शेखर गोल्छाले भने- म विचलित भएको छैन, नयाँ पुस्ताको सपना पुरा होस्

भाद्र २७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाले जेन-जीले गरेको प्रर्दशनका क्रममा आफ्नो उद्योग र निजी निवासमा आगलागी तथा तोडफोड भएपनि आफू निराश र बिचलित नभएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गोल्छाले आफू र आफ्नो परिवार विचलित नभएको बताएका छन् । देशमा सरकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको सपना पूरा होस् भन्ने उनको कामना छ।



'देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् ।  केही व्यवसायी माथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो। तर म र मेरो परिवार निरास वा विचलित भएको छैन,' उनले भनेका छन्,'आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।'



अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् भन्ने उनको कामना छ।


कान्तिपुर

Link copied successfully