बैंकका सीमित शाखा खुला, ग्राहकको चाप कम 

हिजोसम्म धेरै बैंकका एटीएम सेवा पनि बन्द थिए । आज धेरै बैंकका एटीएम खुला रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

भाद्र २६, २०८२

कान्तिपुर सं‌वाददाता


आजदेखि बैंक तथा वित्तीय संस्थाका सिमित शाखा खुले पनि ग्राहकको चाप निकै कम रहेको देखिन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले सेवा मागका आधारमा सीमित शाखामार्फत सेवा दिइरहेका छन् । तर, ग्राहकहरू भने धेरै नआएको बैंकहरूले जनाएका छन् ।

निषेधाज्ञाका कारण आवतजावतमा समस्या भएकाले अत्यावश्यकभन्दा बाहेक ग्राहकहरू बैंकमा नआएको उनीहरूको भनाइ छ । राष्ट्र बैंकले पनि सूचनामार्फत बैंक तथा वित्तीय संस्थालाई संस्थालाई वित्तीय सेवा सञ्चालन राख्न र आफ्नो बैंकको कुन-कुन शाखाबाट के-के वित्तीय सुविधा उपलब्ध भइरहेको छ  त्यसको जानकारी बैंकको वेबसाइटमा राख्न निर्देशन दिएको छ । 





हिजोसम्म धेरै बैंकका एटीएम सेवा पनि बन्द थिए । आज धेरै बैंकका एटीएम खुला रहेको नेपाल बैंकर्स संघले जनाएको छ । सोमबारसम्म २० वटा वाणिज्य बैंकहरुको करिब ६० वटा शाखा तथा एक्सटेन्सन काउन्टर र ३२ वटा जति एटीएममा क्षति पुगेको बताइएको छ ।



आजदेखि बैंक तथा वित्तीय संस्थाले सेवा सुरु गरेका छन् । काठमाडौं उपत्यकामा केही सीमित शाखा कार्यालय र उपत्यका बाहिर स्थानीय प्रशासनले दिनसक्ने सुरक्षासमेतका आधारमा बैंकिङ सेवा सुरु भएको हो ।





त्यस्तै उपत्यका बाहिर स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वयन गरेर सुरक्षित रूपमा सेवा दिन भनिएको बैंकर्स संघले जनाएको छ । कर्मचारीलाई बिहान १० बजेट कार्यालय पुगिसक्न र बेलुका ५ देखि ७ बजेको समयमा घर फर्कर्ने गरी व्यवस्था गर्न भनिएको छ । विद्युतीय भुक्तानी डिजिटल बैंकिङ सेवामा भने कुनै समस्या नरहेको संघले जनाएको छ ।।


कान्तिपुर

Link copied successfully