दुग्ध किसानको आन्दोलन स्थगित, बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति

दुग्ध उत्पादक किसानलाई दूधको भुक्तानीको बक्यौता रकम २०८२ असार मसान्तसम्मको २०८२ असोज ५ भित्र गर्ने सहमति भएको छ ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Adjournment of dairy farmers' agitation, agreement to pay arrears before Dasain

What you should know

काठमाडौँ — आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग र सरकारबीच सहमति भएको छ । बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति भएसँगै किसानले आन्दोलन स्थगन गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसनका पदाधिकारीबीच बुधबार ६ बुँदे सहमति भएको हो । 

दुग्ध उत्पादक किसानलाई दूधको भुक्तानीको बक्यौता रकम २०८२ असार मसान्तसम्मको २०८२ असोज ५ भित्र गर्ने सहमति भएको छ । साउन मसान्तसम्मको बक्यौता रकम २०८२ असोज ३० र भदौ मसान्तसम्मको बक्यौता कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको छ । त्यसपछि बाँकी पैसा भुक्तानी पनि नियमित गर्दै जाने सहमति भएको छ ।

डीडीसीले मात्र दुग्ध किसानलाई तिर्नुपर्ने बक्यौता झन्डै एक अर्ब रुपैयाँ छ । दूधको बक्यौता तिर्न भन्दै डीडीसीले २०७८ यता अर्थ मन्त्रालयसँग पटक–पटक गरी १ अर्ब २५ करोड ऋण लिएको छ । तर सुक्खा सिजनमै किसानको बक्यौता बाँकी नै छ । तर यही बेला डीडीसी किसानलाई पैसा दिन बेवास्ता गर्दै पोखरामा जग्गा खोज्न डीडीसी लागिपरेको छ । दुग्ध किसानले सरकारी र निजी गरी झन्डै ३ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी छ । 

सम्झौताबमोजिम भुक्तानी नगर्ने उद्योगीबारे डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन र दुग्ध विकास संस्थान जवाफदेही हुनुपर्ने केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँवरले बताए । ‘पैसा नपाएका किसान धेरै समस्यामा छन् । उनीहरू बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको हो,’ उनले भने । 

कृषिमन्त्री रामनाथ अधिकारीसँगको छलफलपछि तत्कालका लागि आन्दोलन स्थगन गर्न सहमत भएको कुँवरको भनाइ छ । उद्योगीहरूले तत्काल भुक्तानी गर्ने सहमति जनाएपछि स्थगन गरिएको छ ।’ समहति कार्यान्वयन नभए फेरि आन्दोलनको विकल्प नरहेको उनले जनाए । समग्र चक्र बिग्रिएकै कारण भुक्तानीमा समस्या देखिएको संयुक्त पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जनाए । यद्यपि किसानलाई पैसा नै दिन बन्द नगरिएको उनको भनाइ छ । 

‘किसानलाई पैसा नै नदिएको होइन । १० लाख दिनुपर्ने ठाउँमा ७–८ लाख रुपैयाँ गएको छ । चक्र बिग्रिएकाले समस्या भएको हो,’ दाहालले भने, ‘किसानले आन्दोलन नगरे पनि दसैं आएकाले किसानको भुक्तानी गर्ने पक्षमा नै छौं ।’ सबै उद्योगीलाई एउटै बास्केटमा नराख्न पनि उनले आग्रह गरे । ‘कतिपय उद्योगीको बक्यौता हुन सक्छ । तर सबै उद्योगीको छैन,’ उनले भने, ‘अहिले दुग्धपदार्थ स्टक छ । त्यसलाई उद्योगीहरूले एकल प्रयासबाट समाधान गर्न कोसिस गरेका छन्, तर सरकारबाट साथ भएन ।’

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले पनि भुक्तानी नगर्ने उद्योगी खोज्नुपर्नेमा जोड दिए । ‘उद्योगीहरूले दिएनन् भन्ने मात्रै कुरा आएको छ । कुन उद्योगीले दिएनन्, पहिला त्यो खोज्नुपर्‍यो । तर यहाँ धमिलो पानीमा माछा मार्ने काम भएको छ,’ उनले भने, ‘धेरैजसोले भुक्तानी गरेका छन् ।’ 

संघका अनुसार कात्तिक, मंसिर, पुस, माघ, फागुन र चैतमा दूध उत्पादन र संकलन बढी हुन्छ । बजार मागभन्दा बढी उत्पादन हुने दूध बटर र पाउडर बनाएर मौज्दात गरिन्छ । मौज्दातकै कारण किसानलाई भुक्तानी गर्न ढिलाइ हुन्छ । वैशाखपछि दूधको सुक्खा सिजन सुरु हुन्छ । दूध अभाव हुन नदिन उनीहरूले मौज्दात पाउडर दूधमार्फत बजारको माग पूर्ति गर्छन् । तर अहिले सुक्खा सिजन चले पनि किसानले पैसा पाएका छैनन् ।

कान्तिपुर संवाददाता

Link copied successfully