प्रदर्शनमा युवा मारिएपछि स्तब्ध निजी क्षेत्र

लामो समयदेखिको शिथिल अर्थतन्त्रमा बिस्तारै सुधार देखिएको बेला फेरि निम्तियो ठूलो घटना, सुधारको लय बिग्रिने चिन्ता जेन–जीको प्रदर्शनमाथि बल प्रयोग नगर्न र उनीहरूका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Private sector shocked after youth killed in protest

What you should know

काठमाडौँ — सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जीको आन्दोलनमा सरकारले गरेको दमनबाट सिर्जित असहज परिस्थति देखेर निजी क्षेत्र स्तब्ध बनेको छ ।

सोमबारको दुःखद घटनाले सम्पूर्ण नेपालीको हृदयलाई गहिरो पीडा दिएको भन्दै निजी क्षेत्रले सरकारको यस्तो कदमको घोर भर्त्सना गरेको छ । आफ्नो आवाज र अधिकारका लागि अग्रसर भई सडकमा ओर्लेको जेन–जीलाई सरकारले दमन गरी बल प्रयोग गर्न नहुने र यसले समाजमात्र नभई अर्थतन्त्र पनि नराम्ररी प्रभावित भएको निजी क्षेत्रको स्पष्टोक्ति छ । 

अर्थतन्त्रका बाह्य सूचक सबल बनिरहेको र आन्तरिक सूचकमा पनि बिस्तारै सुधारका संकेत देखिइरहेका बेला मुलुकमा सोमबार दुःखद घटना हुन पुगेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘यस घटनाप्रति म दुःख व्यक्त गर्दछु । यसले लामो समयदेखि शिथिल रहेको अर्थतन्त्रमा सुधारको गति बढाउनुको साटो लगानीको वातावरण थप बिग्रने खतरा बढाएको छ,’ उनले भने, ‘भोलिका दिनमा यो अवस्था आउन नदिन सरकारले जेन–जी पुस्ताका जायज माग सम्बोधन गरेर वार्तामार्फत सबै समस्याको समाधान निकाल्न अनुरोध गर्दछु ।’ साथै जेन–जी पुस्तालाई पनि संयमित भएर आफ्ना मागहरू राख्न र शान्तिपूर्ण रूपमा अघि बढ्न उनले आग्रह गरे । 

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले सोमबारको दुःखद घटनाले सम्पूर्ण नेपालीको हृदयमा गहिरो पीडा दिएको बताइन् । ‘आफ्नो अधिकारका लागि अग्रसर भई लडिरहेका जेन–जी पुस्ताका कलिला भाइबहिनीहरूले जीवन गुमाउनुपरेको खबर सुन्दा अत्यन्त पीडाबोध भएको छ । जेन–जी पुस्ताको माग केवल उनीहरूकै लागि मात्र नभई सम्पूर्ण नेपालको उज्ज्वल भविष्यका लागि हो,’ उनले भनिन्, ‘नयाँ पुस्ताको समयानुकूल र न्यायसंगत मागलाई हामी सबैले सम्मान गर्न जरुरी छ ।’ 

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेले आन्दोलनले सिर्जना गरेको परिस्थितिले व्यापारको चक्र बिथोलिएको बताए । ‘सरकारले सुझबुझसहित जेन–जीसँग समन्वय गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्छ । सरकारले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको जस्तो देखियो । सरकारले बल प्रयोग गर्नेभन्दा सहमति र समझदारी गरेर शान्तिपूर्ण वातावरण बनाउनेतर्फ लाग्नुपर्थ्यो,’ उनले भने, ‘आन्दोलित जेन–जीलाई शान्त बनाउन सरकारले भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूका मुद्दा पनि सुन्न सक्नुपर्छ । सही मुद्दा उठाएका छन् भने त्यसको सम्बोधन गर्नुपर्‍यो । वार्ता गरेर होस् वा अनेक विधि प्रयोग गरी सरकारले छिटोभन्दा छिटो यसको समाधान खोज्नैपर्छ ।’ सोमबार यातायातका साधन प्रायः बन्द भए । यसबाट त्यहाँ काम गर्नेहरू प्रभावित बने, यात्रुहरू सडकमै अलपत्र परे र व्यापारको चक्र बिथोलियो । यसतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जेन–जीको अगुवाइमा काठमाडौंमा सोमबार गरिएको प्रदर्शनमा धेरै दुःखद घटना भएको बताए । ‘सुरक्षा निकाय संवेदनशील हुनुपर्थ्यो, त्यो देखिएन । प्रदर्शनमा भएको घटनाले सबैलाई दुःखी तुल्याएको छ,’ उनले भने, ‘सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा होस् या अन्य जुनसुकै आन्दोलन किन नहोस्, त्यसले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ । उद्योग व्यवसायमा असर पार्छ ।’

अहिले अर्थतन्त्र सुधारोन्मुख छ । तर अब यसमा नकारात्मक प्रभाव पर्न सक्छ । सरकारले एकै चोटि दुई दर्जन एप बन्द गर्दा धेरै युवालाई प्रत्यक्ष असर परेको उनले बताए । ‘धेरैले सामाजिक सञ्जालबाट जीविकोपार्जन गर्दै आएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीसँग सम्पर्क गर्ने माध्यम पनि अनलाइन हो । त्यो सम्पर्क पनि टुटेको छ,’ उनले भने, ‘व्यापारिक हिसाबले हेर्दा चीनसँगको व्यापार गर्ने माध्यम विच्याट मात्रै माध्यम हो । सामाजिक सञ्जाल बन्द हुँदा वैदेशिक व्यापारमा समस्या आएको छ । सामाजिक सञ्जाल बन्द भएका बेला विदेशी लगानी पनि आउँदैन ।’

मुलुकमा बेथिति र भ्रष्टाचार बढ्नु, रोजगारी नहुनु र काम गर्नेलाई सहज वातावरण सरकारले नदिएकै कारण त्यसको आक्रोश जेन–जीमा देखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘यसमा सरकारले दमन गर्ने नीति लिएको देखिन्छ, भ्रष्टाचारलाई नियमन गर्ने नाममा पनि थप भ्रष्टाचार गर्ने गरेका उदाहरण छन्,’ उनले भने, ‘यस्ता कारणले पनि जनतामा आक्रोश बढेको छ, यस्तो प्रदर्शनको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पर्छ ।’

यस्तो अवस्थामा नेपालमा नयाँ उद्योग खोल्न उद्यमीहरू आउने अवस्था पनि नरहने उनको भनाइ छ । ‘सरकारसँग असन्तुष्टि जनाउँदै सडकमा निस्किएको पहिलो दिनमै जेन–जीमाथि प्रहरी दमन र मानवीय क्षति अकल्पनीय छ, यसले आर्थिक क्रियाकलाप रोकिन्छन्, भएका रोजगारी गुम्छन्,’ सिंहले भने, ‘यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ, आक्रोश काठमाडौंमा मात्र देखिएन, देशका मुख्य–मुख्य सहरमा समेत देखिएको छ, असन्तुष्टि जेन–जी पुस्तामा मात्र होइन, मुलुकको व्यवस्था र भइरहेको भ्रष्टाचारप्रति सबैमा आक्रोश छ ।’

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यले पनि सोमबार सोच्दै नसोचेको घटना भएको बताइन् । ‘सरकारले अचानक सोसल मिडिया बन्द गरिदियो,’ उनले भनिन्, ‘सोसल मिडिया खबर आदानप्रदान गर्ने माध्यम मात्र थिएन, यसमा कतिको रोजीरोटीको कुरा जोडिएको छ, यसैका माध्यमबाट व्यवसाय चलिरहेको छ, अचानक सोसल साइट बन्द गर्ने निर्णयका कारण रोजीरोटी र व्यवसाय ठप्प बनेको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल पूर्वअध्यक्ष ध्रुव थापाले सरकारी हर्कतले पर्यटन क्षेत्रलाई तत्काल असर गर्ने बताए । ‘प्रदर्शनमा नहुनुपर्ने घटना सोमबार भयो, यो अति दुःखद विषय हो । प्रदर्शनमा दमन पनि बढी देखियो । नेपालको इतिहासमा यस्तो घटना पहिलो पटक भए जस्तो लाग्छ । यसलाई मैले युवापुस्तामा राजनीतिप्रति देखिएको वितृष्णाका रूपमा लिएको छु,’ उनले भने, ‘विगतदेखिकै असन्तुष्टि सोमबार देखिएको हो । जेन–जीका माध्यमबाट बाहिर आएको मात्रै हो ।’ 

प्रविधिको जमानामा मिडिया, सामाजिक सञ्जाललाई नियन्त्रण गर्नु ठीक नभएको उनको भनाइ छ । ‘सामाजिक सञ्जालकै माध्यमबाट पुराना पार्टी यहाँसम्म आएका छन् । बोल्न पाइँदैन, लेख्न पाइँदैन, विरोध गर्न पाइँदैन भन्नु नै गलत हो,’ उनले भने, ‘यस्तो प्रकारको आन्दोलनले व्यापार व्यवसायमा असर गर्छ नै । तत्काल असर गर्ने पर्यटन क्षेत्रमा हो ।’

नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले मुलुकको मेरुदण्ड नै युवा रहेकाले उनीहरूको माग सम्बोधन गर्नुपर्ने र उनीहरूको आन्दोलन शान्तिपूर्ण तरिकाले व्यवस्थापन गर्नुपर्ने बताइन् । ‘युवाहरूको सोच र विचार नयाँ हुन्छ । ती युवालाई बाहिर नपठाई आफ्नै मुलुकमा उनीहरूको उपयोग गर्न सक्नुपर्थ्यो । जबसम्म युवालाई देशमै काम गर्ने वातावरण बनाउन सकिन्न, तबसम्म समृद्ध मुलुक बन्न सक्दैन,’ उनले भनिन्, ‘मुलुकको अर्थतन्त्र चलायमान पनि हुन सक्दैन । जेन–जीको शान्तिपूर्ण आन्दोलनलाई नराम्रो बनाउन भिजिलान्तेहरूले खेले, जुन दुःखद हो ।’ आफ्नै मुलुकमा बस्न सक्ने वातावरण बनाइदिन, जेन–जीको सोचलाई कदर गरिदिन आवाज उठाउनेदेखि सामाजिक सञ्जाल बन्द गर्न हुँदैन भन्ने विषय उठाइरहँदा मान्छे ताकेर नै गोली चलाएपछि दुःखद घटना भएको भएको उनको भनाइ छ ।

आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गरेको देखिएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) अध्यक्ष सुवास न्यौपानेले बताए । ‘यति धेरै संख्यामा जनधनको क्षति हुने गरी सरकारले बल प्रयोग गर्नु हुँदैनथ्यो । आन्दोलन नियन्त्रण गर्ने नाममा सरकारले अपनाएको विधि ठीक भएन,’ उनले भने, ‘सामाजिक सञ्जालमा युवापुस्ता निकै अभ्यस्त थिए । यसकारण छोटो सूचनाका आधारमा एक्कासि सरकारले सामाजिक सञ्जाल बन्द गर्नु हुँदैनथ्यो । सरकारले अब आन्दोलनलाई संयमित ढंगले व्यवस्थापन गर्न पहल गर्नुपर्छ ताकि थप जनधनको क्षति नहोस् ।

कान्तिपुर

Link copied successfully