अहिले चीनको ल्हासा, सिगात्से, न्यालममा १४/१५ सय कन्टेनर महँगो गोदाम पार्किङमा रोकिएका छन् भने केरुङमा ६/७ सय कन्टेनर थन्किएका छन् ।
What you should know
सिन्धुपाल्चोक — गत असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएयता रसुवागढी नाका सहज बन्न सकेको छैन । यता तातोपानी नाकातर्फ मोडिएका व्यापारी पनि अरनिको राजमार्गको तातोपानी नाका जोड्ने सडकको इकोमा पहिरोको अवरोध नखुल्दा आजित छन् ।
भोटेकोसी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठका अनुुसार इको खण्डमा माथिबाट भास्सिएर पहिरो जाने क्रम नरोकिँदा सडकका कारण तातोपानी नाका ठप्प छ । 'यता नाका बन्द भएको एक साता भयो, उता इकोमाथिका र अन्यतिर बस्ती जोखिममा परेका छन्,' उनले भने 'कोप्लाङ र घट्टेमा उस्तै छ । नाका सहज र बस्ती जोगाउन लाग्दालाग्दै अन्योलमा परेका छौं ।'
बाह्रबिसे-तातोपानी खण्डस्थित इको भन्ने स्थानमा गएको पहिरोका कारण एक महिनामा केहि दिन मात्र यातायात सञ्चालन भएको छ । उक्त पहिरो लिपिङ मितेरी पुलबाट करिब २ किमि काठमाडौंतर्फ र भन्सार हाताभन्दा चार किमि सीमातर्फ रहेको छ । यातायात खुलाउन दिनैपिच्छे डोजर चलाए पनि सम्भावन कम हुँदै जाँदा दसैंतिहारका सामान ल्याउने चटारोमा परेका व्यवसायी निराश बनेका छन् ।
यातायात बन्द भएका कारण व्यापारिक कारोबार, बजार तथा उपभोक्तामा प्रत्यक्ष प्रभाव पर्न थालेको छ । दसैंको मुखमा दैनिक दर्जनौं कन्टेनर मालवस्तु आयात हुनुपर्नेमा तातोपानी भन्सार सुनसान जस्तै भएको छ । रसुवा बन्द भएकाले यसपटक तातोपानीबाट हुने आयात दोब्बर हुने अनुमान गरिएको थियो । तर यसपटक झन् दसैंका लागि झिकाइएका सामान संघीय राजधानी ल्याउन नसक्दा मुलुकभर यसको अभाव पर्ने प्रायः निश्चित भएको छ ।
सडक खुलाउन एकातिर बर्सातले कठिन भएको छ अर्कोतर्फ गाउँ बग्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीयले बिहीबार वर्षा रोकिएपछि मात्र काम गर्न भनेका छन् । 'यसबाट व्यापारीले करोडौं रुपैंयाँ खर्चेर दसैं लक्षित गरेर आयात गरेको सामान बिक्री नहुने सम्भावना त्यतिकै छ, काठमाडौं ल्याएका सामान व्यापारीहरुले विभिन्न सहरमा पठाउने गरेका छन्, 'सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले भने । तर दसैं नजिकिए पनि करोडौं मूल्यका सामान भने बाटैमा अलपत्र छन् । ती सामान कसरी नेपाल भित्र्याउने व्यापारी नै अन्योलमा परेको उनले जानकारी दिए ।
यसअघि झन्डै तीन सातापछि बल्ल खुलेको तातोपानी नाका चार दिन चलेको थियो । त्यतिखेर ५०/६० कन्टेनर फलफूल, चाडपर्वलक्षित तयारी सामग्री नेपाल भित्रिएको थियो भने ३०/३५ खाली कन्टेनर यताबाट चीन प्रवेश गरेका थिए । हाल चीनको ल्हासा, सिगात्से, न्यालममा १४/१५ सय कन्टेनर उताकै महँगो गोदाम पार्किङमा रोकिएका छन् । उता केरुङमा ६/७ सय कन्टेनर यत्तिकै थन्किएका छन् ।
इको पहिरोपारि दर्जनभन्दा बढी कन्टेनर लिपिङ र कोदारी बजार आएर रोकिएका छन् । 'यस अवधिमा लाखौं मूल्यका फलफूल सड्दा व्यवसायीले घाटा बेहोरेका छन् । यसअघि पनि फलफूल र लसुन कन्टेनरमै कुहिन थालेपछि भरिया लगाएर बोकाइएको थियो, सडकका कारण नाका सहज बनेन्,' व्यवसायी शारदाप्रसाद पराजुलीले भने ।
