शुक्लाफाँटा घुम्ने पर्यटक बर्सेनि घट्दै

कोरोना संक्रमणअघि एकै वर्ष १२ हजार पर्यटकले शुक्लाफाँटा अवलोकन गरेका थिए, गत आर्थिक वर्षमा निकुञ्ज घुम्नेको संख्या घटेर ३ हजार ७ सय २२ मात्र छ

भाद्र २०, २०८२

भवानी भट्ट

Tourists visiting Shuklaphanta are decreasing every year

What you should know

काठमाडौँ — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्नेबित्तिकै धेरैले झट्ट बाह्रसिंगालाई सम्झिन्छन् । निकुञ्जको ५४ वर्गकिलोमिटर क्षेत्रफल रहेको विशाल घाँसे मैदानमा ठूलो झुन्डमा बाह्रसिंगा देख्न सकिन्छ । पछिल्लो गणनाअनुसार यहाँ बाह्रसिंगाको संख्या २३ सयभन्दा बढी छ । 

शुक्लाफाँटाको राष्ट्रिय निकुञ्जको क्षेत्रफल ३ सय ५ वर्गकिलोमिटर छ । कम क्षेत्रफलमा बढी बाघ रहेको निकुञ्जका रूपमा पनि शुक्लाफाँटालाई चिनिन्छ । यसै वर्ष गरिएको अनुगमनमा यहाँ ४३ वयस्क बाघ छन् । निकुञ्जमा वयस्क गैंडाको संख्या पनि २३ पुगेको छ । एक दशकअघि स्थानान्तरण गरिएका कृष्णसारको संख्या पनि ३ सय ६ पुगेको छ । निकुञ्जमा ४ सय ६१ प्रकारका चराचुरुंगी छन् । 

यो निकुञ्जमा रानीताल, सिकारी ताल र कालीकिचलगायतका आधा दर्जन बढी तालतलैया पनि छन् । वन क्षेत्रमा पनि विविधता रहेको पर्याप्त घाँसे मैदान पनि छ । सिकारी ताललाई रामसार सूचीमा समावेश गर्नका लागि अध्ययन पनि भइरहेको छ । 

वन र वन्यजन्तुको अवस्था हेर्दा शुक्लाफाँटामा पर्यटनको पर्याप्त सम्भावना भए पनि निकुञ्ज घुम्नेको संख्या बर्सेनि घट्दो छ । गत आर्थिक वर्षमा निकुञ्ज घुम्नेको संख्या ३ हजार ७ सय २२ थियो । अघिल्लो वर्षमा ४ हजार ६ पर्यटकहरू शुक्लाफाँटा घुमेका थिए । ‘निकुञ्ज आसपासमा स्तरीय होटल तथा अन्य पर्यटकीय पूर्वाधारको कमी र महँगो हवाई भाडाका कारण यहाँ पर्यटकको संख्या बढ्न सकेको छैन,’ जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) ले आयोजना गरेको पर्यटन विकाससम्बन्धी कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘निकुञ्जभित्र पनि जंगल सफारीबाहेकका गतिविधि हुन सकेका छैनन् ।’ उनले यहाँ जंगल वाक, चरा अवलोकन, क्याम्पिङलगायतका गतिविधि पनि गर्न सकिने बताए । 

कोरोना संक्रमणअघि शुक्लाफाँटामा एकै वर्ष १२ हजार हाराहारी पर्यटकले अवलोकन गरेका थिए । निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १२ हजार १ सय ३८ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । त्यसपछि निकुञ्जमा पर्यटकको संख्या ओरालो लागेको हो । ‘अहिले पनि वनपथदेखि मचान र नदीनालामा पुल निर्माण भइरहेको छ,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले भने, ‘तर हामीसँग बजेट एकदमै न्यून छ, साझेदार संस्थाहरूको सहयोगमा काम गरिरहेका छौं ।’ 

उनले चालु आर्थिक वर्षमा पनि पर्यटकीय पूर्वाधारका लागि ३० लाख हाराहारी मात्रै बजेट आएको बताए । सीमावर्ती क्षेत्रसँग जोडिएकाले यहाँ धेरै भारतीय पर्यटकलाई भित्र्याउन सके यस क्षेत्रको पर्यटन विकासमा फड्को मार्न सकिने देखिन्छ । तर नाकामा हुने असहज व्यवहार, सवारीसाधन अभावलगायतले भारतीय पर्यटकलाई आकर्षण गर्न नसकिएको सरोकारवाला बताउँछन् । 

नेपाल पर्यटन बोर्डका कार्यक्रम तथा गतिविधिमा पनि हालसम्म शुक्लाफाँटाको प्रचारप्रसार हुन सकेको छैन । ‘अब भने शुक्लाफाँटाको प्रचारप्रसारलाई प्राथमिकता दिइनेछ,’ बोर्डको सञ्चालक समिति सदस्य नरेन्द्रदेव भट्टले भने । उनले सुदूरपश्चिममा पर्यटन बोर्डको प्रदेश कार्यालय स्थापनादेखि गड्डाचौकीमा पर्यटक सूचना केन्द्र स्थापनाको तयारी भइरहेको बताए । साथै पूर्णागिरी मेलालाई प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको उनले जानकारी दिए । 

शुक्लाफाँटा निकुञ्जभित्र अहिले पनि बाह्रै महिना सफारी गर्न सकिने खालको बाटोको सुविधा छैन । पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा एकै पटक सफारी गर्न चौधर नदीमा पुलको व्यवस्था नहुँदा सम्भव छैन । निकुञ्जबाहिर स्तरीय होटलदेखि रिसोर्ट सञ्चालन हुन सके पर्यटक अझ आकर्षित हुन सक्ने

देखिन्छ । तर अहिले महेन्द्रनगर बजारमा मात्रै एक/दुई होटलबाहेक निकुञ्ज आसपास प्रकृतिसँग रमाउन चाहनेका लागि स्तरीय होटलको समेत अभाव देखिन्छ । 

पर्यटन विकासका लागि धेरै आशा गरिएको मझगाउँ विमानस्थल निर्माणाधीन छ । विमानस्थल निर्माणपछि निकुञ्जसँगै आसपासका क्षेत्रमा पर्यटकको आवागमन बढ्ने अपेक्षा छ । तर त्यससँगै अन्य पूर्वाधारदेखि निजी क्षेत्रको लगानी बढाउनु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully