कोरला नाकाबाट दसैंका लागि आउन थाले कपडा र विद्युतीय गाडी

भाद्र २८, २०८२

विमल खतिवडा

दसैं नजिकिँदै गर्दा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका ठप्प छन् । असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने पक्की पुल बगाएसँगै रसुवागढी नाका ठप्प बनेको हो । 

अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो गएसँगै तातोपानी नाका पनि सञ्चालनमा आउन सकेको छैन । राजमार्गको डाक्लाङमा पहिरो गएपछि थप समस्या भएको छ । 



यी दुवै नाका दसैंअघि सञ्चालनमा आउने सम्भावना न्यून रहेकै बेला मुस्ताङस्थित नेपाल–चीन जोड्ने कोरला नाकाबाट भने धमाधम सामान भित्रिइरहेको छ । सबै पूर्वाधार तयार पारेर कोरला नाका सञ्चालनमा ल्याइएको मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले बताए । 



‘भदौ २१ देखि भन्सार कार्यालयबाट काम सुरु गरेका हौं,’ खड्काले भने, ‘अहिलेसम्म यस नाकाबाट ३५ वटा विद्युतीय गाडी र लत्ताकपडासहित तयारी सामान बोकेका ३० वटा कन्टेनर नेपाल भित्रिएका छन् ।’ चीनको लिजीसम्म चीनकै कन्टेनरले सामान ल्याउँछन् । त्यसपछि नेपालबाट गएका कन्टेनरले त्यहाँबाट सामान लोड गरेर ल्याउँछन् । 



‘नाका कोरलामै हो, यहाँबाट लिजी ५ सय मिटर दूरीमा पर्छ,’ खड्काले भने, ‘भन्सार कार्यालय भने नेचुङमा छ, जुन ठाउँ ३ हजार ९ सय मिटर उचाइमा पर्छ ।’ यहाँबाट कोरला नाका १४ किलोमिटर दूरीमा रहेको उनले बताए ।



कोरला नाका भने ४ हजार ६ मिटर उचाइमा पर्छ । ‘नेपालबाट सामान लिन गएका कन्टेनर हाई अल्टिच्युठका कारण स्टार्ट रोकिई बीचमै अलपत्र पनि हुने गरेका छन्, एकछिन स्टार्ट बन्द गरेर राख्दा पुनः स्टार्ट गर्न समस्या हुने गरेको छ,’ उनले भने, ‘जसले गर्दा छिटो गन्तव्यमा पुगेर सामान ल्याउन समस्या छ ।’ नाकामा भन्सार कार्यालयको भवन छैन । विद्युतीय गाडी नाकाबाट नेपाल भित्र्याएपछि चार्ज गर्ने ठाउँ नहुँदासमस्या थपिएको छ । 



अहिले दसैंका लागि लत्ताकपडा लिन नेपालबाट दुई सय कन्टेनर चीनतर्फ गएको खड्काले सुनाए । ‘चीनले कति गाडी पारि जान दिन्छ, त्यसअनुसार कन्टेनरले सामान लिएर आउँछन्,’ उनले भने । भदौ २३ मा पहिलो पटक कोरलाबाट दुई वटा कन्टेनर सामान लिएर नेपाल भित्रिएका थिए । ‘ल्हासाबाट पनि यो नाका नजिक पर्ने रहेछ,’ उनले भने, ‘त्यसैले ल्हासा र केरुङका गोदाममा भएका सामान यही नाकाबाट आइरहेको छ, हिउँ परेर समस्या नभए यो नाका बाह्रै महिना नै चलाउन सकिन्छ ।’ 



यता दसैं नजिकिँदै गर्दा तातोपानी नाका सुनसान छ । यो नाका भएर दसैंमा तयारी सामानसँगै स्याउलगायतका फलफूल भित्रने गर्छ । चाडबाडका बेला अघिपछि भित्रने भन्दा कन्टेनरको संख्या बढी हुन्छ ।



दसैंका बेला चहलपल बढी हुन्थ्यो । लत्ताकपडा आउँथ्यो । डेढ महिनादेखि यो नाकाबाट केही पनि नआएको तातोपानी भन्सार कार्यालय, लार्चाका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जनाए । यसको विकल्पका रूपमा कोरला नाकाबाट सामान आइरहेको उनको भनाइ छ । ‘सडक आज बनायो, भोलि बगाइहाल्ने समस्या भयो, जसले गर्दा अहिले नाका सञ्चालन गर्न समस्या छ,’ उनले भने, ‘दिनको साढे ६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुनुपर्नेमा त्यो हुन सकेको छैन ।’ 



तातोपानी भन्सार कार्यालयको चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य २४ अर्ब ४७ करोड रुपैयाँ छ । ‘साउन १ देखि नाका बन्द छ, हामी अड्डा रुँगेर बसिरहेका छौं,’ उनले भने, ‘नाका सुनसान छ, लक्ष्यअनुसार राजस्व संकलन हुने अवस्था छैन ।’ 



चाडबाडको मुखमा व्यवसायीको राम्रै चहलपल हुने रसुवागढी भन्सार नाका यतिबेला सुनसान छ । असार २४ देखि यो नाका खुल्न सकेको छैन । अहिलेको अवस्थामा दसैंअघि नाका खुल्ने स्थिति नरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए ।



‘ल्हेन्दे खोलामा ह्युमपाइप राखेर वारपार गर्न मिल्ने बनाइएको छ, नेपालतर्फ बेलिब्रिज निर्मणका लागि बेस बनाउन ह्युम पाइप राखिएको हो,’ उनले भने, ‘ह्युम पाइपराखिएपछि चीनतर्फ अलपत्र १ सय ६३ जना नेपाल ल्याइएको छ ।’ टिमुरेबाट रसुवागढी नाका जोड्ने सडक भने बनिसकेको छैन । 



चालु आर्थिक वर्षमा रसुवागढी भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य ४० अर्ब १६ करोड रुपैयाँ राखेको छ । साउन र भदौमा राजस्व संकलनको लक्ष्य ७ अर्ब रुपैयां थियो । यी दुई महिनामा केही पनि उठेको छैन । असोजमा मात्र राजस्व संकलनको लक्ष्य साढे ३ अर्ब रुपैया छ । चालु आर्थिक वर्षको तिहारपछि नियमित रूपमा नाका खुलेर सामान आए पनि वर्षभर राखिएको कुल लक्ष्यमा १२ अर्ब कम राजस्व संकलन हुने प्रमुख भट्टराईको भनाइ छ ।

 


विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully