वाणिज्य विभागले भन्यो- 'चाडपर्वमा खाद्यवस्तुको अभाव हुँदैन'

तेल, चिनीलगायत खाद्यवस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ ।

भाद्र २२, २०८२

राजु चौधरी

Department of Commerce said - 'There is no shortage of food items during the festival'

What you should know

काठमाडौँ — नजिकिँदै गरेको चाडपर्वमा खाद्यवस्तुको अभाव नहुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

आपूर्ति व्यवस्थापनलाई सहज बनाउन खुद्रा किराना व्यापारी संघ, खाद्य किराना व्यवसायी संघ, अण्डा तथा लेयर्स उत्पादक संघ, बोटल संघ लगायत सरोकारवालासँग निरन्तर छलफल गरेकाले अभाव नहुने विभागको दाबी छ ।

‘चाडपर्वमा खाद्यलगायत वस्तुको आपूर्ति व्यवस्था चुस्त बनाउन निरन्तर छलफलमा छौं । तेल, चिनीलगायत खाद्यवस्तुको मौज्दात पर्याप्त छ, अभाव हुँदैन,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रोशन ज्ञवालीले भने, ‘मूल्य निर्धारणमा बजार स्वतन्त्र छ, तर कार्टेलिङ गर्न पाइँदैन । कार्टेलिङ गरेको फेला परे विभागले आफ्नो भूमिका निर्वाह गर्छ ।’

चाडपर्वमा दैनिक ६ देखि ७ वटा अनुगमन टोली बजारमा खटाइने उनले जनाए । ‘संख्यात्मक रुपमा अनुगमन टोली थोरै भए पनि परिमाणमा धेरै फर्ममा अनुगमन गर्ने योजना छ,’ महानिर्देशक ज्ञवालीले भने, ‘केन्द्रीय बजार अनुगमन समितिको बैठकबाट एमआरपी अनिवार्य गर्ने, उपभोग्य अवधि उल्लेख गर्नुपर्ने र पानी उद्योगसँग भएका गुनासो समाधान गर्ने निर्णय भएको छ ।’

बिल–बिजक प्रणाली व्यवस्थित बनाउन बिक्री काउन्टरमा अनलाइन प्रणालीमार्फत डिजिटल क्यास रजिष्टर लागू गर्न अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, बढी कारोबार हुने वस्तुहरूको गुणस्तर मापदण्ड तत्काल निर्धारण गरी अनिवार्य कार्यान्वयन गर्न गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिनेसमेत निर्णय भएको छ । चाडपर्वमा यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सार्वजनिक सडक तथा हवाई यातायातलाई प्रभावकारी बनाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने समेत निर्णय भएको महानिर्देशक ज्ञवालीले जनाए ।

‘उपभोक्ता शिक्षा तथा सचेतना कार्यक्रम संघ, प्रदेश र स्थानीय तहमार्फत सञ्चालन गर्ने, स्थानीय र प्रदेश तहका बजार अनुगमन समितिलाई अझ प्रभावकारी बनाउन र प्रचलित कानुनलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने पनि निर्णय भएको छ,’ उनले भने । विभागले पछिल्ला दुई महिनामा ६ सय ५० भन्दा बढी अनुगमन गरिएको जनाएको छ । 

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully