कर्जा सुरक्षण कोषले गर्‍यो पौने १६ खर्ब निक्षेपको बिमा

२०८१ असार मसान्तमा प्राकृतिक व्यक्तिका नाममा रहेको ४ करोड ५७ लाख ९५ हजार खातामा १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरिएको थियो ।

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

The Credit Protection Fund insured over 16 billion deposits

What you should know

काठमाडौँ — बैंक तथा वित्तीय संस्था र लघुवित्तमा रहेका प्राकृतिक व्यक्तिहरूको कुल निक्षेपमध्ये करिब पौने १६ खर्ब रुपैयाँको बिमा (सुरक्षण) भएको छ । ‘क’ देखि ‘घ’ वर्गसम्मका वित्तीय संस्थामा रहेका सर्वसाधारण (प्राकृतिक व्यक्ति) को ५ करोड ७१ लाख ३६ हजार वटा खातामा रहेको निक्षेप (चल्ती, कल, बचत र मुद्दती) मध्ये १५ खर्ब ७९ अर्ब ५ करोड रुपैयाँको बिमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषले जनाएको छ । 

२०८१ असार मसान्तमा प्राकृतिक व्यक्तिका नाममा रहेको ४ करोड ५७ लाख ९५ हजार खातामा १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरिएको थियो । व्यक्तिगत खाताको निक्षेपको प्रतिखाता न्यूनतम ५ लाख रुपैयाँ बिमा गर्नुपर्ने प्रावधानअनुसार हालसम्म उल्लिखित रकमको बिमा भएको हो ।  

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको ३ खर्ब २७ अर्ब ४२ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जासमेत) सुरक्षण गरेको छ । २०८१ असार मसान्तमा २ खर्ब ९६ अर्ब ४५ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सहकारी संस्थामा रहेको पाँच लाख रुपैयाँसम्म निक्षेपको सुरक्षण हुने व्यवस्था गरेको छ । ‘सहकारी संस्थामा रहेको लाखसम्मको बचत रकमको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत निक्षेप सुरक्षण गरिनेछ,’ चालु आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको छ, ‘सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पुँजीको व्यवस्था गरेको छु ।’ बजेटमा सहकारी ऋण असुली न्यायाधिकरण स्थापनाको व्यवस्था गरेको थियो । सोहीअनुसार सरकारले सहकारी ऋण असुली न्यायाधिकरण स्थापना भएर कामसमेत सुरु गरिसकेको छ । 

हाल कोषले ५५ वटा संस्थाको निक्षेप सुरक्षण गर्दै आएको छ । निक्षेप सुरक्षण सुविधा व्यक्तिगत निक्षेप (प्राकृतिक व्यक्ति) खातामा रहेको निक्षेपका लागि मात्र हो । संस्थाले जम्मा गर्ने निक्षेप (संस्थागत निक्षेपकर्ताले जम्मा गरेको) खातामा बिमा हुँदैन । निक्षेप बिमा गरेपछि कुनै कारणले बैंक तथा वित्तीय संस्था डुबे (खारेजी गएमा) त्यस संस्थामा निक्षेप गर्ने प्रत्येक व्यक्तिगत निक्षेपकर्ताले बढीमा ५ लाख रुपैयाँ भुक्तानी पाउँछन् ।

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमध्ये एउटा संस्थामा एक व्यक्तिको मात्र निक्षेप सुरक्षण हुने हो । उदाहरणका लागि एक संस्थामा एकै व्यक्तिको एकभन्दा बढी खाता भए पनि ती सबै खातामा रहेको निक्षेप सुरक्षण हुने होइन । तर सोही व्यक्तिको एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता भएको अवस्थामा भने सबै खातामा तोकिएको रकम (५ लाख) बराबरका दरले बिमा हुन्छ ।

साना निक्षेपकर्ताको बचत सुरक्षित गर्ने उद्देश्यले सरकारले करिब एक दशकअघि यस्तो कार्यक्रम ल्याएको हो । यो प्रावधानअन्तर्गत हालसम्म हिमालय फाइनान्सका निक्षेपकर्ताले करिब ११ करोड रुपैयाँ फिर्ता पाइसकेका छन् । हिमालय फाइनान्स खारेजीमा गएपछि त्यो संस्थामा निक्षेप गर्ने व्यक्तिगत निक्षेपकर्ताले साविकको व्यवस्थाअनुसार बढीमा २ लाखका दरले रकम फिर्ता पाएका थिए । 

निक्षेप सुरक्षणका लागि बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गर्नुपर्छ । यो एक प्रकारको निक्षेप बिमा हो । तर अन्तर्राष्ट्रिय प्रचलनअनुसार यस्तो बिमालाई निक्षेप सुरक्षण नै भनिने भएकाले नेपालले पनि त्यही अनुसरण गरेको हो । नेपालमा यसको आधिकारिक निकाय निक्षेप तथा कर्जा सुरक्षण कोष हो । ०३१ सालदेखि कर्जा सुरक्षण गर्दै आएको कोषले ०६७ देखि निक्षेपको पनि सुरक्षण गरिरहेको छ । 

२०८२ असार मसान्तसम्म कुल बैंक तथा वित्तीय संस्थाको संख्या १ सय ७ छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८१ असार मसान्तमा ११ हजार ५ सय ३० रहेकामा २०८२ असार मसान्तमा ११ हजार ५ सय २६ कायम भएको छ । २०८१ असार मसान्तमा प्रतिशाखा जनसंख्या २ हजार ५ सय २९ रहेकोमा २०८२ असार मसान्तमा २ हजार ५ सय ३० कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully