मध्य भोटेकोशी जलविद्युत : निर्माण थालेको १४ वर्षपछि परीक्षण उत्पादन सुरु

भोटेकोशीले अनेक कठिनाइ पार गर्दै निर्माण सुरु गरेको १४ वर्षपछि परीक्षण उत्पादन सुरु गरेको हो ।

भाद्र १६, २०८२

ऋषिराम पौड्याल

Madhya Bhotekoshi Hydropower: Trial production started after 14 years of construction

What you should know

काठमाडौँ — सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सोमबार सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत आयोजना मुख्य प्रवर्द्धक रहेको भोटेकोशीले अनेक कठिनाइ पार गर्दै निर्माण सुरु गरेको १४ वर्षपछि परीक्षण उत्पादन सुरु गरेको हो ।

भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीका अनुसार प्राधिकरणले निर्माण गरिरहेको बाह्रबिसे सबस्टेशनको काम पूरा नभएकाले उत्पादित विद्युत करिव ४० किमि ट्रान्समिसन लाइनमार्फत नयाँ खिम्ती सबस्टेशनमा पुर्‍याइएको छ ।

आयोजनाका तीन वटा टरबाइनमध्ये एउटा सञ्चालन गरेर परीक्षण उत्पादन सुरु गरिएको हो । बाह्रबिसे सबस्टेशन तयार नभएकाले गत सातादेखि खिम्ती सबस्टेशनले जाँच गरेको विद्युत मध्यभोटेकोशीको पावर हाउससम्म जोडिएको लाइनमा परीक्षण गरिँदै आएको थियो । ‘आयोजना निर्माणमा लामो समय लागेपनि अनेक आरोह–अवरोह पार गर्दै विद्युत उत्पादन गर्न सफल भएका छौं,’ भोटेकोशी कम्पनीका सिइओ सिवाकोटीले खुशी हुँदै भने, ‘अब केही दिन परीक्षण गरेर विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।’

राष्ट्रिय प्रशारण लाइनमा जोडेपछि आम्दानी सुरु हुने उनले बताए । ट्रान्समिशन लाइनको परीक्षण सफल भएपछि विद्युतको परीक्षण सुरु गरिएको जानकारी उनले दिए । उनका अनुसार नयाँ खिम्तीको ४०० केभी पावरको ट्रान्समिशन लाइनमा मध्यभोटेकोशीको २२० केभी मात्र पावर पठाउने व्यवस्थापन मिलाइएको छ । उत्पादित विद्युत ढल्केबर सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोड्ने योजना रहेको छ ।

चरम राजनीतिक हस्तक्षेप, स्थानीय अवरोध, आयोजनाको आन्तरिक प्रशासनिक समस्या, कोभिड, बाढी–पहिरो, भूकम्प, भारतीय सीमामा भएको अवरोधलगायतका कारणले निरन्तर निर्माणमा ढिलाई भएको हो । चीनको सीमा भोटेकोशी गाउँपालिका–५ चाकुमा बाँध तथा बाह्रबिसे नगरपालिकाको जम्बुमा पावर हाउस रहेको उक्त आयोजनाको सुरुङ ७.५ किमि रहेको छ ।

गत वर्ष सुरुङमा पानी पठाउँदा सुरुङ चुहिएको थियो । अहिले आयोजनाका सबै संरचनाको परीक्षण दुरुस्त बनाएपछि उत्पादन सुरु गरिएको हो । ‘रन अफ द रिभर’मा आधारित उक्त आयोजनाको लागत साढे २२ अर्ब लाग्ने अनुमान छ । सुरु गर्ने समयमा १२ अर्ब ३३ करोड २८ लाख लगत अनुमान गरिएको उक्त आयोजना तोकिएको समयमा निर्माण गर्न नसक्दा आयोजनाले ऋणको ब्याज मात्र दैनिक ५० लाखभन्दा बढी तिरिरहेको छ ।

सन् २०१३ मा सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेर कम्पनीका तत्कालिन कार्यकारी अधिकृत कुलमान घिसिङले आयोजना अघि बढाएका थिए । सुरुमा स्थानीय समस्याले आयोजनालाई अघि बढाउन निकै कठिन भएको थियो । सिइओ सिवाकोटी भन्छन्, ‘झण्डै असफल जस्तै बनेको भोटेकोशीलाई उत्पादनको अवस्थामा पर्‍याएका छौं ।’ राधा ज्ञवालीले आफू उर्जा मन्त्री भएकाबेला घिसिङलाई बलजफ्जी हटाएकी थिइन् । उनलाई हटाएको भन्दै केही समय आयोजनाको काम नै बन्द भएको थियो ।

आयोजनाका अनुसार लगानी बढेकाले प्रतिमेगावाट विद्युत उत्पादन लागत २२ करोड पुग्ने अनुमान रहेको छ । वार्षिक ५४ करोड २२ लाख विद्युत उत्पादन हुने लक्ष्य रहेको उक्त आयोजनाबाट वार्षिक २ अर्ब ८० करोड आम्दानी हुने अनुमान गरिएको छ । सुख्खा मौसममा सबैभन्दा कम ३५ मेगावाट विद्युत उत्पादन हुनेछ भने वर्षात्काले ११० मेगावाटसम्म उत्पादन गर्न सकिने सिवाकोटीले जानकारी दिए ।

चिलिमे, कर्मचारी संचय कोष, स्थानीय लगानीकर्ता, विद्युत प्राधिकरण तथा सर्वसाधारणको सेयरबाट लगानी जुटाइएको उक्त आयोजनाको मुख्य लगानीकर्ता भने संचय कोष रहेको छ ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully