जुम्ला-सुर्खेत सडक खण्डको गगनेखोलामा गएको पहिरोका कारण जुम्लादेखि गएको झन्डै १३ करोड मूल्य बराबरको स्याउ बाटोमै रोकिएको छ ।
What you should know
जुम्ला — कर्णाली राजमार्गको जुम्ला-सुर्खेत खण्डको गगनेखोलामा गएको पहिरोका कारण जुम्लादेखि गएको झन्डै १३ करोड मूल्य बराबरको स्याउ बाटोमै रोकिएको छ । पहिरो गएको तीन दिन भइसक्दा पनि पन्छाउन नसक्दा स्याउ बोकेका ट्रकहरू बाटोमै रोकिएका छन् ।
कृषि विकास कार्यालय जुम्लाले एक ट्रकमा न्यूनतम ६ देखि ९ मेट्रिक टन स्याउ राखिएको बताएको छ । औसतमा ८ मेट्रिक टन स्याउ राख्दा पनि एक सय ८४ मेट्रिक टन स्याउ बाटोमै अलपत्र छ । कार्यालय प्रमुख रामभक्त अधिकारीले जिल्लाको आठ वटै स्थानीय तहको स्याउ बाटोमा रोकिएको बताए । अहिले बगैँचामै किसानले प्रतिकेजी स्याउ ७० रुपैयाँमा बेचिरहेका छन् ।
कार्यालय प्रमुख अधिकारीले भने, ‘यो पटक स्याउ गत वर्षको तुलनामा घटेको छ । तर पहिरोका कारण बजार सम्म लैजान मुस्किल छ ।’ कृषि कार्यालयले १० देखि १३ हजार मेट्रिक टन सम्म स्याउ उत्पादन हुने अनुमान गरेको हो । जसमा ५ हजार मेट्रिक टन स्याउ जिल्ला बाहिर जाने प्रक्षेपण गरिएको छ ।
जुम्लाको स्याउ निर्यातको बारेमा नाग्म प्रहरी चौकी कालिकोट र जुम्ला विमानस्थलमा रेकर्ड फाइल राखेर तथ्यांक सङ्कलनको काम सुरु भएको छ । यही भदौ २ गतेदेखि जुम्लामा स्याउ टिप्न थालिएको थियो । कार्यालय प्रमुख अधिकारीले ब्लाष्टिङ गरेर छिट्टै सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको बताए ।
उनका अनुसार पहिरोका कारण किसानले संकलन गरेर राखेको स्याउ पनि पठाउन सकिरहेका छैनन् । 'बगैँचामै व्यापारी र गाडी पुगिसकेका छन् तर पहिरोका कारण हिँड्न सकिरहेका छैनन्,' कार्यालय प्रमुख अधिकारीले भने, ‘वर्षा भइरहेकोले स्याउ निर्यातमा समस्या आउने भन्दै किसान त्रासमा छन् ।’ कृषि विकास कार्यालयले पहिरो पन्छाउन ढिलाइ हुँदा किसानको स्याउ बाटामै रोकिएकोले छिटो भन्दा छिटो सडक खुलाउन माग गरेको छ ।
यो पटक स्याउमा गुलकोजको मात्रा भरिएकोले निकै स्वादिलो छ । स्याउ किसान गोपाल रोकायाले सडकले हरेक वर्ष स्याउ किसान र व्यापारीलाई घाटा पुर्याउने गरेको दुखेसो पोखे । नाग्म प्रहरी चौकीले भदौ १४ गते ८ वटा, १५ गते ११ वटा र १६ गते दुई वटा गरेर २३ वटा ट्रकले स्याउ बोकेका छन् । प्रहरी चौकीका असई यम शर्माले अहिले जुम्लादेखि जाने हरेक मालबाहक गाडीले स्याउ बोकेर जाने गरेको बताए ।
४० क्विन्टल स्याउ लिएर गएका स्याउ किसान कालीबहादुर रोकायले पहिरोले समस्या भएको बताए । दुई दिन सम्म बाटोमै थन्किएकोले बजारमा स्याउ पुर्याउन कठिन भएको उनको भनाइ छ । गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्ध भएपछि ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेका थिए । स्याउ कुहिएर लाखौँको क्षति भएको थियो ।
जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, काठमाडौँ, पोखरा, धनगढी, कैलाली, चितवन र बुटवलका बजारहरूसम्म पुग्ने गरेको छ। जिल्लाको ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ ।
