दुई दशकअघि धराशायी बनेको तयारी पोसाक उद्योग फेरि फस्टाउँदै

नेपाल तयारी पोसाक उद्योग संघका अनुसार मुलुकमा एक सय तयारी पोसाक उद्योग छन् । यी उद्योगबाट वार्षिक करिब १० अर्बको तयारी पोसाक निर्यात हुन्छ । ३५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

The ready-to-wear industry, which collapsed two decades ago, is flourishing again

What you should know

काठमाडौँ — दुई दशकअघि धराशायी बनेको नेपालको तयारी पोसाक उद्योग फेरि फस्टाउन थालेको छ । केही वर्ष अघिसम्म वार्षिक १ अर्बमा झरेको तयारी पोसाकको निर्यात अहिले १० अर्ब रुपैयाँ पुगेको नेपाल तयारी पोसाक उद्योग संघले जनाएको छ ।

संघका अनुसार अमेरिकाले घोषणा गरेको नयाँ पारस्परिक भन्सारले नेपालको तयारी पोसाक निर्यातमा नयाँ अवसरसँगै चुनौती पनि ल्याएको छ । छिमेकी मुलुक भारत, बंगलादेश, चीनलगायतको तुलनामा नेपाललाई कम भन्सार शुल्क लाग्दा लाभको अवसर भए पनि तेस्रो मुलुकका वस्तु नेपालमा डम्प हुने सम्भावना उत्तिकै रहेको संघले जनाएको छ । यस विषयमा अमेरिकी दूतावासका प्रतिनिधिसँग छलफल भएको संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बताए ।

‘गत २ अप्रिलमा अमेरिकाले घोषणा गरेको नयाँ पारस्परिक भन्सारले हाम्रो तयारी पोसाक निर्यातमा नयाँ अवसर र चुनौती दुवै ल्याएको छ । यसबारेमा अमेरिकी दूतावासका प्रतिनिधिसँग विस्तृत छलफल पनि गरिसकेका छौं,’ बिहीबार संघको ३० औं साधारणसभामा अध्यक्ष पाण्डेले भने, ‘नेपालका लागि अवसर र चुनौती कहाँ छन् भन्ने स्पष्ट पारेको छ । आगामी नीति निर्माणमा यसको प्रभाव देखिने अपेक्षा छ ।’ 

अहिले तयारी पोसाकको निर्यातमा ट्रान्ससिपमेन्टको प्रमुख चुनौती देखा परेको उनले बताए । ट्रान्ससिपमेन्ट निरुत्साहित गरेर निर्यात प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउनसमेत उनले सरकारसँग आग्रह गरे । नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत पाउने सुविधामा तयारी पोसाक उद्योगलाई समावेश गर्न पनि उनले सरकारसँग माग गरे । त्यसो हुन सके अमेरिकी बजारमा दीर्घकालीन उपस्थिति सुनिश्चित हुने उनले बताए ।

‘निर्यातको प्रचुर सम्भावना भएकाले गुणस्तरीय कच्चा तथा सहायक कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्नु अपरिहार्य छ । नेपालमै उत्पादन हुने प्राकृतिक रेशा जस्तै– अल्लो, हेम्प, केरालगायत वनस्पतिको रेशाबाट कपडा उत्पादन गर्ने उद्योग स्थापना गर्न सरकारको सक्रिय सहयोगको अपेक्षा गरेका छौं,’ अध्यक्ष पाण्डेले भने, ‘यस क्षेत्रमा आत्मनिर्भर हुन सके आयातमा निर्भरता र उत्पादन लागत घट्छ । रोजगारी सिर्जना गर्न सक्छौं ।’ 

संघका अनुसार मुलुकमा एक सय तयारी पोसाक उद्योग छन् । यी उद्योगबाट वार्षिक करिब १० अर्बको तयारी पोसाक निर्यात हुन्छ । ३५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘तेस्रो मुलुकतर्फको निर्यातमा तयारी पोसाक दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ । यसलाई अझ सबल बनाउन सरकारको विशेष पहल आवश्यक छ,’ अध्यक्ष पाण्डेले भने । 

संघका अनुसार १९८० को दशकदेखि स्थापना भएका तयारी पोसाक उद्योगले निर्यातमार्फत बिदेशी मुद्रा आर्जन, रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा योगदान दिएका छन् । २००१/०२ मा करिब ४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात भएको थियो । त्यतिबेला १ हजार २ सय ८० वटा तयारी पोसाक उद्योग सञ्चालनमा थिए ।

करिब १० लाखले रोजगारी पाएका थिए । तर सन् २००५ मा अमेरिकी कोटा प्रणाली अन्त्य भएपछि निकासी निरन्तर कम हुँदै गयो । तत्कालीन समयमा साढे ६ अर्ब लगानी भएको तयारी पोसाक उद्योग क्षेत्र धराशायी भएको संघको दाबी छ । अहिले भने बिस्तारै सुधार भएको अध्यक्ष पाण्डेले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले भारतमाथि लगाएको ट्यारिफका कारण नेपालले निर्यात बढाउने अवसर आएको बताए । यो अवसरलाई सरकार र निजी क्षेत्र मिलेर सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो । अमेरिकी ट्यारिफ नीतिलाई सदुपयोग गर्न सके ७० देखि ८० अर्ब रुपैयाँको निर्यात गर्न सम्भावना रहेको उनले जनाए । नेपालको तयारी पोसाक, गलैंचा (कार्पेट) र टेक्सटाइल क्षेत्रको प्रवर्द्धनका लागि टेक्सटाइल काउन्सिल गठन गर्न लागिएको समेत जनाए । 

अमेरिकी नीति नेपाली उद्योगीका लागि स्वर्णिम युग हुन सक्ने संघका पूर्वअध्यक्ष चण्डीराज ढकालले बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकी नीतिका कारण नेपाललाई ठूलो अवसर आएको भन्दै यो अवसर सदुपयोगमा ढिलाइ गर्न नहुने सुझाव दिए । 

कान्तिपुर

Link copied successfully