामै ध्वस्त भएको छ,’ उनले भने, ‘यस क्रममा अध्यक्ष विनोद चौधरीलाई व्यक्तिगत रूपमा लक्षित गरियो । पारिवारिक घरमा आगजनी गरियो, उद्योग–कारखाना तथा कार्यालयमा क्षति पुर्याइयो र विभिन्न सोरुम लुटपाटमा परे ।’
निराशा र अन्धकारबीच पनि सीजी परिवारको साहस देखिएको निर्वाणले उल्लेख गरे । ‘आगो र अशान्तिका बीच पनि नेतृत्व, प्रबन्धक र कर्मचारीहरूले आफ्नो सुरक्षा जोखिममा राखेर सम्पत्ति जोगाउने, ग्राहकलाई सेवा निरन्तर गर्ने र कम्पनीको बचनलाई जिउँदै राख्ने काम गरे,’ चौधरीले भने ।
‘हामीलाई चोट लागेको छ, हामी हल्लिएका छौं । तर भाँचिएका छैनौं । भवन जलाउन सकिन्छ । तर हाम्रो सपना जलाउन सकिँदैन । सोरुम लुट्न सकिन्छ । तर हाम्रो मूल्य चोर्न सकिँदैन ।’ चौधरी घरानालाई नेपालको सबैभन्दा ठूलो करदातामध्ये एक, ठूलो रोजगारी प्रदायक र राष्ट्रनिर्माणमा अग्रपंक्तिमा रहेको संस्था भन्दै उनले भूकम्प, बाढी वा महामारी जस्ता प्रत्येक संकटमा देशकै लागि अगाडि उभिएको उनले स्मरण गराए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले पनि आक्रमण र आगलागीबाट आफ्नो परिवार प्रभावित भए तापनि आफू र परिवार निराश वा विचलित नभएको प्रस्ट्याएका छन् । ‘आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना गर्दछु । हामी अझै रोजगारी सिर्जना गर्न र लगानीमा प्रतिबद्ध छौ,’ गोल्छाले भने ।
अन्धकारपछि आउने उज्यालोले सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न थप बल प्रदान गरोस् भन्ने उनको आशा छ ।
