पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्षमा पौडेल

नवनियुक्त अध्यक्ष पौडेल भन्छन्, ‘भौगोलिक जोखिम नियन्त्रण केन्द्रित विविधिकरण गर्ने नीति ल्याउँछु ।’

भाद्र २०, २०८२

राजु चौधरी

Poudel as the chairman of the board of directors of the reinsurance company

काठमाडौँ — नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । उनलाई शुक्रबारकै अर्थमन्त्रीस्तरीय निर्णयले ४ वर्षका लागि अध्यक्ष बनाइएको हो । पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक थिए । 

२०७१ फागुनदेखि ०७५ पुस १८ सम्म उदयपुर सिमेन्ट उद्योगमा काम गरेका पौडेलले अन्तिम २ वर्षमा उद्योगलाई नाफामा लगेका थिए । २ वर्षमा सिमेन्ट उद्योगले १४ करोड नाफा कमाएको थियो । ३० प्रतिशत क्षमतामा सञ्चालित उद्योगलाई ५० प्रतिशत क्षमतामा सञ्चालनमा ल्याएका थिए । 

२०७०/७१ मा ७५ करोडको कारोबार गरेकोमा ०७५ मा १ अर्ब ८० करोडको कारोबार भएको थियो ।  निगमको कार्यकारी हुँदा पूर्वाधार निर्माणलाई तीव्रता दिएका थिए । ०७५ पुस २३ देखि २०७८ पुस २२ सम्म कार्यकारी बनेका पौडेलकै पालामा मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो । 

सिलगुढी झापा पेट्रोलियम पाइपलाइनको डीपीआर, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइनको सम्झौता, झापा, जनकपुर, दाङ र भैरहवामा हवाई इन्धन डिपो लगायतको  सुरुआत गरेका थिए । पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष बनेसँगै पौडेलले भौगोलिक जोखिम नियन्त्रणमा केन्द्रित विविधीकरण गर्ने नीति बनाइने बताए ।

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully