कोरला नाकाबाट दसैंका लागि आउन थाले लत्ताकपडा र विद्युतीय गाडी

तातोपानी र रसुवागढी नाका अझै ठप्प

भाद्र २७, २०८२

विमल खतिवडा

काठमाडौं– दसैं नजिकिँदै गर्दा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका ठप्प छन् । असार २४ गते लेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने पक्की पुल बगाएसँगै यो नाका ठप्प बनेको हो । त्यस्तै अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरो गएसँगै तातोपानी नाका चल्न सकेको छैन ।

उक्त राजमार्ग अन्तर्गत नै पर्ने डाक्लाङमा पहिरो गएपछि थप समस्या भएको छ । यी दुबै नाका दसैं अघि सञ्चालनमा आउने सम्भावना न्यून रहेकै बेला मुस्ताङस्थित नेपाल–चीन जोड्ने कोरला नाकाबाट भने धमाधम सामान भित्रिरहेको छ । सबै पूर्वाधार तयार पारेर कोरला नाका सञ्चालनमा ल्याइएको मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले बताए ।



‘भदौ २१ गतेदेखि भन्सार कार्यालयबाट काम सुरु गरेका हौं,’ उनले भने, ‘अहिलेसम्म यो नाकाबाट ३५ वटा विद्युतीय गाडी र लत्ताकपडा सहित तयारी सामान बोकेका ३० वटा कन्टेनर नेपाल भित्रिएका छन् ।’ चीनको लिजिसम्म चीनकै कन्टेनरले सामान ल्याउँछन् । त्यसपछि नेपालबाट गएका कन्टेनरले त्यहाँबाट सामान लोड गरेर ल्याउँछन् ।



‘नाका कोरलामै हो, यहाँबाट लिजी ५ सय मिटर दूरीमा पर्छ,’ उनले भने, ‘भन्सार कार्यालय भने नेचुङमा छ, जुन ठाउँ ३ हजार ९ सय टिमरको उचाईमा पर्छ ।’ यहाँबाट कोरला नाका १४ किलोमिटर दूरीमा रहेको उनले बताए । कोरला नाका भने ४ हजार ६ मिटर उचाईमा पर्छ । ‘समस्या नेपालबाट सामान लिन गएका कन्टेनर हाई अल्टिच्युटकाकारण स्टार्ट नभई विचमै रोकिने गरेका छन्, एकछिन स्टार्ट बन्द गरेर राख्दा पुनः स्टार्ट गर्न समस्या हुने गरेको छ,’ उनले भने, ‘जसले गर्दा छिटो गन्तव्यमा पुगेर सामान ल्याउन समस्या छ ।’ नाकामा भन्सार कार्यालयको भवन छैन । विद्युतीय गाडी नाकाबाट नेपाल भित्राएपछि चार्ज गर्ने ठाउँ नहुँदा समस्या थपिएको छ ।





‘अहिले चार्जीङ स्टेसन राख्ने तयारी हुँदै छ,’ उनले भने, ‘जोमसोम हुँदै विद्युतीय गाडी पोखरा, काठमाडौं लिएर जान ठाउँ–ठाउँमा चार्जिङ स्टेसन चाहिन्छ ।’ अहिले दसैंका लागि लत्ताकपडा लिन नेपालबाट दुई सय कन्टेनर चीनतर्फ गएको उनले सुनाए । ‘चीनले कति गाडी पारी जान दिन्छ, त्यो अनुसार कन्टेनरले सामान लिएर आउने हो,’ उनले भने, ‘फेरि चीनसँग राम्रो सहजीकरण पनि भइसकेको छैन, भाषाको पनि समस्या छ ।’



भदौ २३ मा पहिलो पटक कोरलाबाट २ वटा कन्टेनर सामान लिएर नेपाल भित्रिएका थिए । हाइअल्टिच्युटको समस्याले भने गारो बनाएको उनले सुनाए । ‘ल्हासाबाट पनि यो नाका नजिक पर्ने रैछ,’ उनले भने, ‘त्यसैले ल्हासा र केरुङका गोदाममा भएका सामान यही नाकाबाट आइरहेको छ, हिउँ परेर समस्या नभए यो नाका बाह्रै महिना नै चलाउन सकिन्छ ।’





यता दसैं नजिकिँदै गर्दा तातोपानी नाका सुनसान छ । यो नाका भएर दसैंमा तयारी सामानसँगै स्याउ लगायतका फलफूल भित्रने गर्छ । चाडबाडका बेला अघिपछि भन्दा भित्रने कन्टेनरको संख्या बढी हुन्छ । दसैंका बेला चहलपल बढी हुन्थ्यो । लत्ताकपडा आउँथ्यो । डेढ महिनादेखि यो नाकाबाट केही पनि नआएको तातोपानी भन्सार कार्यालय लार्चाका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले बताए ।



‘सुरुमा फलफूल बाहेक केही आएको थिएन, अहिले यो पनि बाटोका कारण आउन बन्द छ,’ उनले भने, ‘नाका ठप्प छ, कार्यालय मात्र चलेको छ, आउने सामान आएको छैन ।’ सडक बनाउन पटक–पटक प्रयास गर्दा पनि नभएको उनले सुनाए । अहिले यसको विकल्पका रुपमा कोरला नाकाबाट सामान आइरहेको उनको भनाइ छ । 



‘सडक आज बनायो, भोलि बगाई हाल्ने समस्या भयो, जसले गर्दा अहिले नाका सुचारु गर्न समस्या छ,’ उनले भने, ‘दैनिक साढे ६ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन हुनुपर्नेमा त्यो हुन सकेको छैन ।’ यो भन्सार कार्यालयको चालु आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य २४ अर्ब ४७ करोड रुपैयाँ छ । ‘साउन १ देखि नाका बन्द छ, हामी अड्डा रुगेर बसिरहेका छौं,’ उनले भने, ‘नाका सुनसान छ, लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था छैन ।’



चाडबाडको मुखमा व्यवसायीको राम्रै चहलपल हुने रसुवागढी भन्सार नाका यतिबेला सुनसान छ । असार २४ गतेदेखि यो नाका खुल्न सकेको छैन । अहिलेको अवस्थामा दसैंअघि नाका खुल्ने स्थिति नदेखेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । ‘ल्हेन्दे खोलामा ह्युम पाइप राखेर वारपार गर्न मिल्ने बनाइएको छ, नेपालतर्फ बेलिब्रिज निर्माणका लागि बेस बनाउन ह्युम पाइप राखिएको हो,’ उनले भने, ‘ह्युम पाइपराखिएपछि चीनतर्फ अलपत्र भएर बसेका १ सय ६३ जना नेपाल ल्याइएको छ ।’ टिमुरेबाट रसुवागढी नाका जोड्ने सडक भने बनिसकेको छैन ।





‘दसैंका बेला यो नाकाबाट सबैभन्दा धेरै आउने स्याउ हो, त्यसपछि जुत्ता, चप्पल, लत्ताकपडा आउने गर्थ्यो,’ उनले भने, ‘फेरि चीनबाट नेपाल आउने कुल विद्युतीय गाडीमध्ये करिब ६५ प्रतिशत यहीबाट आउने हो, तर अहिले यी सबैको आयात ठप्प छ ।’ जलविद्युत् आयोजनाका सामान पनि यही नाकाबाट आउने गर्थ्यो ।



‘अहिलेको दसैंमा यो नाकाबाट केही नआउने भएको छ,’ उनले भने, ‘सधैं चाडबाड आउने बेला भिडभाड हुने नाका अहिले सुनसान छ ।’ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य ४० अर्ब १६ करोड रुपैयाँराखेको छ । साउन र भदौमा राजस्व संकलनको लक्ष्य ७ अर्ब रुपैयाँ थियो । यी दुई महिनामा केही पनि उठेको छैन । असोजमा मात्र राजस्व संकलनको लक्ष्य साढे ३ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको तिहारपछि नियमित रूपमा नाका खुलेर सामान आए पनि वर्षभर राखिएको कुल लक्ष्यमा १२ अर्ब कम राजस्व संकलन हुने प्रमुख भट्टराईको भनाइ छ ।


विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully