अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सुझाबमा हुन लागेको स्वतन्त्र लेखापरीक्षणमा १० वटा ठूला बैंक छनौट भएका छन् ।
What you should know
काठमाडौँ — सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये कुल सम्पत्तिका आधारमा राष्ट्र बैंकले १० ठूला बैंक छनौट गरेको हो । जसअनुसार ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक र प्रभु बैंक छन् ।
स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छनोट भएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा उक्त कम्पनीलाई छनौट गरेको आशयपत्र जारी गरेको छ । लेखा परीक्षण बापत कम्पनीले नेपाली र विदेशी दुवै मद्रामा भुक्तानी पाउने छ ।
उक्त कम्पनीले ६२ लाख ५४ हजार रूपैयाँ र २ लाख ७१ हजार डलर (करिब तीन करोड ७१ लाख रूपैयाा) भुक्तानी पाउने छ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सुझाव तथा सहयोगमा नेपालका ठूला १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न लागेको हो ।
यो कम्पनीले लेखापरीक्षण सुरु गरेपछि राष्ट्र बैंक तोकेको मापदण्डअनुसार छनौट भएका १० वटा ठूला वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जाको गुणस्तर मूल्यांकन स्वतन्त्र रूपमा हेरिनेछ । जसअनुसार कर्जा भुक्तानीकै लागि कर्जा लिने परिपाटी भए/नभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ र कर्जा केन्द्रीकृत भए/नभएको, खराब कर्जाको अवस्थालगायत पक्षको लेखापरीक्षण हुनेछ ।
सरकारले सन् २०२१ डिसेम्बर २२ मा आईएमएफसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र रुपमा लेखापरीक्षण गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेको थियो । सोही अनुसार कम्पनी छनौट गरी लेखापरीक्षण हुन लागेको हो ।
यी हुन १० ठूला वाािण्ज्य बैंक
१) ग्लोबल आइएमई बैंक
२) नबिल बैंक
३) नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
४) कुमारी बैंक
५) राष्ट्रिय वाणिज्य बैंक
६) लक्ष्मी सनराइज बैंक
७) हिमालयन बैंक
८) एनआइसी एसिया बैंक
९) एनएमबी बैंक
१०) प्रभु बैंक
