विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।
काठमाडौँ — सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।
परिपक्व अवधि नौ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९१ ‘ग’ नाम दिइएको छ ।
ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले भदौ १८ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । बोलकबोल अनलाइन प्रणालीमार्फत पेस गर्नुपर्नेछ । ऋणपत्रको सावाँ भुक्तानी २०९१ भदौ १९ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । त्यस्तो ब्याजमा आयकर लाग्नेछ ।
यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन सकिने व्यवस्था छ ।
