यी दुई कार्यालयमा मात्रै प्रदर्शनकारीले क्षति नपुर्याएकोसमेत भन्सार विभागले जनाएको छ ।
मुलुकभरका भन्सार कार्यालयमध्ये वीरगन्ज र कृष्णनगरमात्रै आंशिक रूपमा सञ्चालनमा आएको छन् ।
यी दुई कार्यालयमा मात्रै प्रदर्शनकारीले क्षति नपुर्याएकोसमेत भन्सार विभागले जनाएको छ ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रमका कारण बुधबारसम्म अन्तर्राष्ट्रिय व्यापार ठप्प रहेको विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए । बिहीबार वीरगन्ज र कृष्णनगर आंशिक रूपमा सञ्चालनमा आएको विभागले जनाएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बिहीबार पेट्रोलियम पदार्थका ४४ ट्यांकर र ४२ वटा ग्यासको बुलेटसहित औषधिको कच्चा पदार्थ बोकेको एउटा मालवाहक गाडीको जाँचपास गरिएको बताए । सुरक्षा निकायको निगरानीमा जाँचपास गरेको उनको भनाइ छ । यस्तै ८२ वटा खाली गाडी भारततर्फ पठाएकोसमेत उनले बताए ।
'हाम्रो पोर्टमा आएर बसेका खाली गाडीहरू भारत पठायौं,' उनले भने, 'कर्फ्यु छँदैछ बिहीबार अत्यावश्यक सामानको मात्रै जाँचपास गर्यौँ । शुक्रबार बिहानदेखि तरकारीको गाडी पनि छोड्छौं ।' कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणिन्द्र खतिवडाले बिहीबार हवाई इन्धनका तीन वटा ट्यांकर जाँचपास गरिएको बताए । 'बुधबारसम्म कार्यालयसँगै सबै सेवा बन्द थियो, बिहीबार हामीले कार्यालय खोल्यौं र भैरहवा एयरपोर्ट जाने तीन वटा ट्यांकर जाँचपास गरेर पठाएका छौं,' उनले भने ।
भारतबाट मालवाहक सवारी नआएपनि खाली गाडीहरू भने भारत पठाइरहेको उनले सुनाए । सामान आएको र व्यवसायीले स्वघोषणा गरेको खण्डमा सबैखाले सामानको जाँचपास गरिने खतिवडाले बताए ।
'अहिले वीरगन्ज र कृष्णनगर भन्सार कार्यालय मात्रै राम्रो रहेको सुनिरहेका छौं, देशभरका विवरण आउन बाँकी छ,’ बर्तौलाले भने, 'देशभरका भन्सार कार्यालयहरूमा केहीमा तोडफोड केहीमा आगजनी र केहीमा तोडफोडसहित आगजनी भएको छ ।’ यसअघि नै चीनसँग जोड्ने तातोपानी र रसुवागढी नाका प्राकृतिक विपत्तिका कारण बन्द रहेको समेत उनले सुनाए ।
