भदौ २३ मा जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले बजारको समग्र आपूर्ति प्रणाली बिग्रिएको छ । नेपाली सेनाको कर्फ्यु, निषेधाज्ञाले बजार आंशिक रूपमा मात्रै सञ्चालन भइराखेको छ । सवारी साधानहरु पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । सवारी साधान सञ्चालन नहुँदा बजारमा खाद्यान्न अभाव हुने चिन्ता थपिएको छ । चाडपर्वमा सरकारले सहुलियत पसल सञ्चालन गर्ने भनेपनि अन्योल छ ।
यही सन्दर्भमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग भएको खाद्यान्नको मौज्दात,सहुलियत पसल सञ्चालनबारे कान्तिपुरकर्मी राजु चौधरीले कम्पनीका प्रमुख कार्यकारी निर्देशक रमेश आचार्यसँग गरिएको कुराकानी :
खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खाद्यान्न मौज्दातको अवस्था कस्तो छ,कति परिमाणमा मौज्दात छ ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २८ हजार टन बढी चामल र ५ सय ५० टन चिनी मौज्दात छ ।
कुन कुन गोदाममा कति/कति परिमाणमा मौज्दात छ ?
प्रदेश अनुसार कोशी प्रदेश ३ हजार १ सय ७९ टन चामल मौज्दात छ । मधेश प्रदेशमा ५ हजार १ सय २४ टन मौज्दात छ । बागमती प्रदेशमा २ हजार ३ सय ८८ टन र गण्डकी प्रदेशमा ९ सय ६० टन चामल मौज्दात रहेको छ । त्यस्तै,लुम्बिनी प्रदेशमा ७ हजार ८ सय ४५ टन र कर्णाली प्रदेशमा ४ हजार ९ सय ९२ टन चामल मौज्दात छ । सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ९९ टनसहित २८ हजार टन बढी नै चामल मौज्दात छ ।
जेन–जीको आन्दोलनको लहान गोदामबाट खाद्यान्न लुटियो भन्नेछ । कुन खाद्यान्न कति परिमाणमा लुटियो ?
लहानको गोदाममा चामल,चिनी,केही मात्रामा धान लुटिएको छ । त्यस्तै,जुटको बोरा पनि लुटिएको अवस्था छ । गोदामबाट चामल ८ सय १४ टन,चिनी ३ सय २२ टन र ५ टन धान लुटिएको अवस्था हो । ९८ हजार ८ सय १५ पिस जुटका बोरा लुटियो । रकमको हिसाबमा करिब १० करोड ९१ लाखको लुटपाट भएको छ । भौतिक संरचनाको कुरा गर्दा कार्यालय,गाडी,मोटरसाइकलमा पनि आगो लागेको छ ।
निजी उद्योगी व्यवसायीले कम्तीमा एक महिनालाई खाद्यान्न मौज्दात रहेको बताउँदै गर्दा खाद्यमा भएको मौज्दातले सर्वसाधारणको मागलाई कति दिन,महिनासम्म धान्न सक्छ ?
नेपालमा खुल्ला सीमा भएकाले वार्षिक खपत यति नै हो भनेर यकिन गर्न गाह्रो छ । तथापि खाद्यको मुख्य काम मूल्यस्थिरीकरण र बजारीस्थिरीकरण गर्ने हो । निजी क्षेत्रले मूल्य बढाएको अवस्थामा त्यसलाई नियन्त्रण गर्न बफरस्टक हामीसँग छ । खाद्यसँग भएको स्टकले डेढ महिनासम्म बफर गर्न सकिन्छ ।
चाडपर्व पनि नजिकै आइसकेको छ । खाद्यान्न अभाव हुने सम्भावना छ कि छैन ?
अभाव हुने सम्भावना देखिँदैन । निजी क्षेत्रका साथीहरुसँग छलफल गर्दा उहाँहरुले पर्याप्त मौज्दात रहेको बताएका छन् । ठूला चामल मिलहरूमा पनि धानको मौज्दात पर्याप्त नै छ । सरकारले तोकेको खाद्य सुरक्षा भण्डारण र सार्क फुड बैंकमा पनि राख्नुपर्ने मौज्दात राखिएकै छ । त्यसकारण आउँदै गरेको चाडपर्वमा खाद्यान्न अभाव हुने देखिँदैन ।
आसन्न चाडपर्वका लागि भदौ ३० देखि मुलुकभर सहुलियत पसल सञ्चालन गर्ने निर्णय भएको थियो । अब सहुलियत पसल सञ्चालन हुन्छ कि हुँदैन ?
खाद्यले १ सय ११ ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेका थियौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पनि त्यही अनुसार पत्राचार भएको थियो । यसपालि विशेषगरी दुर्गम (जहाँ निम्न वर्ग र खाद्यान्न अभाव हुन्छ) त्यस क्षेत्रमा केन्द्रित गर्ने योजना बनाएका थियौँ । तथापि पछिल्लो परिस्थितिले मुख्य सहरमा केही समस्या नै देखिन्छ । अहिलेकै अवस्था कायम रहे काठमाडौँ,पोखरा,वीरगन्ज,विराटनगर,जनकपुरलगायत ठाउँमा सहुलियत पसल सञ्चालन गर्न सक्ने अवस्था रहला जस्तो लाग्दैन । तर दुर्गम क्षेत्र मुगु,डोल्पा,हुम्ला, जुम्ला,जाजरकोट,कालिकोट लगायतमा हिजो/आज पनि कारोबार भई नै राखेको छ । त्यस क्षेत्रमा सहुलियत पसल निर्बाध रूपमा सञ्चालन हुन्छ । सुगम क्षेत्रमा आजकै अवस्था कायम रहे सकिँदैन । दुईतीन दिनमा साम्य भए हामी तयारी अवस्थामै छौँ ।अवस्था सहज भए तत्काल सञ्चालन गर्न सक्छौँ ।
