एकै दिन ५२ अर्बले खुम्चियो सेयर बजारको आकार

आइतबार २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ वटाको घट्यो 

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

The size of the stock market shrank by 52 billion in one day

What you should know

काठमाडौँ — सेयर बजार लगातार उच्च अंकले ओरालो लाग्न थालेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) एकै दिन करिब ५२ अर्बले खुम्चिएको छ । साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ३१ अंकले घट्यो ।

सो दिन कारोबारमा आएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ वटाको घट्यो । यसरी सेयर मूल्य बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी धेरै भएपछि एकै दिन सेयर बजारको आकार ५२ अर्ब ९ करोड ४० लाख रुपैयाँले खुम्चिएको हो ।

नेप्सेका अनुसार गत बिहीबार ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार ४५ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी हुनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ । 

अघिल्लो दिनको तुलनामा आइतबार १.१२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ४९.८३ बिन्दुमा ओर्लेको छ । 

सो दिन ९७ हजार १ सय ७४ पटकको कारोबारमा १ करोड ४८ लाख ५ हजार ५ सय ६९ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ६ अर्ब ६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आइतबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट भएको हो । परिसूचक धेरै घट्ने उपसमूहमा जीवन बिमा, निर्जीवन बिमा, विकास बैंकलगायत रहे । आइतबार उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ६.७७, आशा लघुवित्तको ४.१६, माछापुच्छ्रे डिबेञ्चर (८.५ प्रतिशत) को ३.९३, एनआईसी एसिया डिबेञ्चर (२०८५/२०८६) को ३.८० र नबिल ब्यालेन्स फन्ड– को सेयर मूल्य ३.३६ प्रतिशतले बढे । यसको अर्थ बजार घट्दा पनि यी कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य बढ्यो (नाफा कमाए) भन्ने हो । 

सो दिन ग्लोबल आईएमई सम्मुनत योजना–२ को सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्यो । प्रभु स्मार्ट फन्डको सेयर मूल्य ७.८८, सिटीजन्स म्युचअल फन्ड–२ को ७.६९, नेपाल रिपब्लिक मिडियाको ७.४५, छ्याङदी हाइड्रोपावरको ७.०७ प्रतिशतले सेयर मूल्य घट्यो । अर्थात् यी कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य घट्यो (नोक्सान भयो) । 

कारोबार रकमका आधारमा आइतबार नेपाल रि–इन्स्योरेन्स कम्पनी, हिमालयन रि–इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया, पिपुल्स पावर लिमिटेड क्रमशः मुख्य पाँच कम्पनीको सूचीमा अगाडि रहे । सो दिन नेपाल रि–इन्स्योरेन्स कम्पनीको ४५ करोड ४६ लाख, हिमालयन रि–इन्स्योरेन्सको २८ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको २६ करोड ३३ लाख, नेपाल रिपब्लिक मिडियाको २१ करोड २ लाख, पिपुल्स पावर लिमिटेडको १८ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully