चाहिएकै बेला युरिया हाहाकार, महँगो डीएपी छर्दै किसान

नेपालमा युरिया नपाइएको र भारतमा पनि सरकारले कडाइ गरेकाले किसानले विगतमा जसरी सहजै ल्याउन नसकेको कालिकामाई गाउँपालिका–५ का पृथ्वी साहको भनाइ छ ।

भाद्र २२, २०८२

शंकर आचार्य

Farmers sowing urea at the time of need, expensive DAP

What you should know

पर्सा — धान बालीमा युरिया मल आवश्यक भए पनि किसानले सजिलै पाएका छैनन् । युरियाको चरम अभाव भएपछि किसानले यसको विकल्पमा महँगो डीएपी मल प्रयोग गर्न थालेका छन् । थोरबहुत वर्षा हुन थालेका बेला किसानलाई युरिया अत्यावश्यक रहेको वीरगन्ज हरपतगन्जका दामोदरप्रसाद यादव बताउँछन् ।

‘वर्षालगत्तै किसानले धानमा युरिया छर्नुपर्छ,’ उनले भने, ‘तर यही बेला किसानले मल पाएनन् ।’ कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट सहकारीले आआफ्नो कोटाको युरिया लगेर सकिसकेकाले किसानले खोजेका बेला पाउन नसकेको यादवले जनाए ।

नेपालमा युरिया नपाइएको र भारतमा पनि सरकारले कडाइ गरेकाले किसानले विगतमा जसरी सहजै ल्याउन नसकेको कालिकामाई गाउँपालिका–५ का पृथ्वी साहको भनाइ छ । कतिपय किसानले युरिया नपाएपछि महँगो डीएपी धान बालीमा छर्न थालेको उनले बताए । ‘युरियामा ४६ प्रतिशत नाइट्रोजन हुन्छ भने डीएपीमा १८ प्रतिशत मात्र,’ उनले भने, ‘धान बाली सप्रिन नाइट्रोजन तत्त्व आवश्यक पर्छ ।’

५० किलोको एक बोरा युरिया सहकारीबाट किन्दा ९ सय रुपैयाँमा पाइन्छ । तर त्यसैलाई किसानले बजारमा दुई हजार तिर्नुपर्छ । त्यसैगरी ५० किलोको डीएपीको सहकारी मूल्य २ हजार ३ सय ५० रुपैयाँ हो । बजारमा किन्दा यसको मूल्य प्रतिबोरा ३ हजारदेखि ३ हजार २ सयसम्म पर्छ ।

साल्ट ट्रेडिङ वीरगन्ज प्रादेशिक कार्यालयसँग हाल युरिया मौज्दात छैन । पर्साको कोटाको मल सबै सहकारीले लगिसकेकाले तत्काललाई यहाँका किसानका लागि युरिया मौज्दात नरहेको कार्यालयका सूचना अधिकृत सञ्जय गुप्ताले जनाए । अन्य जिल्लाका सहकारीले लैजान बाँकी रहेको ३ सय ६६ टन मात्र युरिया मौज्दात रहेको र त्यो पनि केही दिनभित्रै सकिने उनले बताए ।

आदित्य बिरला कम्पनीले ग्लोबल टेन्डरबाट आपूर्ति गर्न बाँकी रहेको २९ हजार टन युरियामध्ये बाँकी ८ हजार टन भैरहवा नाकामा आइरहेको गुप्ताले जनाए । त्यसमध्ये केही मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउनेछ । भैरहवाबाट दुई ट्रक युरिया आइतबार वीरगन्ज पनि आइपुगेको उनको भनाइ छ । तर उक्त मल पनि कोटा लागेपछि मात्र वितरण गरिनेछ ।

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले पनि पर्साका सहकारीले आफ्नो कोटाको युरिया वितरण गरिसकेकाले तत्कालै जिल्लाका किसानलाई दिन मल नरहेको प्रस्ट्याए । तर ग्लोबल टेन्डरबाट यसअघि ३० हजार टन युरिया आपूर्तिको ठेक्का पाएको सन इन्टरनेसनल कम्पनीले बाँकी रहेको १६ हजार टन मल ल्याउन थालेको र त्यसमध्ये ७ हजार टन वीरगन्ज प्रादेशिक कार्यालयले पाएको उनले बताए ।

सात हजार टनमध्ये पनि १० प्रतिशत बफर स्टक कटाएर बाँकी मधेशका आठ जिल्लामा वितरण गरिने उनले जनाए । उक्त मलको पनि कोटा लगिनसकेकाले कहिलेदेखि वितरण हुन्छ भन्न नसकिने पाण्डेको भनाइ छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully