सञ्चित नोक्सानी २ अर्बभन्दा बढी रहेको डीडीसीले सरकारसँग लिएको सवा अर्ब रुपैयाँ ऋण र कर्मचारीले पाउने उपदान करिब २ अर्ब तिरेको छैन
What you should know
काठमाडौँ — सवा ५ अर्ब नोक्सानी र किसानलाई तिर्नुपर्ने बक्यौता १ अर्ब रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले पोखरामा नयाँ उद्योग खोल्ने तयारी थालेको छ । चरम राजनीतीकरणको चपेटाबाट गुज्रिएको डीडीसी वर्षौंदेखि आर्थिक अभावको चपेटामा छ । जब कि डीडीसीले २२ वर्षअगाडि अर्थात् २०६१ सालमा पोखराको प्लान्टलाई चलाउन नसकिएको भन्दै निजीकरण गरेको थियो ।
बक्यौता नपाएका किसानले डीडीसीबाट भुक्तानी पाउन सधैं आन्दोलन गर्नुपर्ने बाध्यतासमेत छ । आइतबार मात्र किसानले आफूहरूको भुक्तानी माग्दै लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा प्रदर्शन गरे । अखिल नेपाल किसान महासंघको अगुवाइमा धादिङ, नुवाकोट, काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, ललितपुर र काठमाडौंका केही किसानले धर्ना र प्रदर्शन गरे ।
‘किसानले दूध बेचेको पैसा नपाएको धेरै भयो, आफ्नो मिहिनेतको कमाइ पाउन आन्दोलन गर्नुपरेको छ,’ महासंघकी महासचिव सरिता भुसालले भनिन्, ‘किसानलाई तिर्न भनेर ऋण लिएर कर्मचारी पाल्ने काम मात्र भएको छ ।’ डीडीसीले भुक्तानी नगर्दा गाईबस्तुलाई दानापानी खुवाउनै मुस्किल परेको दुग्ध किसान खिलनाथ पौडेलले जनाए । ‘दूध किसानलाई धेरै मार परेको छ, हामीले अनुदान मागेका छैनौं, दूध बेचेको पैसा मागेका छौं,’ उनले भने ।
अर्का किसान कृष्णप्रसाद अधिकारीले पनि डीडीसीले दूध नगदमै बिक्री गरे पनि किसानलाई पैसा नदिएको बताए । ‘किसानले ४/५ महिनादेखि पैसा पाएका छैनन् तर कर्मचारी बोनसमा दूध, घिउ खान्छन् । सरकारबाट किसानलाई तिर्न ऋण लिएर पनि तिर्दैनन्,’ अधिकारीले भने, ‘कर्मचारी कटौती गरेर भए पनि किसानको बक्यौता तिर्नुपर्छ ।’
हाल डीडीसीमा ५ सय ५० जना स्थायी र ३ सय २० अस्थायी कर्मचारी छन् । कर्मचारीले दिनको एक लिटर दूध र मासिक एक लिटर घिउ पाउँछन् । कर्मचारीको तलब र सेवासुविधामा मात्र मासिक ३ करोड खर्च हुन्छ ।
बेथिति र भद्रगोल व्यवस्थापन रहेको डीडीसीको सञ्चित नोक्सानी दुई अर्ब रुपैयाँभन्दा बढी छ । वार्षिक करिब ३० करोड कार्य सञ्चालन नोक्सानमा भइरहे पनि सीमित समूहको स्वार्थमा जग्गा र पूर्वाधारमा लगानी बढाउन खोजिएको छ ।
‘लगानी र बजारीकरण गर्नु उचित भए पनि यति बेला डीडीसीको अवस्था नाजुक छ । किसानको बक्यौतादेखि कर्मचारीको उपदानसमेत दिनुपर्ने दबाब छ । सँगै सरकारसँग लिएको ऋण र ब्याज पनि तिर्नुपर्ने छ,’ डीडीसीका एक उच्च अधिकारीले भने, ‘संकटको अवस्थामा रहेको डीडीसीले फेरि नयाँ जग्गा र पूर्वाधारमा लगानी गरी प्लान्ट सञ्चालन गर्नु कसैको हितमा छैन । यसले सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने भए पनि डीडीसीलाई राम्रो गर्दैन ।’
डीडीसीको वार्षिक व्यवस्थापन खर्च करिब ३० करोड रुपैयाँ छ । २०८०/८१ सम्म सञ्चित नोक्सानी २ अर्ब ५ करोड रुपैयाँ र दुग्ध किसानलाई तिर्नुपर्ने बक्यौता एक अर्ब रुपैयाँ पुगेको छ । २०८१/८२ मा सञ्चित नोक्सानी थप ३०/३५ करोड बढ्ने डीडीसीका कर्मचारीहरू बताउँछन् । कर्मचारीलाई तिर्नुपर्ने उपदान करिब २ अर्ब रुपैयाँ र सरकारसँग लिएको ऋणको भार १ अर्ब २५ करोड रुपैयाँ पनि छ ।
दूधको बक्यौता तिर्न भन्दै डीडीसीले २०७८ यता अर्थ मन्त्रालयसँग पटक–पटक गरी १ अर्ब २५ करोड ऋण लिएको छ । तर सुक्खा सिजनमै किसानको बक्यौता बाँकी नै छ । तर यही बेला पोखरामा जग्गा खोज्न डीडीसी लागिपरेको हो ।
कर्मचारीहरूका अनुसार नयाँ प्लान्ट सञ्चालन गर्दा निजी डेरी जस्तो हुँदैन । जग्गादेखि भौतिक पूर्वाधार प्रशोधन, प्याकेजिङदेखि मौज्दात गर्न स्टोरेजसम्म बनाउनुपर्छ । अहिले सञ्चालन भइराखेको प्लान्टको अवस्था भद्रगोल छ । व्यवस्थापकीय सुधार गर्न सकेको छैन । तर सीमित स्वार्थ समूहमा फेरि नयाँ ठाउँमा पूर्वाधारमा लगानी बढाउन खोजिएको छ ।
‘दूध, बटर, चिजदेखि सबै दुग्ध पदार्थको भण्डारगृहदेखि भौतिक पूर्वाधार बनाउँदा कम्तीमा पनि ४० करोड रुपैयाँ लाग्छ । केन्द्रदेखि जिल्लामा रहेका कार्यालयको सञ्चालन अवस्था नाजुक भएको अवस्थामा कसको स्वार्थमा पोखरामा उद्योग खोल्न खोजिएको, थाहा भएन,’ ती अधिकारीले भने, ‘आर्थिक अवस्था नाजुक रहेको अवस्थामा लगानी गर्नुको औचित्य पुष्टि गर्नुपर्छ । डीडीसी सञ्चालक समिति अध्यक्ष वेदबहादुर क्षेत्रीको घर स्याङ्जा, पोखरा नै हो, सायद उहाँकै दबाबमा पनि हुन सक्छ ।’ अध्यक्ष क्षेत्रीले डेढ वर्षदेखि नै पोखरामा उद्योग खोल्न जग्गा खोज्न थालेका थिए । त्यसका लागि महानगरपालिकामा पत्र पनि पठाएका थिए । अहिले थप तीव्र पारेको हो ।
राजाको पालामा डीडीसीको जग्गाजमिन बेच्नुपर्ने अवस्था आए पनि अहिले जनताको माग रहेको डीडीसीका प्रवक्ता नीलकण्ठ गौतमले बताए । जनताको माग भएकै कारण सञ्चालक समितिले प्लान्ट खोल्ने निर्णय गरेको उनले स्विकारे । तर डीडीसीकै लगानीमा पूर्वाधार र जग्गा खरिद सम्भव नभएको उनको भनाइ छ ।
‘सञ्चालक समितिले पोखरामा प्लान्ट खोल्ने निर्णय गरिसकेको छ । जग्गाको खोजी पनि भइरहेको छ । तर फ्याक्ट्री नै बनाएर अघि बढ्न सक्ने अवस्थामा डीडीसी छैन । स्थानीय सरकारले जग्गासँगै पूर्वाधार बनाइदिए डीडीसी जान तयार छ,’ सूचना अधिकारी गौतमले भने, ‘अहिले जग्गा देखाउने र हेर्ने काम भएको छ । कर्मचारीको उपदान तिर्न सकिएको छैन, यस्तो अवस्थामा जग्गा किनेर पूर्वाधार बनाउन सकिन्न ।’
डीडीसीका अध्यक्ष क्षेत्रीले भने जग्गा खोज्ने प्रक्रिया अगाडि बढे पनि पूर्वाधार निर्माणको विषय टुंगो नलागेको दाबी गरे । किसानको बक्यौता, उपदानलगायतका विषयमा भने उनी बोल्न चाहेनन् । प्लान्ट स्थापना गर्न पोखरा महानगरपालिकाले जग्गा दिने निर्णय गरिसकेको छ । महानगरपालिकाले वडा नम्बर २५ मा १२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको स्रोतले जनाएको छ । तर पूर्वाधार भने डीडीसीले नै बनाउनुपर्ने महानगरपालिकाको तर्क छ ।
प्लान्ट खोल्नका लागि जग्गा दिने विषयमा निर्णय भइसकेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पनि पुष्टि गरे । ‘जग्गा उपलब्ध गराइदिन डीडीसीले करिब डेढ वर्षअघि नै चिठी पठाएको थियो । चिठी आएपछि महानगरपालिकाले वडामा अध्ययन गर्यो, अध्ययनका क्रममा धौलागिरि क्षेत्र उपयुक्त हुने देखियो,’ उनले भने, ‘विगतमा स्थानीयले उपभोग गरेको बगरको जग्गा दिने निर्णय डेढ महिनाअघि नै भएको हो । अहिले जग्गाको सीमांकन भइसकेको छ ।’
डीडीसीले पोखरामा जग्गा लिएर प्लान्ट सञ्चालन गर्ने विषयमा आफूलाई जानकारी नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपक खरालले बताए । ‘डीडीसी बोर्डबाट सञ्चालित छ । बोर्डबाट निर्णय भएर कार्यान्वयनमा जाने हो,’ सचिव खरालले भने, ‘नीतिगत निर्णयबाहेक धेरैजसो निर्णयमा मन्त्रालयसँग समन्वय हुँदैन । त्यसैले प्लान्ट स्थापना गर्नेबारे पनि मलाई जानकारी भएन ।’
सरकारले निजीकरण गरिसकेको अवस्थामा फेरि सरकारी डेरी उद्योग सञ्चालनमा ल्याउनु गलत भएको डेरी उद्योग संघले बताएको छ । ‘उद्योग चलाउन नसकेर सरकारले पोखरामा डीडीसीलाई निजीकरण गरेको छ । अहिले फेरि यो ठाउँमा आफैं खोल्न आउनु गलत हो,’ डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भने, ‘निजी क्षेत्रलाई गर भनेर दिएको अवस्थामा आफैं उद्योग खोल्न आउँछु भन्नु ठीक होइन ।’
सरकारले निजीकरण ऐन, २०५० अनुसार २०६१ माघ १ मा डीडीसीको पोखरा प्लान्टलाई निजीकरण गरेको थियो । सञ्चालन गर्न नसकेपछि निजी क्षेत्रलाई जिम्मा दिएको थियो । निजीकरणको उद्देश्य निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र लगानी भित्र्याउने थियो । ‘डेरी क्षेत्रलाई निजीकरण गर्ने, सरकारी अनावश्यक खर्च कम गर्ने र डेरी र दुग्ध पदार्थको आपूर्ति शृंखलालाई चुस्त बनाउनु थियो,’ उनले भने, ‘अब फेरि डीडीसी आउँदा निजी क्षेत्रलाई धोका हुन्छ ।’
