उद्योगीका निजी आवासदेखि व्यावसायिक संघसंस्थाका भौतिक संरचनामा तोडफोड र आगजनी, पूर्ण विवरण आउन समय लाग्ने
काठमाडौं — गत मंगलबार प्रदर्शनका क्रममा मुलुकभर निजी लगानीका धेरै आवास, उद्योग, व्यवसाय, संघसंस्थालगायतमा तोडफोड तथा आगजनी भएको छ । प्रदर्शनका क्रममा उद्योगीका निजी आवासदेखि व्यावसायिक संघसंस्थाका भौतिक संरचनामा ठूलो संख्यामा क्षति पुगेको सरोकारवाला बताउँछन् । देशका विभिन्न स्थानमा रहेका व्यावसायिक प्रतिष्ठानमा केकस्तो क्षति पुगेको छ, यहाँ चर्चा गरिएको छ ।
यही बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकका ६६ वटा शाखा र एक्सटेन्सन काउन्टरमा तोडफोड तथा आगजनी भएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । तीमध्ये २५ शाखा कार्यालय र ४१ वटा एक्सटेन्सन काउन्टर छन् ।
‘सीधै बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरमा आगजनी तथा तोडफोड भएका घटना कम छन् । सरकारी कार्यालय मालपोत, यातायात, राजस्व कार्यालयलगायत स्थानमा रहेका बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरमा क्षति पुगेको छ,’ शर्माले भने, ‘सरकारी तथा निजी संस्थामा आगजनी तथा तोडफोड हुँदा तिनका छेउमा रहेका बैंकका शाखा, काउन्टर र एटीएन बुथमा क्षति पुगेको देखिन्छ ।’
बिहीबारसम्म वाणिज्य बैंकहरूका ४६ वटा एटीएम बुथमा तोडफोड तथा आगजनी बैंकको संघको तथ्यांक छ । यति धेरै शाखा र एटीएम बुथमा क्षति पुगे पनि हालसम्म मानवीय क्षति, नगद चोरी तथा लुटपाटका घटना नभएको प्रमुख कार्यकारी अधिकृत शर्माले जनाए । बैंक र तिनमा रहेको नागरिकको बचत सुरक्षित रहेको शर्माको दाबी छ ।
बिहीबारदेखि बैंक तथा वित्तीय संस्थाका सीमित शाखा खुले पनि ग्राहकको चाप निकै कम देखिन्छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले सेवा मागका आधारमा सीमित शाखामार्फत सेवा दिइरहेका छन् । तर ग्राहक भने धेरै नआएको बैंकरहरूको भनाइ छ । कर्फ्यूका कारण आवतजावतमा समस्या भएकाले अत्यावश्यकबाहेक ग्राहक बैंकमा नआएको उनीहरूको भनाइ छ ।
राष्ट्र बैंकले पनि सूचनामार्फत बैंक तथा वित्तीय संस्थालाई वित्तीय सेवा निरन्तर राख्न र आफ्नो बैंकका कुन–कुन शाखाबाट के–के वित्तीय सुविधा उपलब्ध भइरहेको छ, त्यसको जानकारी बैंकको वेबसाइटमा राख्न निर्देशन दिएको छ ।
बुधबारसम्म धेरै बैंकका एटीएम सेवा पनि बन्द थिए । बिहीबार धेरै बैंकका एटीएम खुला रहेको नेपाल बैंकर्स संघले जनाएको छ । सोमबारसम्म २० वटा वाणिज्य बैंकका ६० शाखा तथा एक्सटेन्सन काउन्टर र ३२ एटीएममा क्षति पुगेको बताइएको छ ।
बैंक तथा वित्तीय संस्थाले सुवा सुरु गरेका छन् । काठमाडौं उपत्यकामा केही सीमित शाखा कार्यालय र उपत्यकाबाहिर स्थानीय प्रशासनले दिन सक्ने सुरक्षा समेतका आधारमा बैंकिङ सेवा सुरु भएको हो ।
उपत्यकाबाहिर स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वयन गरेर सुरक्षित रूपमा सेवा दिन भनिएको बैंकर्स संघले जनाएको छ ।
कर्मचारीलाई बिहान १० बजे कार्यालय पुगिसक्न र बेलुका ५ देखि ७ बजेको समयमा घर फर्किने गरी व्यवस्था गर्न भनिएको छ । विद्युतीय भुक्तानी डिजिटल बैंकिङ सेवामा भने कुनै समस्या नरहेको संघको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाका शाखा खेलेसँगै विद्युतीय भुक्तानी (क्यूआर, मोबाइल बैंकिङ आदि) मा समस्या नरहेको र सेवा प्रवाह भइरहेको राष्ट्र बैंकको भनाइ छ ।
बिहीबारदेखि खुलेका शाखा, एटीएम काउन्टर र विद्युतीय भुक्तानीमा समस्या नरहेको राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले बताए । ‘बैंकहरूलाई सुविधाअनुसार शाखा तथा एटीएम काउन्टर सञ्चालन गरेर सेवा दिन र आफूले प्रदान गर्ने सेवाको जानकारी वेबसाइटमा राख्न पनि भनेका छौ,’ न्यौपानेले भने, ‘विद्युतीय भुक्तानीका माध्यमलाई पनि सक्रिय हुन भनेका छौं । यसकारण अहिलेसम्म बैंकिङ कारोबारमा कुनै समस्याको जानकारी प्राप्त भएको छैन ।’
विद्युतीय भुक्तानीमा समस्या नरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पनि जनाए । ‘अघिल्ला दिनमा रोकिएका सबै चेकको क्लियरिङ बिहीबार भएको छ । क्यूआर, मोबाइल बैंकिङलगायतमा पनि समस्या छैन,’ उनले भने, ‘बैंकहरूले शाखा खोलेका छन् तर ग्राहक खासै छैनन् ।’
राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाले समस्या नभएको बताए पनि बिहीबार बिहान खुद्रा व्यवसायीले क्यूआरमार्फतको भुक्तानी अस्वीकार गरेको चर्चा थियो । अघिल्ला दिनमा बैंकका शाखासँगै एटीएम काउन्टर बन्द रहेकाले व्यवयासीले अनलाइन भुक्तानीमा आनाकानी गरे पनि अहिले त्यो समस्या नरहेको कोइरालाले बताए । यो सिस्टममा समस्या भएकाले भन्दा पनि बैंक र एटीएम बन्द भएकाले व्यवसायीले त्यसो गरेको हुन सक्ने उनको प्रस्टोक्ति छ ।
प्रदर्शनका क्रममा धेरै भौतिक संरचनामा क्षति पुगे पनि त्यसको यकिन विवरण आएको छैन । क्षति भएका सम्पत्तिमध्ये पनि कतिको बिमा गरिएको छ, टुंगो छैन । बिहीबारसम्म बिमा कम्पनी खुलेका छैनन् । यसकारण क्षतिमध्ये कतिको बिमा भएको र कति रकमको दाबी परेको छ भन्ने यकिन तथ्यांक छैन ।
बिमा प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै परेका दाबी छिटो पर्छ्योट गर्न र दाबीको तथ्यांक आफूलाई पठाउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । ‘यही भदौ २३ देखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई दृष्टिगत गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्योट गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ प्राधिकरणले जारी गरेको निर्देशनमा उल्लेख छ ।
सिंहदरबारलगायत कुनै पनि सरकारी कार्यालयको बिमा गरिएको छैन । यसरकारण पूर्वाधारमा क्षति ठूलो भए पनि निकै कम सम्पत्तिका मात्र बिमा रहेकाले दाबी धेरै नआउने बिमा कम्पनीहरूको आकलन छ । बिहीबार भौतिक रूपमा बिमा कम्पनी नखुले पनि इमेलमार्फत दाबी आउन थालेको बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।
‘क्षतिको बिमा दाबी आउन थालेको छ । तर निकै प्रारम्भिक भएकाले त्यसको कम्पाइल गर्न सकिएको छैन । कम्पाइल गर्ने काम भइरहेकाले एकदुई दिनमा भन्न सकिने एउटा तथ्यांक निकाल्न सकिएला,’ क्षेत्रीले भने ।
प्रदर्शनकारीले करिब आधा दर्जन बढी शैक्षिक संस्थाहरूमा पनि आगजनी तथा तोडफोड गरेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोक भण्डारीका अनुसार खुमलटार र बाँसबारीस्थित युलेन्स, पुरानो बानेश्वरस्थित ग्लोबल कजेल अफ म्यानेजमेन्ट, कालोपुलस्थित जेभियर इन्टरनेसनल, कुपन्डोलस्थित नाइटिङ्गेललगायत शैक्षिक संस्थामा आगजनी तथा तोडफोड गरिएको छ । यिनमा
के–कति रकम बराबरको क्षति भएको भन्ने विवरण आइनसकेको महासचिव भण्डारीले बताए ।
मुलुकभर रहेका भाटभटेनी सुपरमार्केटमा आगजनी तथा लुटपाट भएको छ । काठमाडौं उपत्यकासँगै मुलुकका मुख्य सहरमा रहेका भाटभटेनी सुपरमार्केटमा आगजनी तथा लुटपाट भएको हो । जसअनुसार देशभर रहेका भाटभटेनीका १२ स्टोरसहित भवन नष्ट, ९ भवनमा तोडफोड एवं लुटपाट भएको र तिनमा सामान्यदेखि पूर्ण रूपमा क्षति पुगेको सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले बताए ।
टंगल, महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदाम, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका गरी १२ शाखा भवनसहित पूर्ण रूपमा ध्वस्त बनेका छन् । कलंकी, ठिमी, बलाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र बालाजु स्टोरमा तोडफोड र लुटपाट भएको उनको भनाइ छ । टोखा, सातदोबाटो, अनामनगर, सनागाउँ, त्रिपुरेश्वर–यूडब्ल्यूटीसी, पाटन र नेपालगञ्ज शाखा सुरक्षित रहेको जनाइएको छ । भाटभटेनी व्यवस्थापनले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको पनि पौडेलले बताए ।
कोशीमा रहेको भाटभटेनीका बिर्तामोड, दमक, विराटनगर, धरानमा रहेका स्टोर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । हेटौंडा, पोखरा र भरतपुरका स्टोर पनि पूर्ण रूपमा क्षति भएका छन् । ती स्टोरमा रहेका सामान मात्रै नभएर भवनसमेत काम लाग्ने अवस्थामा नरहेको उनको भनाइ छ ।
काठमाडौं उपत्यकामा बालुवाटारमा रहेको मुख्य गोदाम, टंगालको सबैभन्दा पुरानो स्टोर, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीमा रहेको स्टोर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
हालसम्मका विवरण अनुसार प्रभावित १२ शाखा मुख्य कारोबार गर्ने शाखा रहेको सीईओ पौडेलले जनाए । भाटभटेनीका सबै शाखाबाट औसत कारोबार साढे १० करोड रुपैयाँ हुने गरेको पौडेलले बताए । भाटभटेनीमा करिब १० हजार नेपाली काम गर्छन् । त्यसमध्ये तोडफोड र आगजनीमा परेका शाखामा करिब ५ हजार कर्मचारी कार्यरत थिए ।
अटोमोबाइल बजारमा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का एक पदाधिकारीका अनुसार कम्तीमा १३ वटा मोटर ब्रान्डका डिलर तथा सोरुममा तोडफोड गरिएको छ । बिक्रीका लागि राखिएका दर्जनौं गाडीमा आगजनी गरिएको छ ।
शुक्रबारदेखि विभिन्न सोरुम र गाडीमा भएको क्षतिको विवरण संकलन सुरु गरिने नाडाका महासचिव सुरेन्द्र उप्रेतीले बताए । प्रारम्भिक तथ्यांकअनुसार, सीजीको थापाथली र ढुंगेअड्डास्थित सोरुम तथा त्यहाँ रहेका गाडी सम्पूर्ण रूपमा आगजनीबाट नष्ट भएका छन् ।
सिप्रदी र लक्ष्मी हुन्डाईका शोरुममा समेत आगजनी र गाडीमा क्षति पुगेको छ । त्यसैगरी महिन्द्रा, सुजुकी, केवाईसी, जीओन र लिप मोटर आदि ब्रान्डका गाडी पनि क्षतिको सूचीमा परेको महासचिव उप्रेतीले जनाए ।
काठमाडौंपछि पोखरामा समेत अटो व्यवसाय प्रभावित भएको प्रारम्भिक सूचना आएको छ । कति संख्यामा क्षति भएको छ र त्यसबाट कति रुपैयाँ बराबरको नोक्सानी पुगेको छ भन्नेबारे नाडाले शुक्रबार कार्यसमिति बैठक बसेर आधिकारिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसैबीच नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोशिएसन (नाइमा) ले निषेधाज्ञा र कफर््युका कारण बुधबारसम्म जानकारी लिन नसकिएको जनाएको छ । नाइमाले थापाथली र कलंकी क्षेत्रमा सबैभन्दा धेरै अटो डिलरमा क्षति पुगेको जनाउदै विवरण संकलनको काम चाडै थालिने भनेको छ ।
सीजी होल्डिङ्सका एक उच्च अधिकारीका अनुसार थापाथलीमा रहेको गाडी सोरुम, सतुंगलको सोरुम प्रदर्शनकारीले जलाएका छन् । त्रिपुरेश्वरमा रहेको सोरुमको सिसा फुटाइएको छ । सबैतिरबाट आर्थिक क्षतिको संकलन भइरहेको चौधरी ग्रुपले जनाएको छ ।
काठमाडौंसहित देशभरका होटल व्यवसायमा पनि ठूलो क्षति पुगेको छ । काठमाडौंका चार वटा पाचतारे होटलसहित कम्तीमा दर्जन होटलमा तोडफोड र आगजनी भएको होटल संघ नेपाल (हान) ले जनाएको छ । मुख्य क्षतिग्रस्त होटलमध्ये काठमाडौंको हिल्टन, वर्णवास, ह्यात र चन्द्रागिरि रिसोर्टको बेस स्टेसन छन् ।
सबैभन्दा ठूलो नोक्सानीमा हिल्टन होटलमा छ । शंकर ग्रुपले केही महिनाअघि सञ्चालनमा ल्याएको हिल्टनमा ८ अर्ब लगानी छ । होटलमा नौ वटा बैंकले कम्तीमा ५ अर्ब रुपैयाँ बराबरको वित्तीय लगानी गरेको शंकर गुप्रका एक निर्देशकले बताए । आन्दोलनपछि होटलले सञ्चालन तत्काल रोकेको छ ।
काठमाडौंबाहिर पोखरामा होटल तथा रिसोर्टमा क्षति भएको छ । पोखराको वर पिपल, बगैचा, सरोवरलगायत होटलमा प्रदर्शनकारीले गरेको तोडफोड तथा आगजनीले क्षति पुगेको छ ।
